काठमाडौं-मंगलबार बिहानै फेसबुक म्यासेन्जरको एउटा ‘क्लोज ग्रुप’ मा म्यासेज देखियाे-‘आन्दोलनरत उखु किसानमध्ये एकजनाको हृदयाघातका कारण मृत्यु भएको अपुष्ट खबर छ।’
दिउँसो ११ बजे नेपाल लाइभको ‘न्युज रुम मिटिङ’ चलिरहेको बेला नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालको सचिवालयबाट फोन आयो– ‘१२ बजे उखु किसानसँग मन्त्रीको छलफल कार्यक्रम तय भएको छ। आउनू।’
उखु किसानसँगको छलफल भन्नेबित्तिकै अस्ति (सोमबार) को सम्झौता वा हिजो (मंगलबार) मृत्यु भएका किसानकै बारेमा हुनुपर्छ भन्ने लख काटियो। १२ बज्दा–नबज्दै मन्त्रालयबाट फेरि अर्को सूचना आयो, ‘उखु किसानसँग आजका लागि तय भएको कार्यक्रम विशेष कारणले स्थगित भएको छ।’
OOO
आफ्नो पसिनाको मूल्य माग्न सर्लाहीदेखि काठमाडौं आएर ज्यान गुमाएका किसानको बारेमा कृषि मन्त्रालयमात्र नभई सरकारको कुनै पनि निकायले मंगलबार रातिसम्ममा केही कुरा बोलेका छैनन। किसानसँग उधारो सम्झौता भएको जस लिन खोज्ने मन्त्रालय तिनै किसानको मृत्युको खबरपछि किन चुपचाप बस्यो? समवेदनाका शब्दहरु खर्चन पनि आवस्यक ठानेनन् कि?
OOO
सोमबार बेलुका मात्र उखु किसानले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग ४ बुँदे सम्झौता गरेपछि आफ्नो आन्दोलन स्थगित गरेका थिए। यसपटक जसरी पनि आफ्नो भुक्तानी लिएर जाने र उखु बेचेको सबै रकम नपाएसम्म आन्दोलन स्थगित नगर्ने अडानसहित उनीहरु मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा धर्ना बसेका थिए। उनीहरुका लागि यो निर्णायक आन्दोलन थियो। तर मुलुकको बदलिँदो राजनीतिक परिवेश, सत्तालुप्सा र खिचातानीले किसान आन्दोलन छायामा पर्याे। उनीहरु फेरि सरकारसँग उधारो सम्झौता गर्न बाध्य भए।
सोमबार बेलुका उद्योग मन्त्रालयको सभाहलमा भएको छलफलमा किसानहरु आफ्नो बक्यौता चिनी उद्योगीले २१ दिनभित्र तिर्नुपर्ने शर्त मान्न राजी थिएनन। ‘जुन दिन सबै रकम भुक्तानी हुन्छ, त्यही दिन आन्दोलन रोकिन्छ,’ भन्ने धारणा उनीले अन्तिमसम्मै राखेका थिए। सम्झौतापत्रमा हस्ताक्षर हुनै लाग्दासमेत उखु किसानको सरकारी प्रतिनिधिसँग प्रश्न थियो,–‘हामीले आन्दोलन तत्काल स्थगन गर्नुपर्ने तर उद्योगीले पैसा खातामा हाल्न २१ दिन पाउने किन? फेरि उधारो सम्झौता गरेर कुनै पनि हालतमा आन्दोलन समापन हुँदैन।’
मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले यसको जवाफ फर्काए, ‘तपाईहरुको आन्दोलन समापन गर्ने भनेको होईन, स्थगित गर्नुहोस् भनेको हो। चित्त नबुझ्ने भए फेरि गर्नु। अहिलेलाई हामी जिम्मा लिन्छौं। मानिदिनुस।’ किसानहरुले मन अमिलो बनाएरै सम्झौतापत्रमा हस्ताक्षर गरे। आन्दोलन स्थगित भयो।
OOO
विभिन्न चिनी मिलबाट हजार भन्दाबढी किसानले उखु बेचेको पैसा पाउन बाँकी छ। तिनै पीडितमध्ये २ सयको हाराहारीमा किसानहरु काठमाडौं आएर आन्दोलन सुरु गरेका थिए। केही आफ्नो आधा रकम पाएर फर्किए। ऋण काढेरै काठमाडौं आएकाहरु त्यो पनि सकिएपछि घर फर्किनुको विकल्प थिएन। चौथाई संख्यामा किसानहरु भने अझै आन्दोलनमै थिए। कोटेश्वर र जोरपाटीका धर्मशालामा थियो उनीहरुको बास। केही सामाजिक अभियन्ता समूह र कृष्ण प्रणामीहरुले उनीहरुलाई खानबस्नका लागि सहयोग गरिरहेका थिए।
मंगलबार बिहान हृदयाघातबाट मृत्यु भएका ६४ वर्षीय नारायण राय यादव पछिल्लो २ हप्तादेखि जोरपाटीमा कृष्ण प्रणामीहरुले बनाएको एउटा धर्मशालामा बस्दै आएका थिए। उनले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६३ हजार रुपैयाँ पाउन बाँकी थियो। ४ दिनअघि मात्र चिनी मिलले उनको खातामा १ लाख ६० हजार रुपैयाँ हालिदियोे। थोरै भए पनि खातामा पैसा आएपछि उनले आफूसँगै बसेका पन्निलाल यादवसँग भनेका थिए-‘यतिका दिनसम्म धर्ना बस्दा थोरै भएपनि आयो। सबै पैसा नपाएसम्म आन्दोलन जारी राखौं।’
