काठमाडौं–न्याय परिषदको सदस्यमा सिफारिस भएका वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको छ।
शुक्रबार बसेको समितिको बैठकमा श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
नेपाल बार एसोसिएसनले न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता श्रेष्ठको नाम सिफारिस गरेको थियो । सुनुवाइ समितिले अनुमोदन गरेसँगै श्रेष्ठ ४ वर्षका लागि परिषद्को सदस्य हुने भएका छन् ।
श्रेष्ठ यसअघि पनि न्याय परिषद सदस्य भइसकेका व्यक्ति हुन् । नयाँ संविधान बनेपछि उनी कार्यकाल पूरा नगर्दै पदमुक्त बनेका थिए। पछि बारले उनको नाम सिफारिस नगरेपछि पदमुक्त भएका थिए।
बारबाट सिफारिस भएका रामप्रसाद सिटौलाले गत असोजमा अवकाश पाएपछि बारका तर्फबाट प्रतिनिधित्व हुने सदस्यको पद रिक्त थियो। श्रेष्ठले समितिमा हाल कायम रहेको न्याय परिषदको संरचना फेर्नुपर्ने तर्क राखेका थिए। स्वतन्त्र न्यायपालिकामा नियुक्त हुने न्यायाधीशमा पार्टीका मानिसहरु पर्न थालेको प्रति संकेत गर्दै उनले न्यायपरिषदको संरचनामा कार्यकारी प्रतिनिधित्व धेरै भएको टिप्पणी गरेका थिए। परिषद स्वतन्त्र भएकाले यसलाई सोही अनुसारको संरचना बनाउनुपर्ने उनको तर्क थियो । समितिले उनको स्वीकृति भएको पत्र आजै परिषदलाई पठाउने तयारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सपथ गराएपछि उनले जिम्मेवारी सम्हाल्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।