काठमाडौं–बिमा समितिले पुरानो बाली तथा पशुपंक्षी बिमा निर्देशन २०६९ लाई समयसापेक्ष परिमार्जन गरी नयाँ ‘कृषि तथा पशुपंक्षी बिमा निर्देशिका २०७७’ जारी गरेको छ। निर्जीवन बिमा व्यवसाय गर्ने बिमा कम्पनीहरुले अबदेखि बाली तथा पशुपंक्षीको बिमा गर्दा यही निर्देशिका अनुसार काम गर्नुपर्ने बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।
निर्देशिकाअनुसार बिमा कम्पनीले वार्षिक रुपमा बिक्री गर्ने कूल बिमालेखमध्ये कम्तिमा ५ प्रतिशत कृषि तथा पशुपंक्षीको हुनु पर्नेछ। बिमालेखको अन्तिम अवधि उक्त बिमालेख सकिएको दिनको मध्यरात १२ बजेसम्म कायम रहने निर्देशिकामा उल्लेख छ।
बीमितले आफ्नो सम्पत्तिको क्षतिको प्रमाण नष्ट नभई बिमा कम्पनीलाई टेलिफोन, फ्याक्स, एसएमएस, लिखितपत्रमार्फत् जानकारी गराउनु पर्नेछ। कृषि तथा पशुपंक्षी बिमा क्षति मूल्यांकनकर्ताले बिमा गरिएको वस्तुको क्षति स्पष्ट देखिने गरी विभिन्न कोणबाट आफैंले खिचेको कम्तिमा ५ वटा फोटो र कम्तिमा तीन मिनेटको भिडियो क्लिप क्षति मूल्यांकन प्रतिवेदनसँगै संलग्न गरेको हुनुपर्नेछ।
क्षति मूल्यांकनकर्ताले प्रतिवेदन पेश गरेको ३५ दिन बीमकले दायित्व एकिन ठहर गरी बीमितलाई दाबी भुक्तानी गर्नु पर्नेछ। साथै बीमितले दाबी बापत रकम नपाउने रहेछ भने कारणसहित लिखित जानकारी दिनु पर्ने निर्देशिकामा व्यवस्था गरिएको छ। सरकारले महाविपत्ति घोषणा गरेको अवधिका लागि यो समय अनिवार्य नहुने समितिले जनाएको छ। त्यस्तै काबु बाहिरको परिस्थितिमा बिमा समितिलाई जानकारी गराएर समय तलमाथि हुन सक्ने निर्देशिकामा व्यवस्था छ।
नेपाल सरकारले बजेटमार्फत् नै कृषि तथा पशुपंक्षी बिमा गर्ने कृषकलाई प्रोत्साहन गर्न प्रिमियमको ७५ प्रतिशत रकम अनुदानको रुपमा उपलब्ध गराउँदै आएको छ। यससँगै बिमा समितिले सम्पूर्ण बिमा कम्पनीहरुलाई सम्पूर्ण स्थानीय निकायमा पुग्न निर्देशन दिएको छ।
बिमा समितिले निर्देशिकामार्फत् नै कम्पनीलाई हिमाल, पहाड तथा तराइका जिल्लाहरु तोकिदिएको छ। समितिले तोकिदिएका जिल्लामा बिमा कम्पनीहरुले अनिवार्य बिमा कार्यक्रम लागु गर्नु पर्नेछ। दुर्गम क्षेत्रमा बिमा कम्पनीहरु नपुग्ने भएपछि समितिले भाग लगाएरै कम्पनीहरुलाई ती जिल्लामा पुग्न निर्देशन दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।