उखु किसान संघर्ष समितिले सोमबार सरकारसँग ४ बुँदे सम्झौता गरेर आन्दोलन स्थगित गरेको खबर सुनेपछि नारायण राय यादव छाँगाबाट खसेजस्तै भए। उनले सोमबार बेलुकै प्रदेश सभा सदस्य केदारनन्दन चौधरीलगायत केही चिनजानका नेताहरुलाई फोन गरी ‘आन्दोलन स्थगित भयो, अब पैसा पाईदैन’ भन्दै मर्का पोखेका थिए। ‘सोमबार राति एकदमै आत्तिएर मलाई फोन गरे। जसरी पनि पैसा दिलाउन प्रयास गरिदिनुपर्याे भनेपछि मैले सक्दो प्रयास गर्छु भनेर सम्झाएँ,’ प्रदेश सभा सांसद चौधरी भन्छन्।
चिनेजानेका केही नेता र उखु किसान संघर्ष समितिका पदाधिकारीहरुले पैसा पाउने आस्वासन दिए पनि यादवको छटपटी बढ्दो थियो। ‘सोमबार बेलुका नै उनले आफूलाई खलखली पसिना आएको र बोल्नसमेत नसक्ने गरी स्वास फुलेको मसँग बताएका थिए,’ पन्निलाल यादव भन्छन्, ‘बिरामी भएपछि बेलुका मैले सँगै सुत्छु भनेँ। तर साँघुरो कोठा भएकाले उनले मानेनन्।’
नारायण राय यादवसहितको समूह मंगलबार घर फर्किने तयारीमा थियो। तर एकाबिहानै अनपेक्षित घटना भयाे। रातभरि छटपटिएका यादव बिहान ५ बजेतिर शौचालय जाँदा–जाँदै ढोकामै ढले। हृदयाघात भएका यादवलाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले बिहान ९ बजे मृत घोषित गर्याे।
मृतक नारायण राय यादवका ज्वाइँ महेन्द्र राय यादवका अनुसार उनले सर्लाहीको सहारा बचत तथा ऋण सहकारी संथाबाट १८ लाख रुपैयाँ ऋण लिएका थिए। गत महिनामात्र ब्याजको ४९ हजार रुपैयाँ बराबरको किस्ता तिरेको रसिद देखाउँदै उनले भने, ‘ऋण धेरै थियो। चिनी मिलले पैसा दिन्छ भन्ने आशा थियो। तर पैसा नपाउँदै आन्दोलन सकियो भन्ने थाहा पाएपछि यस्तो घटना घट्यो।’
OOO
उखु किसानहरुले सोमबार सरकारसँग सम्झौता गरे पनि केही किसानहरु भने यसको विरोधमा थिए। पैसा नपाए घर नै नफर्किने भनेर आएका उनीहरु गत वर्ष जस्तै यसवर्ष पनि सरकारबाट आस्वासनमात्र लिएर फर्कन तयार थिएनन्। खातामा पैसा नआएसम्म सरकारले बोलाएका कुनै पनि बैठकमा समेत नजाने अडान लिएर उनीहरु धर्नामा थिए। तर सोमबारको वार्तामा उखु किसानका प्रतिनिधिहरु सहभागि भए। सम्झौता पनि भयो।
उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले आफूहरुलाई गुमराहमा राखेर सरकारसँग सम्झौता गरेको समेत उनीहरुको भनाइ छ। ‘सरकारसँगको वार्तामा राकेश मिश्रलगायत तीन÷चार जना मात्रै जाने तयारीमा थिए। तर सबैले आफ्ना कुरा राख्न पाउनुपर्छ भनेपछि १० जनाको टोली गयौं,’ सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा नारायण राय यादवको शव कुरेर बसेका एक किसानले भने, ‘यहाँ पनि चलखेल भयो। पैसा पाउनेले पाए। नपाउनेको पीडा अब संघर्ष समितिले पनि सुन्न चाहेन। सुटुक्क आन्दोलन फिर्ताको सम्झौता गरे।’
OOO
यी सबै घटनाक्रमलाई आम नागरिकप्रति राज्यको दायित्वका हिसाबले विश्लेषण गर्दा स्पष्ट हुन्छ सरकारले कति जिम्मेवारी बोध गरेको छ र कुन वर्गलाई प्राथमिकतामा राखेको छ भनेर। काठमाडौंका सडकमा चिल्ला गाडी गुडाउँदै हिड्ने चिनी उद्योगीलाई के साँच्चिकै सरकारले पक्राउ गर्न सकेन? नत्र उद्योगीविरुद्ध पक्राउ पूर्जी जारे गरेर नाटक देखाउनुको के अर्थ?
के माईतीघर मण्डलामा ‘हामी यहाँ छौं’ लेखिएका ब्यानर बोकेर धर्ना बसेका नेकपा नेताहरुले हप्तौंदेखि त्यहीँ माइतीघरमा बसेर आफ्नो श्रमको मूल्य मागिरहेका किसानलाई देखेनन्?
के आफ्नै पसिनाको मूल्य माग्नका लागि संघर्ष गर्दा गर्दै मृत्युवरण गरेका नारायण राय यादवको मृत्यु सरकारले गरेको हत्या होईन?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।