काठमाडौँ- सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग वार्ता गर्ने तयारी गरिरहेको सार्वजनिक घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका छन्। प्रधानमन्त्री ओलीले भूमिगत रुपमा राजनीति गरिरहेको विप्लव समूह सरकारसँग वार्ता गर्न सकारात्मक हुँदा अन्य राजनीतिक दललाई मन नपरेको आरोप लगाएका पनि छन्। आइतबार पाँचौँ इन्द्रदह पर्यटन उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लवले सरकारसँग वार्ता गर्छौँ भन्दा कतिपयमा आतंक छाएको उल्लेख गरेका थिए।
‘हतियार उठाइरहेका, व्यवस्थाका विरोध गरिरहेका विप्लव समुहका नेता विप्लवले सरकारसँग वार्ता गर्छौँ हामी, वार्ता गरेर समाधानमा जान्छौँ भनेर वक्तव्य निकालेछन्। कतिपयलाई आतंक छायो', कार्यक्रममा प्रधानमन्त्री ओलीको भनाइ थियो, 'विप्लवलाई प्रयोग गरुँला कि भनेको त वार्ता गरेर समस्या समाधान गर्छु पो भन्न थाले। देश त साच्चै हरेक हिसाबले अगाडि बढ्छ कि क्या हो? पृथकतावादको कुरा गरिरहेको सिके राउत पृथकतावाद छोडेर राष्ट्रिय राजनीतिको मूलधारमा आउँछु भने। अब विप्लव वार्ता गर्छु भन्दैछन्। केहीलाई छट्पटी भएको छ।’
प्रधानमन्त्री ओलीको सचिवालयले पनि विप्लव नेतृत्वको नेकपामाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने सम्बन्धमा अबको मन्त्रिपरिषद् बैठकमा छलफल हुन सक्ने बताएको छ। 'विप्लव समूहसँग वार्ता गर्न हामी धेरै अघि बढिसकेका छौँ। अबको राजनीति त्यतैतर्फ गइसक्यो,' बालुवाटार स्रोतले भन्यो। मंगलबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्न ईच्छुक भएको भन्दै विज्ञप्ति जारी गरेपछि सरकारले पनि वार्ताको तयारी गरेको भएपनि विप्लवका नेताहरूलाई पक्राउ गर्न भने छोडेको छैन। सोमबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै विप्लव नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई पक्राउ गरेको हो।
अदालतले रिहा गर्न आदेश दिएका बास्तोलालाई पक्राउ गरिनुले वार्ता प्रक्रियामै संशय व्यक्त गर्न थालिएको छ।
वार्ताका लागि 'पक्राउ गर्ने' रणनीति?
सरकारले वार्ता गर्ने अग्रसरता देखाएपछि विप्लव स्वयंले पनि आफू वार्ताका लागि तयार रहेको भन्दै सार्वजनिक वक्तव्य जारी गरेका थिए। वार्ताको चर्चा चल्न थालेयता विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका दुई केन्द्रीय नेता पक्राउ परिसकेका छन्। फागुन ७ गते बुटवलमा भएको चार पार्टीको संयूक्त आमसभाबाट केन्द्रीय सदस्य भेषराज भुसाल पक्राउ परेका थिए। उनलाई प्रहरीले पक्राउ गर्ने र अदालतले छाड्ने क्रम जारी छ।
त्यस्तै सो पार्टीका सचिवालय सदस्य एवम् विदेश विभाग प्रमुख बास्तोलालाई सोमबार सर्वोच्च अदालतले रिहा गरेलगतै प्रहरीले पक्राउ गर्यो। सर्वोच्चको आदेश लगत्तै प्रहरीले उनलाई अदालतकै गेटबाट पुनः पक्राउ गरेको थियो।
न्यायधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै थुनामुक्त गर्न आदेश दिएको थियो। बास्तोलाको तर्फबाट अनिमा बास्तोला भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन्। भुसाल र बास्तोला मात्र होइन, अन्य नेता कार्यकर्तालाई अदालतले छोड्ने प्रहरीले पक्राउ गर्नेक्रम जारी छ।
