काठमाडौं- सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ।
समितिको आजको बैठकले प्रस्तावित न्यायाधीशहरुको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउन र त्यस सम्बन्धमा कुनै गुनासो एवं उजुरी भए समितिलाई जानकारी दिन सरकारी सञ्चारमाध्यममा १० दिने सूचना प्रकाशन गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
न्यायाधीश चुडाल हाल उच्च अदालत पाटन र सुवेदी उच्च अदातल सुर्खेतमा मुख्य न्यायाधीश छन्। न्याय परिषद्को फागुन २८ गतेको बैठकले उनीहरुलाई सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरी संसदीय सुनुवाइका लागि संसद् सचिवालयलाई जानकारी पठाएको थियो।
उच्च अदालतमा कार्यरत मुख्य न्यायाधीशमध्ये न्यायाधीशका लागि आवश्यक सेवावधि, शैक्षिक योग्यता, कार्यसम्पादन, वरिष्ठता, अनुभव, विषयवस्तुको ज्ञान, कार्यकुशलता, इमान्दारी, निष्पक्षता र नैतिक आचरण, न्यायिक क्षेत्रमा पुर्याएको योगदान र प्राप्त ख्यातिका आधारमा तुलनात्मकरुपमा योग्यतम देखिएकालाई सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरिएको परिषद्ले जानकारी दिएको छ।
समितिले प्राप्त उजुरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइमार्फत योग्यता, क्षमता, आचरण र भावी कार्यदिशाबारे जानकारी लिएपछि नाम अनुमोदन गर्ने वा नगर्ने भनी निर्णय लिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।