काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार टिकाइराख्न वा ओली सरकारको विकल्पमा अर्को सरकार निर्माण गर्न अहिले कोही निर्णायक शक्ति छ भने त्यो जनता समाजवादी पार्टी (जसपा) हो। पछिल्लो समय जसपा स्वयं भने अनिर्णयको बन्दी बनिरहेको छ। प्रधानमन्त्री ओलीलाई नै समर्थन गर्ने कि ओलीको विकल्प रोज्ने भन्नेबारे जसपाभित्र तीव्र शक्तिसंघर्ष देखिएको छ।
यो संघर्षकै बीच जसपामा प्रधानमन्त्री ओलीविरुद्धको मोर्चाबन्दी बलियो हुँदै गएको चर्चा हुन थालेको छ। पछिल्लो समय जसपाभित्र ओली सरकारलाई साथ दिने कि नदिने भन्ने बहस पेचिलो बनेपछि प्रधानमन्त्री ओलीको पक्षमा नरम देखिएकाहरूमाथि दबाब बढेको छ।
जसपाले ओली सरकारलाई साथ दिने कि नदिने, सरकारमै सहभागी हुने कि नहुने लगायतका विषयमा निर्णय गर्न बिहीबार कार्यकारिणी समितिको बैठक बोलाएको थियो। समितिको बैठकअघि ५ जना शीर्ष नेताको पदाधिकारी बैठक पार्टी कार्यालय बालकुमारीमा बसेको थियो। बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री ओलीसँग सम्झौता गरेर गरेर जानुपर्ने पक्षमा उभिएका थिए। तर, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई भने ओली सरकारमा जानै नहुने अडानमा देखिए।
अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री ओलीसँग सम्झौता गरेर गरेर जानुपर्ने पक्षमा उभिएका थिए। तर, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई भने ओली सरकारमा जानै नहुने अडानमा देखिए।
पदाधिकारीमा जस्तै निर्णायक मानिएको कार्यकारिणी समितिमा प्रधानमन्त्री ओलीलाई समर्थन गर्नुपर्छ भन्नेहरूलाई थप कमजोर पार्न अचानक बैठक स्थगित गरिएको जसपाका एक शीर्षनेताले बताए।
‘ओली सरकारलाई साथ दिएर रेशम चौधरीलाई रिहा गर्ने, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, राजनीतिक मुद्धा फिर्ता लिने र संविधान संशोधनको मुद्धा अघि बढाउने सम्झौता गनए एक पक्ष लागेको थियो,' ती नेताले भने, ‘तर, ओली सरकारमा जानै नहुने भनेर अर्को पक्ष डटेर लाग्यो। प्रतिगमनकारी भनेर निर्णय गर्ने, संविधानलाई च्यातच्युत पार्ने र लोकतन्त्र नै मास्नेलाई साथ दिएर हाम्रा माग कसरी पूरा हुन्छन् भन्ने बहस भयो। त्यसपछि बैठक नै स्थगित गरियो।’
ती नेताका अनुसार जसपामा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)को समूह कार्यकारिणी समितिबाट निर्णय गरेर ओली सरकारसँग सहमति गर्ने तयारीमा थियो। त्यो निर्णय रोक्न तत्कालीन समाजवादी पार्टीतर्फका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतको जोडबलमा बैठक स्थगन गरिएको हो। वैठक नबस्ने भएपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष महन्थ ठाकुरले भनेका थिए, ‘अब हामी होलीपछि बैठक बस्छौं।’
पार्टी विभाजनको भय देखिएपछि...
लामो प्रयास र तयारीपछि जसपाको कार्यकारिणी समिति बोलाइएको थियो। बैठकका लागि धेरै नेता बैठकस्थल तोकिएको ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुगिसकेका थिए। तर, बैठक सुरु हुने समयमा हठात् किन स्थगन गरियो त?
