दैलेख–दैलखको आठबीस नगरपालिका–३, निमाइलकी सात वर्षीया रजनी बडुवालको शव १० दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ।
गत फागुन २४ गते सुकी बडुवालसहित एकै परिवारका पाँच जनाले कर्णाली नदीमा हामफालेका थिए। उनीहरुमध्ये चार जनाको शव भेटिइ सकेको थियो भने रजनीको अवस्था अज्ञात थियो।
रजनीको शव मंगलबार दैलेख प्रहरीले अछामको असाराघाट नजिकै कर्णाली नदी किनारमा भेटेको हो।
बालिकाको शव डोरीले बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। सडिसकेको अवस्थामा शव भेटिएको बताउँदै जिल्ला प्रहरी कार्यालय दैलेखले आफन्तले पहिचान गरेपछि परीक्षणका लागि अछाम पठाउने तयारी गरिएको जनाएको छ।
पारिवारिक विवादपछि ३५ वर्षीय आमा सुकीसँगै १४, ११ र ७ वर्षीया छोरीहरू कल्पना, सरिता र रजनी तथा आठ वर्षीय छोरा ललितले कर्णाली नदीमा हामफालेका थिए । आमा सुकीसहित दुई दिदी र दाइको शव फागुन २५ गते भेटिएको थियो । चारै जनाको दाहसंस्कार भइसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।