काठमाडौं- कलंकी निवासी तीन वर्षीया बालिका कृष्टिना राईको मुखमा जतिखेरै झुण्डिरहने गीत हो- 'मेरो एक्सको छम्मा, पैसा सैसा चैट।' तोते बोलीमा उनको यो गीत सुन्नेहरु गललल हाँस्छन्। कोही मोबाइल बोकेर भिडियो बनाउन सुरु गर्छन्।
करिब एक वर्षअघिको कुरा हो। कक्षा १ मा पढ्ने स्वयम्भूका ५ वर्षीय सुरेश रिमाल स्कुलमा आयोजना गरिएको अभिभावक दिवसको दिन कम्मर मर्काएर नाचे।
लुकिचोरी हेर्दै आँखाले चान्स मार्न थाल्यो
तिमीलाई देखी मेरो दिल डान्स गर्न थाल्यो
चल्न थाल्यो फास्ट फास्ट फास्ट
उनीसँग जोडी बनेर नाचिन् पाँचै वर्षकी परिनीति धरेल।
यो नृत्यमा उनीहरुका अभिभावले खुबै रमाइलो माने। हुन त आफ्ना छोराछोरीको प्रतिभा देखेर मख्ख नपर्ने बाबुआमा को होला र। २ कक्षामा पुगेपछि भने नाच्न पाएनन्। कोभिड-१९ ले गर्दा डिजिटल रुपमै उनले पढाइलाई चालु राख्नुपर्यो । तर जुमको कक्षामा पनि उनको म्युजिक क्लास भने हुन्छ। शिक्षकले उनलाई 'फुलबुट्टे सारी, सपक्क पारी, पछ्यौरी मलमलको' गाउन सिकाइसके।
दैलेख बजार घुमनी, कर्णाली पुल चढनी
तिमी सानै म सानै रहर मात्रै होलानी
बालखैमा दिल बस्यो गौंथली
नभागौं त मनमा भो खलबली
भागौं भने बाल विवाहको मुद्दा चलनी
करिब एक वर्षअघि बाहिरिएको यो गीत निकै चर्चित भयो। युट्युबमा मात्रै यसको भ्युज २९ मिलियन क्रस गरिसकेको छ। आठ वर्षका रुपेश चन्दले गाएको यो गीतको भिडियोमा साना बालबालिकालाई नचाइएको छ। यसलाई निर्माण पक्षले बाल गीतको संज्ञा दिएका छन्।
माथिका यी र यस्ता घटना प्रतिनिधिमूलक मात्रै हुन्। यसले बालबालिकाको दिमागमा प्रत्यक्ष असर पार्ने बताउँछन्, बालबालिकाको साहित्य र संगीतमा समय बिताइरहेका आभाष।
उनले भने, 'यी र यस्ता कुरामा राज्यले कानुन बनाउन जरुरी छ। साना नानीहरुलाई यौवनाको गीतमा नचाउनु या यस्ता गीत गाउन दिनु, सुन्न दिनु अपराध हो।'
उनीहरु परिपक्व नभएसम्म अभिभावक र शिक्षकहरुले के सुनिरहेका छन्, कस्तो गीत-संगीतमा चासो देखाइरहेका छन् या के हेरिरहेका छन् भन्ने कुरामा कन्ट्रोल गर्नुपर्छ। पछि के हेर्ने, के नहेर्ने, के सुन्ने, के नसुन्ने भन्ने छुट्याउन सक्ने भएपछि मात्रै उनीहरुलाई स्वतन्त्रता दिने हो।
यस्ता कुरा नियन्त्रण गर्ने जिम्मा राज्यको नभई अभिभावक र स्कुलका शिक्षक-शिक्षिकाको हुने पनि आभाषले बताए। उनले भने सबै काम राज्यले मात्रै गर्नुपर्छ भन्ने पनि हुँदैन।
त्यसो त, यस्ता कुरा रोकथाममा राज्यले नै गतिलो कानुन बनाउनुपर्नेमा जोड दिन्छन् आभाष। उनले भने, 'राज्यले केही टेलिभिजन च्यानलहरु बच्चाका लागि सञ्चालन गर्नुपर्छ।' अहिलेसम्म यसमा ध्यान नदिएर राज्यले अपराध गरिरहेको पनि उनले बताए।
आभाषले भने, 'उनीहरुलाई आधा घण्टाको बाल कार्यक्रमले मात्रै पुग्दैन। बच्चालाई ठिक ढंगले साहित्य र गीतको शिक्षा दिएन भने उनिहरुको भविष्यको भविष्य बर्बाद हुन्छ।'
बच्चालाई खाना खुवाउँदा समेत केही देखाउनुपर्छ तर हामीसँग देखाउने कुरा केही छैन। आभाषले भने, 'मेरो छोराले हिन्दी राम्रो बोल्छ। सिकाएको हैन, आफैं सिकेको। भाषा जोगाउनका लागि केही गर्न नसके पनि विदेशी कार्टुनको डबिङ त गर्नसक्छ नि।'
आक्रोसित हुँदै आभाषले भने, 'स्कुलले यौवना गीतमा बालबालिकालाई नचाएर अपराध गरिरहेको छ तर हामी अभिभावक यो कुरामा खुसी छौं।'
यस्ता कुराले निकै चित्त दुखेर नै आफू बाल साहित्यको क्षेत्रमा केही काम गर्न सुरु गरेको आभाषले बताए। उनले बालश्रमका बारेमा अधिकारकर्मीले आवाज उठाए पनि बालबालिकाको मानसिकता नबुझेको आरोप लगाए।
भने, 'अभिभावकले पनि बच्चालाई के देखाउने, के नदेखाउने भन्ने कुरा जान्नुपर्छ। अभिभावक नै ठिक छैनन्। हाम्रो बानी परिसक्यो टेक्नोलोजीमा। यो समाजका लागि खतराको घण्टी हो।'
राज्यले बाल साहित्यमा लगानी गर्नुपर्ने उनको भनाइ छ। आभाषले भने, 'एनटिभीको त्यति धेरै च्यानल छन्, एउटालाई बाल च्यानल बनाए भयो त। विदेशका कार्टुनलाई यता गुणस्तरमा डबिङ गर्नुपरे उनीहरुले कपिराइटको झमेला पनि गर्दैनन्। निराश हुँदै उनले भने, 'घरको शौचालय बनाउन त फन्डिङ खोज्छौं, बाल साहित्यको कुरा त के गर्नु।'
आभाषले नेपालयसँग मिलेर बाल साहित्यमा काम गरिरहेका छन्। उनले नेपाली वर्णमाला गीत तयार पारेका छन् र नेपालमै एनिमेसन समेत तयार पारेर काम अगाडि बढाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।