दैलेख– दैलेखको आठविस नगरपालिका–३ निमाइलका एउटै घरका पाँचले कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेका छन्। यही फागुन २३ गते राति घरबाट बेपत्ता भएकी सुखी बडुवाल, उनका तीन छोरी र एक छोराले सामूहिकरुपमा कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।
बेपत्ता भएकामध्ये दुई छोरी १५ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालकोे हात बाँधेको अवस्थामा २४ गते सोमबार साँझ कर्णाली नदीमा शव फेला परेको थियो भने आमा सुखी बडुवाल र ८ वर्षीय छोरा ललित बडुवालको शव आज दिउँसो नदीमा फेला परेको छ। पाँच वर्षीया रजनी बडुवालको खोजी तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले जानकारी दिए।
अहिले घटनास्थलमा दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठ र सुर्खेतका प्रहरी प्रमुख डिआइजी वसन्त पन्त र गोताखोरको टोलीसमेत पुगिसकेको छ। खोजी कार्य तीव्र पारिएको छ।
सनाखत भएका चारको शव परीक्षणका लागि अछामको मङ्गलसेनतर्फ लगिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए। घरमूली मानसिंह बडुवालले श्रीमतीसहित सबै परिवारलाई मदिरा सेवन गरेर लगातार तनाव दिएपछि २३ गते साँझनै चार केटाकेटीसहित सुखी बडुवाल घरबाट निस्किएको स्थानीयले बताएका छन्।
गरिब परिवार भएकाले एउटा समस्या थियो तर मदिरा सेवनसँगै लगातार घरमूलीले तनाव दिएपछि उनीहरु नदीमा हाम फाल्नुपर्ने अवस्था आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घरमूली मानसिंह बडुवाललाई प्रहरीले पक्राउ गरेर राकम कर्णाली प्रहरीचौकीमा अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।