विराटनगर- सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कुनै पनि हालतमा वर्तमान सरकार परिवर्तन नहुने बताएका छन्। विराटनगरस्थित सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाई कार्यालयले आयोजना गरेको कार्यक्रममा संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले नेपाली जनताले ५ वर्षसम्म सरकार चलाउने म्यान्डेड दिएकाले आफ्नो अवधि पूरा नभएसम्म सरकार परिवर्तन नहुने बताएका हुन्।
'जनताले ५ वर्षे म्यान्डेड दिएका छन्,' मन्त्री श्रेष्ठले भने, 'प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहने यो सरकारलाई संसारको कुनै पनि ताकतले पनि गिराउन सक्दैन। यो नेपाली जनताको माया र शक्तिमा अडिएको सरकार हो। मुलुकको राजनिति स्थायित्व, विकास र समृद्धिका लागि आफ्नो पार्टीलाई दुई तिहाई नजिकको जनताको समर्थन रहेकाले प्रधानमंत्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार पूर्ण अवधिसम्म चल्छ।'
नेपाली जनताको जनमतको शक्तिबाट बनेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यकालसहित पूरा पाँच वर्षे अवधि पूरा गरेर सरकारले इतिहास रच्ने दाबी उनको छ।
नेपाल कम्युनिस्ट पार्टी ठूलो पार्टी भएकाले पार्टीभित्र केही असहमति हुनु स्वाभाविकै भएकाले अहिले देखिएको विवादलाई कुशल व्यवस्थापन गर्न पार्टी नेतृत्व सक्षम रहेको मन्त्री श्रेष्ठको भनाइ छ।
'नेकपा पार्टी एउटा ठूलो घर जस्तो हो। ठूलो घरको ठूलै चाला हुन्छ। ठूलठूलो समुद्रमा आँधी आउँछ, छाल आउँछ। यसलाई के के न भएको नठान्नु होला,' श्रेष्ठले भने, 'पानी अलिकति चलेकै हो। समुद्र केही समयपछि शान्त हुन्छ।'
जिल्लागत तहमा भइरहेका विकास निमार्ण र कर्मचारीहरुले गरेको कर्तक्य बोधबाट आफू उत्साहित रहेको पनि मन्त्री श्रेष्ठले बताए। एकजनाले ४ वटा जिल्लासम्म हेर्नुपर्ने बाध्यताको समाधान गर्न मन्त्रालय गम्भीर रहेको समेत उनको भनाइ छ। सो अवसरमा सहरी विकास कार्यालय मोरङबाट संचालित परियोजनाहरुको अवस्था र प्रगति विवरणका विषयमा मन्त्री श्रेष्ठले चासो राखेका थिए। झापाबाट मोरङ आएका मन्त्री श्रेष्ठ बुधबार सुनसरी जाने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।