काठमाडौं- न्याय परिषद्ले सर्वोच्च अदालतमा रिक्त रहेका दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।
शुक्रबार बसेको परिषद्को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
सर्वोच्चमा एक वर्षदेखि दुई न्यायाधीशको पद रिक्त रहेको थियो। यसअघि नै नियुक्तिका लागि तयारी गरिएको भएपनि परिषदका सदस्य एवं सर्वोच्च अदालतका वरिष्ठ न्यायााधीश दीपककुमार कार्की बिदामा रहेकाले रोकिएको थियो। कार्की बुधबारदेखि काममा फर्किएपछि शुक्रबारलाई बैठक राखी सुवेदी र चुडाललाई सिफारिस गरिएको हो।
गत साता पनि परिषद्को बैठक बसेको थियो। गत साता भने उच्च अदालतमा रिक्त न्यायाधीशको नियुक्तिको विषयमा परिषद् बैठकमा सामान्य छलफल भएको बताइएको थियो।
केदारप्रसाद चालिसे र डम्बरबहादुर शाहीले सर्वोच्चबाट अवकाश पाएपछि रिक्त रहेको न्यायाधीशको पदमा लामो समयदेखि सिफारिस हुन सकेको थिएन।
संविधानको धारा १२९ मा सर्वाेच्च अदालतमा प्रधानन्यायाधीशका अतिरिक्त २० जना स्थायी न्यायाधीश हुने व्यवस्था गरिएको छ। हाल सर्वोच्चमा प्रधानन्यायाधीशबाहेक १८ स्थायी न्यायाधीश रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।