काठमाडौं- वाणिज्य बैंकको बुलले नेप्से सूचक एकै दिन ७५ दशमलव ०२ अंकले सुधार भएको छ। वाणिज्य बैंकको सूचकमा आएको सुधारले आइतबार नेप्से सूचक, कारोबार रकम र बजार पुँजीकरण तीनवटैमा नयाँ रेकर्ड बनेको छ। बिहीबार चार वर्षपछि नेप्सेले इतिहासकै नयाँ रेकर्ड बनाएको छ। आइतबारको सुधारपछि बिहीबारको रेकर्डलाई पनि उछिनेको हो।
बीमा, होटल, उत्पादन तथा प्रसोधन, व्यापार र जलविद्युतका कम्पनीहरुको सुधारपछि बिहीबारदेखि वाणिज्य बैंक तथा विकास बैंकहरुको सेयर मूल्यमा पनि अत्यधिक सुधार भएको छ। आइतबार वाणिज्य बैंकको सूचक सबैभन्दा धेरै ७ दशमलव ८१ अंकले सुधार भएको छ।
सूचिकृत २६ वटै वाणिज्य बैंकको मूल्य बढेको छ। सेञ्चुरी कमर्सियल बैंक, ग्रिन डेभलपमेन्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंकको सेयर मूल्य अधिकतम बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ।
आइतबार नेप्से सूचक ३ दशमलब ९६ प्रतिशतले सुधार भएर १९६८ दशमलब २७ अंकको नयाँ रेकर्ड कायम भएको छ। सूचकसँगै कारोबार रकममा पनि नयाँ रेकर्ड बनेको छ। आइतबार इतिहासकै सर्वाधिक धेरै ९ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको हो।
गएका दिनमा अत्यधिक सुधार भएका कम्पनी बिक्री गरेर लगानीकर्ताले वाणिज्य बैंकहरुको सेयर खरिद गरेका छन्। व्यापार, होटल, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधनअन्तर्गतका कम्पनीको नाफा बुक गर्दै वाणिज्य तथा विकास बैंकको पोर्टफेलियो सिफ्ट भएका हुन्। लगानीकर्ताहरुले पोर्टफेलियो परिवर्तन गर्दै कारोबार बढाउँदा कारोबार रकम उच्च भएको हो।
यसपटक पहिलो त्रैमासिक अवधिमा धेरै नाफा आर्जन गरेका वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको बढी आकर्षण छ। बजार सुधार हुन थालेसँगै लगानीकर्ताको ध्यान सेयर बजारमा केन्द्रित भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय सेयर कर्जा तथा ओभर ड्राफ्टमार्फत् दोस्रो बजारमा अत्यधिक लगानी बढेको छ।
बजार सुधार हुने मनोविज्ञानका कारण लगानीकर्ताहरुले नाफा बुक सँगै अर्को कम्पनीको सेयर किन्ने क्रम बढिरहेको छ। गएका दिनमा अत्यधिक मात्रामा बढेका शिवम सिमेन्ट विशाल बजार साल्ट ट्रेडिङ होटलका शेयर बिक्री गरेर राम्रो नाफा आर्जन गरेका वाणिज्य बैंकको सेयर किन्ने क्रम बढेको देखिन्छ।
नेपालको सेयर बजारमा बजार घट्ने थालेपछि हत्तपत्त सेयर बिक्री गरेर बाहिरिन खोज्ने र सुधार हुन थालेपछि आफ्नो क्षमताभन्दा बढी सेयर किन्ने प्रवृत्ति धेरै छ। यसले बजारलाई स्थायित्वतर्फ लैजाँदैन। अहिले बढिरहेको समयमा बढाबढमै लगानीकर्ताले क्षमताभन्दा बढी सेयर खरिद गरिहेका छन्। भोलिका दिनमा केही करेक्सनमात्रै हुन खोज्यो भने घाटामै भए पनि सेयर बिक्री गर्ने लगानीकर्ता हाबी हुन्छन्। यसले गर्दा दोस्रो बजारमा अत्यधिक जोखिम बढ्ने गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।