काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक व्यवस्थित ढंगले सञ्चालन गर्नेबारे राजनीतिक दलका नेताहरुसँग परामर्श गर्ने बताएका छन्।
मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित् संसद बैठक कक्षको अवलोकनपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले भोलि बुधबारदेखि नै दलका नेताहरुसँग छलफल सुरु गर्ने बताएका हुन्।
संसद बैठकका अजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने सभामुख सापकोटाले बताए। प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि आगामी २३ गते बस्ने प्रतिनिधि सभाको बैठकलाई चासोका साथ हेरिएको छ।
सत्तारुढ दलभित्र देखिएको आन्तरिक किचलोका कारण बैठक सञ्चालन कुन ढंगले अघि बढ्ने हो भन्ने सर्वत्र चासो भइरहेका बेला सभामुख सापकोटाले बैठकका अजेण्डाबारे दलहरुसँग छलफल गर्ने बताएका हुन्। उनले बैठक सञ्चालनको तयारी चुस्तदुरुस्त भएको पनि बताए।
‘स्वभाविक लयमै अधिवेशन चलाउनुपर्छ भन्ने ढंगले हामी तयारी गर्दैछौं। अहिले महासचिवदेखि सचिवालयका सचिवहरु, सबै कर्मचारीहरु पनि बडो उत्साहका रुपमा खटिराख्नुभएको छ’, उनले भने, ‘किनभने केही समय अवरुद्ध हुँदा कताकता खल्लो खल्लो भएको थियो। अहिले सबै उत्साहित हुनुुहुन्छ।’
प्रतिनिधि सभाको सातौँ अधिवेशन फागुन २३ गते अपरान्ह ४ बजेको लागि आव्हान भएको छ। बैठकको लागि संघीय संसद सचिवालयले सरसफाइ, व्यवस्थापन लगायत तयारीका काम गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।