फाइल तस्बिर
काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले भ्रष्टाचारी खोज्न बालुवाटार र सिंह दरबार गए पुग्ने बताएका छन्। सरकार विरुद्धको प्रदर्शनका क्रममा कैलाली पुगेका उनले प्रधानमन्त्रीको संरक्षणमै भ्रष्टाचारका काण्डहरु भइरहेको आरोप पनि लगाए।
'प्रधानमन्त्रीको जानकारी, सहभागिता बिना र प्रोत्साहन बिना एउटा पनि भ्रष्टाचारको काण्ड भएको छैन', थापाले भने, 'भ्रष्टाचारी खोज्न कहीँ जानुपर्दैन। बालुवाटार गए पुग्छ। सिंहदरबार गए पुग्छ।'
उनले अनियमिताको आरोप लागेका केही मन्त्रीका बारेमा पनि चर्चा गरे। 'बालुवाटारको जग्गा छोराको नाममा खर्लप्प खाने अर्थमन्त्री, उसलाई सिफारिस गर्ने मान्छेचाहिँ जेलमा छन्। सिफारिस गर्ने जेलमा जाँदै गर्दा त्यसको तर खानेचाहिँ अर्थमन्त्रीको कुर्सीमा विराजमान हुन्छ', उनले भने।
त्यस्तै, निर्मला पन्तदेखि निर्जला चौधरीसम्मको बलात्कार र हत्याकाण्डको संरक्षण गर्ने मान्छे गृहमन्त्री भएको उनले आरोप लगाए। 'अनि, स्वास्थ्य सामग्रीमा कमिशन खानेचाहिँ प्रधानमन्त्रीको सबैभन्दा ठूलो विश्वासपात्र भएको सरकार छ', उनले भने।
थापाले यो सबै कुरा प्रधानमन्त्रीको ईच्छा बमोजिम चलेको छ भन्दा गलत नहुने बताए।
थापाले सडकमा आएको कांग्रेस अब घर फर्केन नजाने बताए। उनले कोरोना महामारीका बीच सडकमा आउनुपर्दा खुसी नलागेको बताए।
'सडकमा आउन बाध्य भएका छौं। सरकार संसदबाट भाग्यो। बालुवाटारको दुलोभित्र लुकेको सरकार र बढारिएको सरकारलाई ललर्कानका लागि कांग्रेस सडकमा आएको छ। सडकमा आएको कांग्रेस अब घर फर्केर जाँदैन', उनले भने।
उनले विगतमा सरकारले आफू कोरोना महामाव्याधीको नियन्त्रणमा लागेको र नागरिकलाई घरमै बसिदिन गरेको आग्रहलाई पनि आफूहरुले मानेको बताए। 'नजानेर कांग्रेस सडकमा नआएको होइन। आउन नसकेर होइन। सरकारलाई मद्दत गर्न र आफ्नो जिम्मेवारी बुझेर नआएको हो', उनले भने।
सरकारप्रति जनताको अपेक्षा ठूलो भए पनि पूरा नभएको थापाको भनाइ छ।
थापाले नेकपालाई पार्टी नै नभएको बताए। 'यो एउटा लोभीपापीहरुको मञ्च मात्रै हो', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।