काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारले किसानलाई उत्पादनमा केन्द्रित गर्नुपर्ने बेला माइतीघर आउन बाध्य पारेको बताएका छन्। तराईका उखु किसानले बक्यौता नपाएको विषयमा सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्दै शर्माले तत्काल उपलब्ध गराउन सरकारसँग मागसमेत गरेका छन्।
‘सरकारले किसानलाई उत्पादनमा केन्द्रित गर्नुपर्ने बेला माइतीघर आउन बाध्य पार्ने काम किमार्थ राम्रो होइन‚’ शर्माले लेखेका छन्‚ ‘तत्काल उखुको मूल्य किसानले पाउने व्यवस्था गर्न म सरकारलाई आग्रह गर्दछु।’ किसानलाई आन्दोलनमा नभई खेतमा पठाउने वातावरण बनाउनुपर्ने शर्माले बताए।
उखु मिलले ९० करोडभन्दा धेरै रकम किसानलाई उपलब्ध नगराएपछि उनीहरू दबाब दिनका लागि काठमाडौं आएका हुन्। अघिल्लो आइतबारदेखि उखु किसानले बक्यौता रकम पाउनुपर्ने माग राख्दै दैनिक माइतिघर मण्डलामा धर्ना दिएका छन्। उनीहरूले आफूले पाउनुपर्ने बक्यौता रकम नपाएसम्म काठमाडौंबाट घर नफर्किने अठोट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।