काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले नेकपा विवाद निरुपण नहुँदासम्म निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने जनाएको छ। निर्वाचन आचारसंहिताका सन्दर्भमा छलफल गर्न आयोगले बोलाएको सर्वदलीय बैठकमा नेता लिलामणि पोखरेलले निर्वाचन प्रक्रिया सुरु गर्ने आधार नभएको बताएका हुन्।
छलफलपछि बाहिरिने क्रममा नेता पोखरेलले आयोग पदाधिकारीलाई राखेको धारणाबारे भने, ‘६४ प्रतिशत मत प्राप्त गरेको दलको समस्याको हल नगरी कसरी निर्वाचन तयारी गर्न सक्नुहुन्छ?’
बैठकको प्रारम्भमा धारणा राखेका पोखरेलले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले फैसला पछि मात्रै प्रक्रिया अघि बढ्नुपर्ने तर्क राखे। प्रचण्ड–माधव पक्षले आयोगलाई बुझाएको पत्रको प्रतिउत्तर नआएको भन्दै जिज्ञासा राखेका थिए। पुस ५ पछिका दुवै पक्षका निर्णय आयोगले अस्वीकार गरेपछि थप प्रष्ट पार्दै बुझाएको जवाफको अभिलेखिकरण नगरिएको उनले बताए।
‘पार्टी एकताको समयमा भएको सहमति अनुरुपको ४४१ सदस्यलाइ मान्यता दिन्छौं। अरु निर्णयलाई मान्यता दिन सकेनौं आयोगले भन्यो’, पोखरेलले भने, ‘केपी ओलीलाई हटाएको अभिलेखिकरण गर्न भनि पत्र आयोगलाई पठायौं। त्यसको जवाफ आयोगले दिएको छैन।’
माघ २० मा आफू पक्षीय नेकपा आधिकारिक भएको दाबीसहितको निर्णय जानकारी गराएसँगै विवादको औपचारिक सुरुवात भएको उनले बताए। दल सम्बन्धी ऐनको दफा ४३ र ४४ को आधारमा आफ्नो दाबी प्रस्तुत गरेपनि आयोगले त्यसको प्रतिउत्तर नपठाएको उनले बताए। आयोगले बोलाएको छलफलमा १४ दल सहभागी भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।