काठमाडौं- माधव नेपालले केपी ओली झुटको पुलिन्दा भएको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभा विधटन विरुद्ध सुर्खेतमा आयोजित विरोध सभामा नेपालले ओलीको आलोचना गरेका हुन्।
'केपी ओली भनेको झुटको पुलिन्दा हो। उहाँ मान्छेलाई झुटो मात्रै बोल्नुहुन्छ। उहाँले भ्रमित मात्रै पार्न खोज्नुहुन्छ। उपयोग मात्रै गर्नुहुन्छ', उनले भने।
ओलीले प्रचण्डको भर्याङ चढेर प्रधानमन्त्री बनेको तर प्रधानमन्त्री भएपछि भर्याङ नै भाँचिदिएको बताए। उनले केपी ओली इमानदार नभएको आरोप पनि लगाए।
नेपालले ओलीलाई आजै साधारण सदस्यबाट पनि निस्कासन गर्ने तयारी गरेको बताए।
माघ ५ गते सो पक्षले ओलीलाई स्पष्टीकरण सोध्दै बालुवाटारमा पत्र पठाएको थियो। 'तीन दिन पहिले हामीले बालुवाटारमा चिठी पठायौं। चिठी लिएर सुरेन्द्र पाण्डे र श्रीराम ढकाल पुग्नुभयो। चिठीमा स्पष्टीकरण दिनका लागि तीन दिनको समय दिइयो। उहाँले स्पष्टीकरण दिने आँट गर्नुभएन। किनकि उहाँसँग तर्क नै छैन', नेपालले भने।
नेपालले ओलीमा कम्युनिस्टमा हुनुपर्ने कुनै पनि गुण नभएको बताए। उनले ओली २०७१ सालमा एमालेको अध्यक्ष भएदेखि पार्टीमा घाँडो भएको बताए। 'पार्टी एकतापछि पनि समस्यै भए', उनले थपे।
ओलीमा गणतन्त्रको माया नभएको नेपालले आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।