काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्धको प्रदर्शनमा नेकपा (प्रचण्ड–माधव समूह) ले शुक्रबार काठमाडौंमा दश स्थानबाट जुलुस निकाल्ने भएको छ।
शुक्रबारको विरोध प्रदर्शन र सभा वृहत् हुने केन्द्रीय संघर्ष समिति संयोजक नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन्। स्थायी समिति सदस्यहरुले काठमाडौंका विभिन्न स्थानबाट निस्कने प्रदर्शनको नेतृत्व गर्ने बताइएको छ। माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनी मार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र वाल्मीकि क्याम्पसलगायतका स्थानबाट विरोध सुरु हुने भएको छ।
सबै स्थानबाट आएको जुलुस रत्नपार्कमा केन्द्रित हुने भएको छ। रत्नपार्कमा केन्द्रित भएको मूल जुलुसको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन्। प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको जुलुस रत्नपार्क-पुतलीसडक-भद्रकाली-सहिदगेट-सुन्धारा हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने भएको छ।
सभालाई पार्टी अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने भएका छन्। विरोध प्रदर्शनलाई व्यवस्थित बनाउन युवा, विद्यार्थी, मजदूर र खेलकूद मोर्चाका दुईहजार स्वयंसेवक खटिने श्रेष्ठले जानकारी गराएका छन्।
प्रदर्शन संविधानले निर्दिष्ट गरेको सीमाभित्र रहेर हुने जनाइएको छ। आन्दोलनको सन्दर्भमा भ्रम फैलाइएको भन्दै शान्तिपूर्ण हुने प्रतिबद्धता व्यक्त गरिएको छ। ‘प्रदर्शन घुसपैठ गरी शान्तिपूर्ण आन्दोलनलाई बिथोलेर अराजकता र द्वन्द्वतिर लैजाने सरकारी तथा प्रतिगामी समूहको प्रयासप्रति भने हामी सचेत छौं‚’ श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।