काठमाडौं- सभा सकिएपछि कोही जाने ठाउँ खोजिरहेका थिए। कोही ल्याइदिने मान्छे खोज्दै थिए। मास्कले अनुहार छोपिएका अनुहारहरूको भिडमा आफ्नो मान्छे पहिल्याउन सहज थिएन।
सभामा भाषण सुन्ने केहीका चिन्ता भने मौसमसँग प्रश्न मडारिन थालेको पनि थियो। शुक्रबार काठमाडौंको मौसम केही परिवर्तन भयो। दिउँसो हल्का पानी छिट्यायो पनि।
'आउन त आइयो। तर धुम्मिएको मौसममा चिसो छलेर जाने कसरी?'
अरु धेरै जस्तै धोती कुर्था लगाएर शिवलाल महरा (६०) रत्नपार्क छेउमा जाडोले थरथर हुँदै कसैलाई पर्खिरहे जस्ता देखिन्थे। फेटाले टाउको, नाक, कान, आँखा सबै ढाकेका थिए। पातलो कुर्था, तल धोती र चप्पल लगाएका उनी यताउति नियाल्दै थिए।
उनी महोत्तरीको बेटिहानी फर्किने तयारीमा रहेछन्। शिवलाल पेशाले कृषि र पशुपालन गर्छन्। उनीलाई साथीसंगीले 'प्रेसर' गरे। त्यसपछि विना तयारी काठमाडौँ हानिए। प्रायः यस्ता राजनीतिक कार्यक्रम र आमसभामा कमै सहभागी हुन्थे उनी।
कसको कार्यक्रममा र किन आएको भन्नेसमेत थाहा नभएको उनले नेपाल लाइभसँग बताए। महरा ओली पक्षको कार्यक्रम छ भन्नेबाहेक अरु राजनीतिक कथाव्यथामा अनविज्ञ छन्। उनीसहित दुई गाडी कार्यकर्तालाई महोत्तरीबाट प्रहरीले स्कर्टिङ गरेर शुक्रबारै बेलुकी काठमाडौँ ल्याएको थियो।
शुक्रबार राती नै उनी आफ्नो घर फर्किन आफ्ना साथीसंगीलाई पहिल्याउँदै रत्नपार्कमा यताउति हेर्दै थिए। यसरी नै नेताहरूको कार्यक्रममा सहभागी भएपनि आम किसान गरिबलाई केही नगरेको दुखेसो पोखे।
000
उनीसंगै आएका थिए किशोरी महतो। झन्डै दुई तिहाई बहुमत दिएर जिताएपनि फेरी उस्तै झमेला परेको भन्दै महताले दिक्दारी व्यक्त गरे। ‘नेताहरूको माथि के-के मिल्दैन। अनि तल हामीलाई जाडो-गर्मी केही नभनी हिड्नुपर्छ,’ महताले भने, ‘ओलीको भाषण सुन्न आयौँ।’ नेताहरुले जनतालाई भोट माग्दा र यस्ता दुख पर्दा मात्रै सम्झने गरेको भन्दै महतोले आक्रोश पोखे।
000
यस्तै, कालिकोटस्थित शुभकालिका गाउँपालिकाबाट चार दिनमा काठमाडौं आइपुगे धर्मबहादुर शाही। ओली पक्षको कार्यक्रमका लागि गएको माघ १९ गते दिउँसो तीन बजे कालिकोट सदरमुकामबाट हिडेका थिए। काठमाडौँ आइनपुग्दै बिहीबार प्रचण्ड-नेपाल पक्षको आमहड्तालमा चितवनमा रोकिए। शाही कालिकोटबाट हिँडेको चार दिनपछि बल्लतल्ल काठमाडौ आए।
कालिकोटबाट आमसभाका लागि एक गाडी मान्छे ल्याएको शाहीले बताए। शाही ओली पक्ष मानिने यामलाल कँडेलसहितको टोलीमा जोडतोडले नारा लगाउँदै दरबारमार्ग पुगेका थिए।
कँडेलले समाएको ब्यानर अघि परम्परागत नृत्यमा सहभागी भएपछि कँडेल मञ्चतिर लागे। शाही सडकमै थचक्क बसे। भोक, निन्द्रा, प्यास र चिसोले आँत सुकेर थकित शाही आमसभामा किन आएको भन्ने स्पष्ट छैनन्।
000
यस्तै बाराको कोल्हबीकी सुरतिया माझी घरी आँखा खोल्ने र बन्द गर्ने गर्दै दरबारमार्गस्थित आमसभाको अगाडि ज्याकारान्डाको रुख मुनी झुल्दै थिइन्। बिहीबार बेलुका ८ बजे घरको खाना खाएर आएर हिँडेकी माझी गाडीमा वान्ता हुँदाहुँदा थकित थिइन्। वान्ताले गलेको शरीर, त्यसैमा निन्द्राले च्यापेपछि रुखमुनि अर्ध निन्द्रामा थिइन्। उनलाई कार्यक्रमभन्दा बढी निन्द्राले च्यापेको आँखाले भनिरहेको थियो।
