काठमाडौँ- नेकपा ओली पक्षका महासचिव विष्णु पौडेलले प्रचण्ड-नेपाललाई लक्षित गर्दै पार्टीमा हुँदा सर्धै सरकार पार्टी नेतृत्व कसरी कब्जा गर्ने भन्नेमै ध्यान दिने गरेको बताए। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई राजधानीमा सम्बोधन गर्दै पौडेलले सरकारलाई प्रभावकारी बनाउन ध्यान नदिएको आरोप लगाएका हुन्।
‘हामीले भनेका थियौँ। महाधिवेशनको प्लेटर्फममा पुगेर उपयुक्त ढंगले छलफल गरेर एउटा सार्थक निष्कर्षमा पुगौँ। त्यसमा उहाँहरुको रुचि भएन,’ पौडेलले भने, उहाँ (प्रचण्ड-नेपाल)हरूको ध्यान कसरी पार्टीको सत्ता कब्जा गर्ने भन्नेमा मात्र केन्द्रित भयो। प्रधानमन्त्रीबाट केपी ओलीलाई पदच्यूत गर्नेबाहेक अरु केही उदेश्य देखिएन।’
नेकपा सांसदहरूको अन्य प्रयोजनका लागि तयार गरेको हस्ताक्षर प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लजानु दुरुपयोग गरेको पौडेलले बताए।
उनले अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री विरुद्ध १९ पृष्ठ आरोपपत्र ल्याएपछि पार्टी विभाजनको रेखा कोरिएका बताए। पुष्टि नै हुन नसक्ने संगीन आरोप प्रधानमन्त्रीलाई लगाएर प्रचण्डले गलत गरेको उनको भनाइ छ।
पौडेलको बाँकी भनाइ उनकै शब्दमा
असारमा सकिएको स्थायी कमिटी बैठकको निर्णयमा मसी सुक्न नपाउँदै यहाँहरूले देख्नु भएको छ। पार्टीभित्र अन्यन्तै अस्वच्छ अमर्यादित क्रियाकलाप झनझन प्रकट हुँदै गए। खासगरी पुष्पकमल दाहालले पार्टीका प्रथम अध्यक्ष केपी ओलीविरुद्ध आरोपपत्र प्रस्तुत गर्नुभयो। त्यो आरोपपत्र जुन ढंगले प्रस्तुत गर्नुभयो, त्यो आरोपपत्रपछि हामी सँगसँगै जानको निम्तीिअब तयार हुनुहुन्न होला भन्ने निष्कर्षका पुग्ने अवस्था सृजना भयो। उहाँले प्रस्तुत गर्नुभएको आरोपपत्र आधारहीन र प्रतिशोधपूर्ण छँदैछ। त्यसले वास्तवमा पार्टीलाई विभाजनतर्फ लानका निम्ति आधार तयार गर्यो भन्ने घटनाक्रमले पुष्टि गरेको छ।
हामी चुनौतीका साथ भन्न चाहन्छौँ, उहाँले जुनप्रकारका आरोप लगाउनुभएको छ तीमध्ये कुनै एउटा पनि पुष्टि गर्ने सामर्र्थ प्रदर्शन गर्न सक्नुहुन्न। उहाँलाई आरोप फिर्ता लिनुस् र पार्टी एकतालाई अक्षुण्ण राखेर अगाडि बढौँ। उहाँ आरोपत्र फिर्ता लिन पनि तयार हुनुहुन्न। एक किसिमको पार्टीको आन्तरिक जीवनमा देखा पर्यो।
आजका मितिसम्म आइपुग्दा पनि नेकपा निर्वाचन आयोगका नजरमा कानुनी भाषामा भन्दा औपचारिक रुपले विभाजित भइसकेको छैन। तर नेकपाको विभाजन अवश्यम्भावी जस्तो बन्न पुगिसक्यो। हामीले पार्टीको एकता जोगाउन गरेका यावत् प्रयास निरर्थक सावित भएका छन्।
