संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघीय आपत्कालीन कोषका लागि ५० भन्दा बढी दातृ निकायले ३७ करोड अमेरिकी डलरभन्दा बढी रकम उपलब्ध गराउन प्रतिबद्धता जनाएका छन्। राष्ट्रसंघका अनुसार यो प्रतिबद्धता रकम आगामी वर्ष सन् २०२१ का लागि हो।
सन् २०२० मा व्यक्त प्रतिबद्धताभन्दा सन् २०२१ का लागि बढी रकम उपलब्ध गराउन दातृ निकायहरु सहमत भएका छन्।
राष्ट्रसंघीय कोषले सार्वजनिक गरेको विज्ञप्तिमा यस वर्ष कूल ६२ करोड डलर कोषलाई प्राप्त भएको जनाइएको छ। कोषले १ अर्ब डलर सहायता जुटाउने लक्ष्य राखेको छ।
राष्ट्रसंघीय बजेट प्रतिबद्धता कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आपत्कालीन परिस्थितिमा तत्काल सेवा पुर्याउन यस्तो कोष अति प्रभावकारी हुने गरेको बताए।
सन् २००५ मा स्थापना भएको कोषले हालसम्म झण्डै सात अर्ब डलर तत्कालका मानवीय सेवामा खर्च गरिसकेको छ। यस कोषबाट विश्वका १०० भन्दा बढी देशका लाखौं मानिस लाभान्वित भएको कोषले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।