काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट पत्रकारहरुलाई झन्डै एक दर्जन टिप्स दिएका छन्। बिहीबार आफू निकट प्रेस संगठनको भेलामा सम्बोधन गर्दै उनले पत्रकारहरुलाई उदाहरणीय बन्न प्रयास गर्नुपर्ने बताए।
'तपाईंको जीवनशैली, रहनसहन देखेर अरुले पनि अँ यस्तो हुनुपर्छ भनुन्। तपाईंहरु यस पार्टीसँग सम्बद्ध, आबद्ध, निकट जेजे हुनुहुन्छ। यो पार्टीसँग निकट भएको हुनाले म तपाईंहरुलाई आग्रह गर्न चाहन्छु- पत्रकार हुँ भन्ने बित्तिकै, तपाईंलाई हेर्दैखेरि मान्छेहरुले 'ए तपाईंहरु फलानो पार्टीको हो? भनेर आफैं सोधोस्। चिनोस् तपाईंहरुलाई। तपाईंहरुको आनीबानी र व्यवहारले। त्यसरी चिनोस्', उनले भने।
उनले पत्रकारहरुलाई आफूले सम्प्रेषण गरेको समाचारमा सत्यता छ कि भनेर आशंका गर्ने स्थिति नहोस् भन्ने सुझाव पनि दिए।
ओलीले पत्रकारहरुलाई देशभक्त भन्न पनि सुझाव दिए।
'देशको ठूलो समस्या पीत पत्रकारिता हो'
ओलीले देशको ठूलो समस्या पीत पत्रकारिता भएको बताए। सञ्चार माध्यममा प्रकाशित/प्रशारित हुने सामग्रीप्रति असन्तुष्ट सुनिएका उनले सञ्चार माध्यमले झुटो छाप्ने गरेको बताए।
'अहिले देशको ठूलो समस्या पीत पत्रकारिता पनि हो। महात्मा गान्धीका तीन बाँदर जस्तै छन् केही पत्रिकार र सञ्चार माध्यमहरु। राम्रो कुरा देख्नुपर्छ भने बरु आँखा छोप्छु। राम्रो कुरा सुन्नुपर्छ भने बरु कान थुन्छु। राम्रो कुरा बोल्नुपर्छ भने बरु मुख थुन्छु। तर सुन्दिनँ, हेर्दिनँ र बोल्दिनँ भन्ने केही छन्। अनि तिनले झुटो छाप्छन्, गलत छाप्छन् र जनतालाई दिग्भ्रमित पार्न', बिहीबार काठमाडौंमा आयोजित आफू पक्षीय प्रेस संगठनको भेलामा उनले भने।
उनले अहिले सञ्चार माध्यमले छापिरहेका सामग्री देशको हितमा नभएको बताए। 'यो काम राष्ट्रको राष्ट्रको हितको पक्षमा छँदैछैन। कुनै हालतमा छैन र हुनै सक्दैन यस्तो काम। तर कुरा के हुन्छ भने जब मान्छे स्वार्थबाट अन्धो हुन्छ। अथवा जब मान्छे आत्मा बेच्छ। त्यसपछि नर्क पर्छ।'
प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैं पछि लाग्ने बताए।
सञ्चार माध्यमले विदेशीको नक्कल गर्दै आफूभन्दा ठूलालाई तिमी सम्बोधन गर्दै समाचार लेख्ने गरेकोमा पनि असन्तुष्टि जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।