काठमाडौँ- नेकपाको नेपाल–प्रचण्ड पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली झुटका पुलिन्दा भएको टिप्पणी गरेका छन्। काठमाडौँ जिल्ला स्तरीय पाटी कमिटीको अगुवा नेता कार्यकर्ता भेला कार्यक्रममा बोल्दै नेपालले ओली झुट बोल्न माहिर भएको बताए।
‘ओली झुटको पुलिन्दा हुनुहुन्छ। उहाँ झुट बोल्न माहिर हुनुहुन्छ। उहाँ झुटको खेलाडी भन्दा पनि हुन्छ,’ नेपालले भने, ‘सबैलाई खेलाएर तह लगाउँछु भन्ने ठान्नुहुदो रहेछ। त्यो सबैभन्दा ठूलो भ्रम छ।’
केपी ओलीले डमरु बताउँदै केन्द्रीय सदस्य बाँड्दै हिडेको नेपालले व्यंग्य गरे। ‘डमरु बजाउँदै टिकट बाँड्दै केन्द्रीय कमिटीको सदस्य बन्न आऊ भनेर टिकट बाँडिरहनु भएको छ,’ नेपालले व्यंग्य गर्दै भने, ‘पार्टीको ४४१ को सदस्य बढाएर ५ सय ५६ पुर्याउनुभयो। त्यो बढाएर १५ सय एक बनाउनुभयो। त्यो बढाएर २५ सय एक पुर्याउने सुन्दैछु। त्यो संख्या पुगेन भने कम्तीमा ५ हजार पुग्ला त्यो सडक छाप पार्टीमा को को जाने हो हेर्न बाँकी छ।’
ओलीले डमरु बजाउँदै केन्द्रीय सदस्य बाँडे पनि छोड्नेको संख्या उत्तिकै रहेको नेपालले बताए। यस्तै हुँदै गए ओलीको पार्टी ‘पार्टी पौवा’ होइन, त्यो टधुलोमा परिणत हुने बताए। ओलीका सबै अभिव्यक्ति सुन्दै विश्लेषण गर्दै जाँदा कम्युनिस्ट नेता नलाग्ने बताए।
‘केपी ओलीमा न कम्युनिस्ट आन्दोलनप्रति कुनै प्रतिबद्धता छैन। न मार्क्सवादप्रति कुनै निष्ठा छ,’ नेपालले भने, ‘उहाँ (केपी ओली)मा लेनिनवादी सिद्धान्तमा प्रतिबद्ध हुनुहुन्न। कम्युनिस्ट आचरण, संस्कार छैन,’ कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाएर लाने ओलीमा कुनै सोच नभएको नेपालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।