काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बैठकमा आएर प्रष्टीकरण दिनुपर्ने बताएका छन्। बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नभएपछि नेपाल लाइभसँग कुराकानी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
‘अहिले १९ पृष्ठ र ३८ पृष्ठ प्रतिवेदन प्रधानमन्त्रीसँग सम्बन्धित छन्। अरु तीन/तीन वटा पत्र पनि उहाँसँग सम्बन्धित छन्,’ खनालले भने, ‘सबै विषय प्रधानमन्त्रीसँग सम्बन्धित भएकाले उहाँले आएर जवाफ दिनुपर्छ त्यस विषयमा छलफल हुनुपर्छ।’
ओलीलाई बुधबारको सचिवालय बैठकमा धेरै अरु नेताहरुले बेरसम्म कुरेपनि अनुपस्थित भएका थिए। ‘आजको बैठकमा केपी कमरेडलाई धेरै बेरसम्म कुर्यौँ। उहाँ आउनु भएन,’ उनले भने, ‘उहाँलाई प्रष्टीकरणका लागि तीन दिनको समय दिएका छौँ। त्यति बेलासम्म बैठकमा जवाफ दिनुहुन्छ भन्ने विश्वास छ।’
पार्टी कमिटीमा उठेका विषयमा ओलीले जवाफ दिनुपर्ने खनालले बताए। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठक २० गते सचिवालय र २१ गते स्थायी कमिटी बैठक तोेकेको छ।
ओलीले मंगलबारको बैठक समेत बस्न रुचि देखाएका थिएनन्। तर प्रचण्डसहित बहुमत सचिवालय सदस्यले बैठक बस्न आग्रह गरेपछि बसेको थियो। बुधबारको बैठकमा प्रचण्डसहित वरिष्ठ नेता खनालसहित, माधवकुमार नेपाल, उपाधयक्ष वामदेव गौतम, सचिवालय सदस्य ईश्वर पोखरेल,रामबहादुर थापा, प्रवक्ता नारायणकाजी श्रेष्ठ महासचिव विष्णु पौडल सहभागी थिए। बैठकमा अध्यक्ष ओली मात्रै अनुपस्थित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।