पार्टी विभाजन गर्न एकपछि अर्को प्रतिशोधपूर्ण क्रियाकलाप गरेर उहाँहरू लागिरहनु भएको छ भन्ने कुरा यहाँहरुका बीच छर्लंङ्ग छ। मतभेदहरु सैद्धान्तिक प्रश्नमा नीतिगत प्रश्नमा मतभेद छन् भने सैद्धान्तिक प्रश्नमा नीतिगत प्रश्नमा छलफल गर्नको निम्ति चैत्र महिनामा महाधिवेशन गर्दै छौँ। आउँनुस बहस गरौँ, महाधिवेसनको प्लेटर्फममा पुगेर उपयुक्त ढंगले छलफल गरेर एउटा सार्थक निष्कर्षमा पुगौँ। तर, त्यसमा उहाँहरुमा रुचि भएन।
उहाँहरुको ध्यान, धारणा पार्टी र सरकार कब्जा गर्ने भन्नेमा मात्र रह्यो। प्रधानमन्त्रीबाट केपी ओलीलाई पदच्यूत गर्नेबाहेक अरु केही उदेश्य र ध्यान देखिएन। त्यस हिसाबले अगाडि बढ्दै जानुभयो। हामीले भन्यौ ठिक छ- तपाईंहरुले जुन प्रकारको आरोप लगाइरहनु भएको छ त्यो सर्वथा गलत छ। आउँनुस् बसौँ छलफल गरौँ पार्टीभित्र हुने समस्याबारे छलफल गरौँ। संसदको समस्या हो भने संसदीय दलमा बसेर छलफल गरौँ। तर तपाईंहरुले देख्नुभएको छ। पार्टीमा गम्भीर प्रकारका आरोप लगाउनुभयो ति आरोप पुष्टि गर्ने तागतका साथमा उभिने स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा उभिन सक्नु भएन।
प्रधानमन्त्री हटाउन अनेक प्रकारका कोसिस गर्नुभयो। तर प्रधानमन्त्रीविरुद्ध संसदीय दलको बैठकमा दलको नेता परिवर्तनका निम्ति उहाँले प्रस्ताव गर्ने आट गर्नु भएन। हामीले भनेका थियौँ- प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउँछ भने बहुमतप्राप्त दलको हैसियतले केपी ओली हुनुहुन्छ। दलको बैठक बसौँ। त्यहाँ छलफल गरौ संसदीय दलको बैठकको बहुमतले केपी ओलीलाई अस्वीकार गर्छ भने उहाँ प्रधानमन्त्रीको जिम्मेवारी छोड्न तयार हुनुहुन्छ। तर, उहाँले त्यो गर्नतिर लाग्नु भएन।
केन्द्रीय कमिटीको बहुमत सदस्यको समर्थन जुटाएर केपी ओलीलाई अध्यक्ष पदबाट हटाउन सम्भव छैन भन्ने कुरा उहाँहरूलाई राम्ररी थाहा थियो। त्यसैले केन्द्रीय कमिटीबाट निर्णय गर्ने त्यो बाटो रोज्नु भएन।
दलको बैठकमा दलको नेताका विरुद्ध अविश्वास प्रस्ताव लिएर आउनुको सट्टा छक्कापन्जाको तरिका अपनाएर हस्ताक्षर जम्मा गरेर अविश्वास प्रस्ताव दर्ता गर्ने चेष्टा गर्नुभयो। त्यो बेलामा केपी ओलीका सामुन्ने, नेकपा सामुन्नेमा एउटा गम्भीर प्रश्न खडा भयो। यो प्रकारको अवसरवाद सत्तालिप्सा पदलोलुपता? यो प्रकारको वैचारिक अवसरवादका सामु आत्मसमर्ण गर्ने नतमस्तक भएर हात उठाएर छाड्ने कि सामाना गर्ने?
स्वभावैले आधिकारिक रुपमा अविश्वास प्रस्ताव फर्जी ढंगले संकलन गरेका हस्ताक्षरलाई बोकेर त्यो बाटोमा हिड्न खोजेको जानकारी भएपछि स्वभाविकै रुपमा उहाँले प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नुभयो। अहिले निर्वाचनको मिति घोषणा भइसकेको छ। अब नेपाली नयाँ निर्वाचनतर्फ अभिमुख भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।