काठमाडौं- विद्यालय जाने उमेरमा किताबको झोला र इँटाको डोकोमध्ये एउटा बोक्नुपर्यो भने तपाईं कुन रोज्नुहुन्छ? सायदै त्यो बेला भन्नुहुन्छ, ‘इँटाको डोको बोक्न सक्दिनँ। किताबकाे झोला बोक्छु।’
यदि इँटाको डोको नै बोक्नुपर्ने बाध्यता आइलाग्यो भने ? रुनुहुन्छ? चिच्याउनुहुन्छ? वा डोको पल्टाउनुहुन्छ? कि सकिनसकी बोक्न राजी हुनुहुन्छ?
डोको बोक्नैपर्ने बाध्यताले थिचिएका सिन्धुलीका दीपक तामाङले चाहिँ सकिनसकी इँटाको डोको नै रोजिदिए। नसके पनि उनले भनिदिए– म इँटाको डोको बोक्न सक्छु। मलाई काम दिनुस्।
उनलाई नसके पनि सक्नु थियो। जसरी हुन्छ बाँच्नु थियो। १८ वर्षीय दीपक तामाङ भन्छन्‚ ‘हामी गरिबले किताबको झोला रोजेर नहुने रहेछ। एक पटक पढ्छु भनेर सोचेको पनि हो। तर पढेर केही भएन घरको दुःख सम्झिएँ, अनि म ज्याला मजदूरी गर्न थालेँ।’
तर सुरुसुरुमा त उनलाई त्यो भारी बोक्न पनि कसले पत्याउनु? कामको खोजीमा जहाँ पुग्थे रोजगारदाताले भन्थे‚ ‘तिमी काम गर्न सक्दैनौ जाऊ।’ यसो हुँदा दीपक कति ठाउँबाट रित्तै फर्किनु पर्यो। गर्न सक्छु भन्दा पनि काम पाएनन्। यसको मतलब उनको भोकलाई कसैले पत्याएनन्।
‘गरिब हुनु त्यसमाथि सानो हुनु साह्रै गाह्रो रहेछ,’ उनी भन्छन्, ‘काम गरेर खान्छु भन्दा पनि नपाइने।’
हुन त रोजगारदाताहरुले उनलाई सानो देखेर नै काम गर्न सक्दैनौ भनेर फर्काएका हुन्। तर भोक, गरिबी र अभावले थिचेपछि सानो छु। काम गर्न सक्दिनँ भनेर कहाँ सुख पाउनु?
‘मलाई पनि काम खोज्न जाने रहर कहाँ थियो र? म पनि अरु जस्तै पढ्न, खेल्न, साथीहरुसँग डुल्न जाने बेला थियो, तर हैसियत कहाँ थियो,’ बोल्दाबोल्दै उनका ओठ काँपे।
झट्ट हेर्दा बल्ल १४/१५ वर्ष टेकेको किशोरजस्तै देखिने उनी उमेरले १८ वर्ष पुगेँ भन्छन्।
‘मलाई सबैले सानै देखिन्छस् भन्नुहुन्छ। तर म १८ वर्षको भएँ,’ उनले भने।
१६ वर्षको उमेरदेखि मात्रै उनलाई ठेकेदारहरुले ज्यामी काम पत्याएका थिए। पत्याएको गरिब देखेर थिएन। न त ठूलो देखेर थियो। सानो भए पनि काम गर्न सक्छु भनेर दीपकले काम गरेरै पत्याउने बनाइदिएका थिए।
‘मैलेजस्तो गाह्रो काम भए पनि, जसरी भए पनि गर्छु भनेको थिएँ। सक्ने जति गरेँ पनि। गाउँमा कहिल्यै नदेखेको/नगरेको ढलको काम गरेँ,’ बेल्चाले बालुवा उघाउँदै दीपकले सुनाए।
कहिले ढलभित्र पसेर पनि सफा गर्नुपर्छ। कहिले इँटा, बालुवा बोक्नुपर्छ। कहिले खन्नुपर्छ। यो काम गरेबापत दीपकले दैनिक १ हजार रुपैयाँ कमाइ गर्छन्। खाजा, खाना सबै सोही रकमबाट खानुपर्छ। गाडीभाडा र कोठाको अन्य खर्च गर्दा उनले कमाएको रकम ठिकै हुन्छ। फेरि ज्यामी काम सधैंजसो पनि कहाँ पाइन्छ र?
