काठमाडौं- बृहत् नागरिक आन्दोलनले आइतबार लोकतन्त्र मार्च गर्दै छ। आइतबार अपराह्न ३ बजे माइतीघरमा मण्डलामा भेला हुने कार्यक्रम तय गरिएको छ। ‘संसद्लाई खबरदारी गर्न लोकतन्त्र मार्च’ भनिएको यो कार्यक्रममा सिके लाल, बमकुमारी बुढा, गीता रसाइली लगायतले सम्बोधन गर्नेछन्।
त्यस्तै, अस्मिता बादी, अनिता माझी, पञ्चकुमारी परियारले कविता वाचन गर्नेछन्। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि बृहत् नागरिक आन्दोलन गठन भएको थियो।
त्यसयता विभिन्न क्षेत्रमा प्रतिगमन भइरहेको भन्दै प्रदर्शन तथा मार्च आयोजना गर्दै आएको छ। प्रतिनिधि सभा पुनःस्थापना भए पनि खबरदारी गरिरहने वाचा पनि गरिएको थियो।
‘बृहत् नागरिक आन्दोलनले राजनीतिलाई जनताको पकडमा ल्याउन विभिन्न नागरिक तथा सामाजिक समूहहरुसँग संवाद गर्दै नित्य खबरदारी गरिरहने छ,’ सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने कदमलाई बदर गरिदिएको दिन बृहत् नागरिक आन्दोलनद्वारा जारी विज्ञप्तिमा भनिएको थियो।
गत फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापित हुने र १३ दिनभित्र बैठक बोलाउन परमादेश जारी गरे अनुसार आइतबार प्रतिनिधि सभाको हिउँदे अधिवेशन प्रारम्भ हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।