विप्लव नेतृत्वको नेकपाका पाँचजना सचिवालय सदस्यमध्ये तीनजना पक्राउ पर्ने र छोड्ने क्रम चलिसकेको छ। लामो समय पक्राउ पर्ने र छोड्ने शृंखला चलेपछि मात्र खड्गबहादुर विश्वकर्मा हिरासतमुक्त भएका थिए। सचिवालयमा पक्राउ नपर्ने नेतामध्ये अव महासचिव विप्लव र सचिवालय सदस्य सन्तोष बुढामगर मात्र छन्। त्यस्तै, केन्द्रीय सदस्य माईला लामा, चन्द्रबहादुर चन्द ‘विरजङ’ सहित ११ सय भन्दा धेरै नेता कार्यकर्ता जेलमै छन्।
अहिलेसम्म ११ सय पक्राउ
विप्लव नेतृत्वको नेकपामाथि २०७५ फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएयता एक हजार ९ सय ८२ जना नेता र कार्यकर्ता पक्राउ परिसकेका छन्। प्रहरीले विप्लव नेतृत्वको नेकपामाथि सर्च अपरशेन नै चलाएर अहिलेसम्म १ हजार ९ सय ८२ जना पक्राउ गरेको हो। उनीहरुमध्ये १३८ जना पुर्पक्षका लागि जेल चलान भएका छन् भने ४६ जना प्रहरी हिरासतमा छन्। बाँकी भने छुटिसकेका छन्। प्रहरीले पक्राउ परेका कार्यकर्तामाथि आरोप प्रमाणित गर्ने आधार नभएपछि अदालतले उनीहरुलाई धमाधम छाडिरहेको छ। तर, प्रहरीले फेरी अन्य राजनीतिक मुद्धा लगाएर पक्राउ गर्ने गरेको छ।
अहिले पनि सो पार्टीका नेता–कार्यकर्ता प्रहरीको उच्च निगरानीमै छन्। प्रतिबन्धपछि विप्लव नेतृत्वको पार्टीका कार्यकर्ताबाट ४३ थान पेस्तोल र त्यसको गोली १३८ राउण्ड, रिभल्बर २ थान र त्यसको गोली ५ थान, थ्रि नट थ्री राइफल ३ नाल र त्यसको गोली ३६ राउण्ड बरामद भएको छ। त्यसैगरी भरुवा बन्दुक ८ नाल, छर्रा ४२८ र ३ डिब्बा, एसएलआर राइफल १ थान र त्यसको गोली ९२ थान, एलएमजी १ थान, एसएमजी ७ थान, एम १६ राइफल १ थान, प्रेशर कुकर बम २ थान, सुतली बम ८ थान, सकेट बम २३ थान, ह्यान्डग्रिनेड ३८, जिआइपाइप ८५, अन्य बम ३ थान, जिलेटिन २ किलो ८६ थान, डेटोनेटर २१० थान, अन्य गोली १७७ राउण्ड अहिलेसम्म बरामद भएका छन्।
सरकारको दाबी वार्ताको मोडालिटीबारे छलफल हुँदैछ
सरकारले प्रतिबन्धित नेकपासँग वार्ता गर्ने मोडालिटीका विषयमा गृहकार्य भइरहेको दाबी गरेको छ। गृह मन्त्रालय स्रोतले वार्ता कमिटी कस्तो बनाउने, पक्राउ परेका नेता कार्यकर्ताको मुद्धा फिर्ता र रिहाईको विषय र प्रतिबन्धका विषयमा छलफल सुरु भएको जनाएको छ। विप्लवले औपचारिक रुपमा वार्ताको प्रस्ताव गरेपछि सरकार त्यस विषयमा छलफल गर्न अघि सरेको स्रोतले बतायो। सरकारको तर्फबाट वार्ताका लागि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र खानेपानी मन्त्री मणि थापाले पहल थालेका छन्। त्यसमा अरु पूर्व माओवादी समुहका नेताहरुले समेत साथ दिएका छन्।
विप्लवले वार्ताको प्रस्ताव गरेपछि सरकारले औपचारिक रुपमा उनीहरुलाई पत्र पठाइसकेको प्रधानमन्त्री केपी शर्मा ओलीनिकट एक एक नेताले बताए। ‘सरकारले सचेत ढंगले विप्लव नेतृत्वको नेकपासंग वार्ता गर्न पत्र पठाईसकेको छ। त्यहाँबाट के कस्तो जवाफ आउँछ, त्यसपछि वार्ताले मुर्त रुप लिन्छ’, ति नेताले भने, ‘वातावरण ठिक ढंगले अघि बढेमा प्रतिबन्ध फुकुवादेखि मुद्धा फिर्ता लिनेसम्म सबै विषय सल्टिदै जान्छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।