‘काँडाघारीबाट आउँदा गाडी भाडा एकचोटीमा ३५ रुपैयाँ भन्छ। दिनको ७० रुपैयाँ त गाडी भाडा नै लाग्छ। बजारमा जे सामानको मूल्य पनि आकाशिएको छ। दिनभरि काम गर्दा पनि पैसा बचाउन सक्ने अवस्था छैन,’ अनामनगरमा ढलको काम गर्दै गरेको अवस्थामा भेटिएका दीपक सुनाउँछन्।
धन्न उनी गाउँलेहरूसँग मिलेर एकै ठाउँमा बस्छन् र भाडा सबै मिलेर तिर्दा केही राहत हुन्छ। नत्र भने त ज्यामी काम गरेर आमाबुबालाई पैसा पठाउने सपना देखेका दीपकलाई आफ्नै पेट पाल्न पनि मुस्किल पर्छ।
दीपकले ज्यामी बाहेक अरु केही सजिलो काम पाइहाल्छ कि भनेर नखोजेका पनि होइनन्। तर काठमाडौंमा काम पाउनु र पश्चिमबाट घाम उदाउनु उनका लागि उस्ताउस्तै भयो। उनीसँग ज्यामी काम गर्न सक्ने शक्ति बाहेक अन्य कामको सीप छैन। न त सीप सिक्ने पैसा छ। धेरै पढेका पनि छैनन्। गाउँकै सामुदायिक विद्यालयमा कक्षा ६ मा पढ्दापढ्दै छाडेर लामा पढ्न भनेर भारत हानिएका दीपक ३ वर्षपछि फर्किएका थिए। न त उनी लामा बने, न उनको अध्ययन अगाडि बढ्यो। बरु लामा पढ्दापढ्दै उनले गाउँका सोझा आमाबुबा सम्झे। विदेश गएको दाजु सम्झे।
‘खास मलाई स्कुल पढ्दापढ्दै लामा पढ्न मन लाग्यो। लामा पढ्दापढ्दै लाग्यो– म त गरिब परिवारको मान्छे। आमाबुबा पनि पाल्नुपर्छ,’ उनले भने, ‘लामा पढेर कसरी पाल्ने त आमाबुबा? विदेश गएको दाइले पनि पैसा कमाउन सक्नु भएको छैन। अब मेरो परिवारको अवस्था के होला भन्ने सोचेँ। त्यसपछि फर्किएँ।’
मजदूरी गरेर पैसा बचाउन नसकेकाले आमाबुबालाई पैसा पठाउने सपना पनि पुरा हुन सकेको छैन। अहिले त उनलाई खानलाई नै धौ–धौ पो छ।
‘यो कोरोनापछि काम पनि खासै राम्रो छैन। कति दिन त बसिबसि खानुपर्यो। महंगी बढेको छ। निकै गाह्रो छ। घर व्यवहार कसरी चलाउने भनेर पिर परेको छ,’ परिवारको आडमा रहेर आफ्नो भविष्यको सपना बुन्ने उमेरमा दीपक परिवारको चिन्तामा छन्।
बिरामी भएँ भनेर आराम नगरी काममा खटेका छन्। ज्वरो आउँदा पनि काम नगरी बसेका छैनन्। काम मिलेसम्म ज्वरो आएको बेलामा सिटामोल खाएर खट्दा समेत कमाइले छाक टार्नै ठिक्क छ।
‘यसरी खट्दा पनि खान र लगाउनै मुस्किल हुँदा अर्को उपाय के गर्ने ? गरिब त सधैं गरिब नै भइने रहेछ है? हामीलाई कसले अवसर दिन्छ र जीवन सहज हुन्छ ? उनले प्रश्नैप्रश्न थुपारिदिए। उनको प्रश्नको उत्तर कसले दिने?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।