वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा धाँधली गर्ने सम्भावित उद्देश्यले रूसका गुप्तचर निकायका व्यक्तिसँग गोप्य भेटघाट गरेको आरोप लागेका व्यक्तिहरूमाथिको संघीय छानबिन अन्त्य गरेको घोषणा गरेका छन्।
राष्ट्रपति ट्रम्पले अनुसन्धानबाट उन्मुक्ति दिएका व्यक्तिहरुमा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नरका बुबा र ट्रम्पका अति निकट दुई व्यक्ति रहेका छन्। अमेरिकी सङ्घीय छानबिनका क्रममा उनीहरूको संलग्नता देखिएको थियो।
राष्ट्रपति ट्रम्पको कार्यकाल अन्त्य हुनै लाग्दा एकपछि अर्को उन्मुक्ति गरिएको भन्दै ट्रम्पको चर्को आलोचना भइरहेको छ।
उन्मुक्ति दिइएका व्यक्तिहरुमा जारेड कुश्नरका बुबा चाल्र्स कुश्नर, ट्रम्पका पूर्व चुनावी व्यवस्थापक पल मानाफोर्ट र लामो समयदेखिका ट्रम्पका सल्लाहकार रोजर स्टोन रहेका छन्।
उनीहरूसहित हालसम्म २६ जनालाई ट्रम्पले उन्मुक्ति दिइसकेका छन्।
चार वर्षअघि अमेरिकी राष्ट्रपतिको चुनावमा ट्रम्पलाई जिताउन रसियालीहरुसँग मिलेमतो गरेको आरोप लागेका मानाफोर्टलाई सबै आरोपबाट मुक्त गरेको विरोधमा ट्रम्पविरुद्ध चौतर्फी आलोचना भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।