पार्टीभित्र देखापरेको शक्ति–संर्षबारे जानकार जसपाका नेताहरू पार्टी सम्भावित विभाजनको संघारमा पुगेको महसुस भएपछि बैठक नै रोकिएको बताउँछन्। उनीहरूका भनाइमा ओली सरकारमा जाने निर्णय गरिएको भए पार्टी नै विभाजन गर्ने मुडमा तत्कालीन समाजवादी पार्टीपक्षीय नेताहरू पुगिसकेका थिए।
पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष महन्थ ठाकुरले भनेका थिए, ‘अब हामी होलीपछि बैठक बस्छौं।’
‘आजको कार्यकारिणी समिति बैठक निर्णायक भनिएको थियो, त्यहीकारण स्थगित भयो’, कार्यकारिणी समितिका एक सदस्यले भने, ‘ओली सरकारलाई समर्थन गर्ने भन्ने सोच्नै नसकिने विषय हो। आँखा त्यो स्थिति आएको भए पार्टी विभाजनतिर जान्थ्यो।’
जसपाभित्रको तत्कालीन समाजवादी पार्टी प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्दै आन्दोलनमा उत्रिएको थियो। यो पक्ष प्रतिगमनका विरुद्ध लागेका शक्तिहरू एक हुनुपर्ने अडानमा छ। यही धारणालाई जसपाको सिंगो धारणा बनाउन भट्टराई, यादवलगायत नेता लागिपरेका छन्।
जसपाका नेता मनिष सुमनले भने प्रधानमन्त्री ओलीलाई साथ दिने, विकल्प खोज्ने वा अर्को सरकार बनाउने भन्ने विषयमा निर्णय गर्न जसपाभन्दा नेपाली कांग्रेस र माओवादी केन्द्र जिम्मेवार रहेको टिप्पणी गरे। उनले जसपा संसदको चौंथो शक्ति भएकाले पहिलो, दोस्रो र तेस्रो शक्तिले निर्णय गरेपछि मात्र आफूहरूले निर्णय गर्ने बताए। अहिले ओली सरकार कायम रहेको र माओवादीले सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि मात्र सरकार नयाँ बनाउनेबारे छलफल हुने उल्लेख गर्दै उनले भने, ‘पहिला एमाले र माओवादीले आफैं निर्णय गर्न पर्यो। त्यसपछि सत्ताको साँचो बोकेर हिँडेको नेपाली कांग्रेसले निर्णय गरेपछि हामीले गर्ने हो। हाम्रो अडान त सुनाएकै छौं नि!’
ओलीको विकल्प खोज्ने सक्रियता
तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर बनेको जसपामा अहिले पनि प्रष्ट दुई धार देखिन्छ। राजपाबाट आएका नेताहरू प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हेर्ने दृष्टिकोण एउटै बनाउनुपर्ने पक्षमा छन्। संविधान निर्माण गर्दा उनीहरू तीनैजनाले आफूहरू (मधेशकेन्द्रित दल)ले उठाएका मुद्दालाई बेवास्ता गरेको भन्दै उनीहरूले आफ्ना मुद्दालाई केन्द्रमा राखेर मात्र सहमति गर्नुपर्नेमा जोड दिइरहेका छन्। त्यसका लागि सकभर प्रधानमन्त्री ओलीसँगै सहमति गर्नुपर्ने उनीहरूको जोड छ। यो पक्षका कतिपय नेताहरूको तर्क छ– ओली प्रतिगमनकारी भन्नेमा दुविधा नभए पनि उनले खराबदेखि राम्रा काम पनि गर्न सक्छन्, त्यसैले उनीसँगै सहकार्य गर्नुपर्छ।
राजपाबाट आएका नेताहरू प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हेर्ने दृष्टिकोण एउटै बनाउनुपर्ने पक्षमा छन्।
समाजवादी पार्टी पक्षधरहरू भने यसअघि सरकारमा रहँदा आफूहरूलाई प्रधानमन्त्री ओलीले हदैसम्म अपमान गरेको दाबी गर्छन् र ओलीसँग सहकार्य नै गर्न हुन्न भनिरहेका छन्। जसपा अध्यक्ष उपेन्द्र यादवले पनि संविधान लेख्दा ओली, देउवा र प्रचण्डको भूमिका एकै नभएको जिकिर गरे। ‘सबैलाई प्रतिगमनकारी देख्ने सोच नै गलत छ, ओली, प्रचण्ड र देउवालाई एउटै डालोमा हाल्न मिल्दैन। सबै मधेशी एउटै हुन्, सबै पहाडिया एउटै हुन्, सबै पत्रकार एउटै हुन्, सबै प्रोफेसर एउटै हुन् भन्ने दुनियाँमा कहीँ हुन्छ?’, यादवले भने, ‘सबैका आ–आफ्ना सोच, विचार हुन्छन्। आ–आफ्ना विशेषता हुन्छन्। सबै एउटै हुन् भन्ने सोच्नु नै गलत हो।’
जसपाभित्रको समाजवादी पार्टी पक्ष ओलीको विकल्पमा गठबन्धन बनाउनेगरी अघि बढेको छ। अहिलेको गतिरोधलाई निकास दिन प्रतिगमनविरुद्ध लागेका शक्तिहरू एक ठाउँ उभिनुपर्ने उल्लेख गर्दै यादवले भने, ‘कांग्रेस प्रमुख प्रतिपक्ष हो। उसको सबैभन्दा धेरै दायित्व हुन्छ। उसको निर्णयले अन्य प्रतिपक्षलाई निर्णय गर्न सहज बनाउँछ।’
जसपाले मात्र विकल्प दिएर निर्णायक नहुने भन्दै यादवले सबभन्दा पहिले कांग्रेसले निर्णय गर्नुपर्ने बताए। ‘हामी निर्णय गरेर जान सकौंला, तर त्यसले मूर्तरुप लिँदैन, हाम्रो शक्तिले मात्रै कुनै परिणाम ल्याउँदैन’, उनले भने, ‘परिणाम ल्याउने नभएपछि निर्णय गरेर मात्रै के गर्ने? त्यसकारण हामीले उहाँहरू (कांग्रेस)को अवसरका लागि ढोका खुला राखेका हौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।