सिमकोट, हुम्ला- हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले उडान भरेका छन्। आइतबार बिहान नेपालगञ्जबाट उडान भरेका ती जहाज मध्याह्नपछि हिमपात हुँदा रोकिएका थिए। सोमबार अपराह्न ती दुवै जहाजले नेपालगञ्जका लागि उडान भरेका हुन्।
हिमपातले विमानस्थलमा रोकिएका जहाजले सोमबार मात्रै उडान भरेको सिमकोट विमानस्थलले जानकारी दिएको छ। जहाजमा रहेको ब्याट्रीमा सामान्य समस्या आएपछि मर्मतका लागि प्राविधिक टोली लिएर अर्को जहाज सिमकोट आएको थियो। मर्मत गरी फर्कने बेला मौसम खराब भएपछि जहाज रोकिएको सिमकोट विमानस्थका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिए।
हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका प्रायः बस्तीमा चार फिट भन्दा बढी हिउँ जमेको छ। अहिले सदरमुकाम सिमकोटमा एक फिट हिउँ जम्दा सिमकोटमा तापक्रम माइनस ८ डिग्रीमा झरेको छ। आइतबार अपराह्नदेखि परेको हिमपातले हुम्लालगायतका हिमाली जिल्लामा हवाई सेवा बन्द भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।