कार्यक्रम र चुनावका विषयमा केही थाहा थिएन उनलाई। गाउँकै जान्नेसुन्नेले काठमाडौँ जाऔँ भनेपछि आएकी रहेछिन्। दिउँसो बदली भएको मौसममा चिसो सिरेटो चल्न थालेपछि उठेर भिडको बीचमा गई बसिन्।
000
महोत्तरी, कालिकोट र बाराबाट उपस्थित भएका जनताको मात्रै होइन, अरु जिल्लाबाट आएका जनताको कथा योभन्दा फरक छैन। सभामा सहभागी हुने धेरैलाई सभाबारे थाहै हुँदैन। प्रायः हुने यस्ता कार्यक्रममा गाउँठाउँबाट जनता देखाउन भन्दै काठमाडौ उतार्ने शैली नयाँ होइन।
पञ्चायतदेखि गणतन्त्रसम्मका शासकले सडकमा उतारेर शक्ति नाप्ने गरेका छन्। सत्तामा भएको ओली पक्षले संसदलाई मासेर सडकमा उत्रिनु ठिक नभएको राजनीतिक विश्लेषकहरुको तर्क छ। सत्तामा भएको पार्टीसँग प्रहरी प्रशासन लगायत सम्पूर्ण साधन स्रोत हुने भएकाले सडक प्रतिपक्षको हुनुपर्ने मत पनि नयाँ होइन छ। तर, ओली पक्ष सत्ता र सडक कब्जा गर्न आउनु पञ्चायती शैली भएको प्रचण्ड–नेपाल पक्षको तर्क छ। पञ्चायतले पञ्च र्याली गरेर सडकमा मान्छे उतार्ने गरेजस्तै ओली पक्षले त्यही शैली अपनाएको भन्दै आक्रोश पोख्ने कम छैनन्। नेताहरूले दूरदराजका सर्वसाधारण देखाएर वर्षौंदेखि आफ्नो व्यक्तिगत फाइदाको राजनीति गर्न छोडेका छैनन्।
ओली पक्षले बाग्मती प्रदेशस्तरीय आमसभा भनेपनि देशैभरबाट मान्छेलाई काठमाडौं उतारेर प्रचण्ड–नेपाल पक्षलाई चुनौती दिएको हो। देशैभरबाट उपस्थित जनतालाई देखाउँदै ओलीले मूल पार्टी यही भएको भन्दै यही पार्टीमा आउन प्रचण्ड नेपाल पक्षलाई आग्रह गरे।
यसअघि माघ ९ गते प्रचण्ड–नेपाल पक्षले रत्नपार्कमा जनता उतारेर ओली पक्षलाई चुनौती दिएको थियो। त्यसैलाई काउन्टर दिन ओली पक्षले शुक्रबार आमसभा राखेको हो। फेरी प्रचण्ड–नेपाल पक्षले यसरी नै माघ २८ गते जनता उतारेर आफ्नो शक्ति देखाउने तयारी गरेको छ। नेकपाका दुवै पक्षले सडकमा जनता उतारेर आ–आफ्नो शक्ति नापिरहेका छन्। तर शक्तिको पारो दिनदिनै कम हुन थालेको छ। दुवै पक्षले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई प्रभावित पारेर आफू अनुकल निर्णंय गराउने रणनीतिमा छन्।
ओलीको गुणगान
व्यक्ति नभई सामूहिकतालाई प्राथमिकता दिने कम्युनिस्ट सिद्धान्त हो। व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नु कम्युनिस्टहरूले जप्ने मूलमन्त्र हो। तर ओलीले भने आफ्नै महिमामण्डन गरे।
कार्यक्रमका प्रचार ब्यानरदेखि चोकचोक र गल्लीगल्लीमा समेत आफ्नै फोटो राख्ने प्रचारमा रमाएका छन् ओली। शुक्रबारको नारायणहिटी अगाडिको कार्यक्रममा समेत ओलीले ठूलो फोटो राखेर प्रचार गरे। पूर्व राजाको दरवार अगाडि कार्यक्रममा ओलीले राजसी ठाँटमा आफ्नो फोटो राखे।
हरेक जिल्ला, जनवर्गीय संगठन र सम्पर्क कमिटीको ब्यानरमा उनकै फोटो झुन्डिएको थियो। कार्यक्रम स्थल नजिक पोलपोल र चोकहरुमा उनकै फोटोको प्रचार गरियो।
त्यति मात्रै होइन उनले आफ्नो फोटोको तल बुद्धिजीवी, लेखक, साहित्यकारलगायत छन् भनेर लेखेको ठूलो फोटो फ्रेम ठाउँठाउँमा राखियो।
कार्यक्रममा उपस्थितले 'केपी ओली जिन्दावाद' र 'आज होइन भोलिलाई केपी ओली १० वर्षलाई' भनेर नारा लगाइयो। केपी ओली व्यक्तिको भक्तिगान र उनको भाषणमा माघ २३ बहुप्रचारित सभा सकियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।