काठमाडौं– तराई–मधेसका जिल्लामा राजसंस्थाको पक्षमा प्रदर्शन क्रमशः बढ्दै गएको छ। राजावादीहरुको प्रदर्शन मुख्यतः मधेसका जिल्लामा हुने गरेको देखिन्छ। नेपाल राष्ट्रवादी समूहको नेतृत्वमा गणतन्त्रको विपक्ष र राजसंस्थाको पक्षमा जुलुस निस्किने क्रम बढेको छ।
बुधबार जनकपुरमा राजावादीहरुको प्रदर्शन भएको छ। दसैंपछि मात्रै जनकपुरमा पूर्वराजाको पक्षमा चारपटक जुलुस निस्किएको बताइएको छ। बुधबार निस्किएको जुलुसमा दुई सयभन्दा बढी सहभागी भएको बताइएको छ। जनकचोकमा पुगेर कोण सभा गरी प्रदर्शन सकिएको थियो। प्रदर्शनकारीले २०४७ सालको संविधानको पक्षमा नारा लगाएका थिए। मोटरसाइकल र्यालीमा वर्तमान व्यवस्थाविरुद्ध नाराबाजी गरिएको थियो।
पछिल्लो समय प्रदेश २ का धनुषा, सिराहा, सप्तरी, रौतहट, पर्सा लगायतका जिल्लामा राजावादी शक्तिको प्रर्दशन बाक्लिएको छ।
कार्तिक २७ मा राजावादी संस्था नेपाल विद्वत परिषद्को नेतृत्वमा विराटनगरमा राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रर्दशन गरिएको थियो।
राजावादीकै संस्था वीर गोर्खाली अभियानले बुटवलमा कार्तिक १७ मा मोटरसाइकल र्याली निकालेको थियो। राजसंस्थाको पुनर्वहालीको माग गर्दै प्रर्दशनमा उत्रेकाहरुले पूर्व राजा/रानी ज्ञानेन्द्र र कोमल शाहको तस्बिर अंकित टिसर्ट लगाउने गरेका छन्।
गणतन्त्रपछि बुटबलमा निस्किएको राजावादीको प्रर्दशन अहिलेसम्मकै बृहत भएको बताइएको छ। राजावादीको प्रदर्शन तराई मधेश हुँदै पहाडी जिल्लामा पनि सरेको छ। राजसंस्थाको पुनर्वहालीको माग गर्दै बुधबार पोखरामा पनि प्रदर्शन गरिएको छ। पोखराको प्रदर्शन गण्डकी प्रदेश स्तरीय भएको बताइएको छ।
तराई–मधेसमा हुने राजसंस्था समर्थित प्रर्दशनमा शिवसेना नेपालले प्रमुख भूमिका खेलेको छ। नेपालको औपचारिक नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को स्थानमा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णयसँगै राजावादी शक्तिको प्रर्दशन बढेको सांसदहरुको आकलन छ। कार्तिक २४ को राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुले बुटबलमा राजावादीको प्रदर्शन हुनुमा सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउनुलाई कारण मानेका थिए। सांसदहरुको जवाफ दिने क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाम र शासन पद्धतिसँग साइनो नभएको प्रष्टीकरण दिएका थिए। बुटवलमा निस्केको राजावादीको जुलुस र सरकारको निर्णयलाई तुलना गर्न नमिल्ने मन्त्री ज्ञवालीको जिकिर थियो।
२/४ वटा जुलुस निस्किँदैमा, पूर्वराजाले गतिविधि गर्दैमा गणतन्त्र कमजोर नहुने ज्ञवालीको तर्क थियो। कात्तिक २४ मा मन्त्री ज्ञवालीले भनेका थिए, ‘पूर्वराजाको पक्षमा २/४ वटा जुलुस निस्किँदैमा हाम्रो गणतन्त्रमा असर पर्दैन। हाम्रो गणतन्त्र जग यति कमजोर छैन कि यस्ता सानातिना घटनाहरुले असर गर्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।