पहिलो संविधानसभाले संविधान बनाउन सकेन। दोस्रो संविधानसभाको चुनाव भयो। हामी संविधानसभामा आउन पायौं। यसको मुख्य काम नै संविधान बनाउनु थियो। त्यो काम सफलतापूर्वक सम्पन्न भयो। त्यसैले सभासद् वा सांसको रुपमा गरेको सबैभन्दा मुख्य काम नै यही हो। साथसाथै, दोस्रो उपलब्धि भनेको त्यो संविधानलाई कार्यान्वयन गर्ने प्रक्रिया सुरु हुनु हो। हामीले ६ वटा प्रदेशको स्थानीय तहको चुनाव गरिसकेका छौं। प्रदेश नम्बर–२ मा चुनाव हुँदैछ।
यो रुपान्तरित संसदको आयु भनेको माघ ७ गतेसम्म हो। सरकारले प्रदेश र केन्द्रको पनि चुनाव घोषणा गरिसकेको छ। यस परिस्थितिमा आवश्यक कानुनहरु बनाएर समयमै निर्वाचन गरेपछि २०७० सालमा गठन भएको संविधानसभाको औचित्य पूरा हुन्छ। यति काम गरेर हामी नयाँ संसद्लाई स्वागत गर्न आतुर छौं।
यसबीचमा मैले आफ्नो क्षेत्रमा गरेको काम भनेको बाटो हो। मुस्ताङ हिमालपारिको जिल्ला। दुर्गम जिल्ला भनेर पहिलेदेखि नै चिनिएको हो। तर, त्यो धार्मिक र प्राकृतिक पर्यटकीय क्षेत्र पनि हो। त्यसैले यो जिल्लामा सबैभन्दा महत्वपूर्ण भनेको बाटो हो। विज्ञ, विशेषज्ञ र कतिपय मानिसले बाटो लैजादा त्यहाँको सौन्दर्य विनाश हुन्छ भनेर विरोध गरेका थिए। तर, बाटो लैजानुपर्छ भनेर मैले नै पहल गरेको हुँ।
त्यसैले जोमसोमदेखि कोरालासम्मको बाटो बन्दैछ। त्यो चीनसँग जोडिने बाटो हो। तीन अर्ब ६० करोड रुपैयाँ बजेट छुट्याउन मैले भूमिका खेलेको छु। अहिले त्यहाँ पाँच ‘फेज’मा निकै द्रूत गतिमा काम भइरहेको छ। सबैभन्दा महत्वपूर्ण कामको रुपमा म त्यसलाई लिन्छु।
त्यहाँ अस्थायी बाटो पहिलेदेखि नै थियो। ०५७ सालदेखि नै मुस्ताङका १६ वटा गाविसमा जाने विभिन्न सानातिना बजेट जम्मा पारेर त्यहाँ तीन फेजमा बाटो बनाएका थियौं। अहिलेचाहिँ दुई लेनको फराकिलो बाटो बनाउने र स्तरोन्नति गर्ने काम भइरहेको छ।
अर्को काम भनेको मुस्ताङ कृषि क्याम्पसको स्थापना हो। जुन खासाङ गाउँपालिकाको कोभाङ भन्ने ठाउँमा स्थापना भएको छ। ९देखि १२ कक्षासम्मको पढाइ भइरहेको छ। त्यहाँ मुस्ताङकै चाहिँ थोरै विद्यार्थीहरुले अध्ययन गरिरहेका छन्। तर, म्याग्दी, पर्वत र बागलुङतिरका विद्यार्थीहरु अध्ययन गरिरहेका छन्। आवासीय सुविधा पनि भएकाले अन्य जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन्। जे होस्, हाल कृषि अध्ययनरत विद्यार्थी ६० देखि ६५ जना छन्।
मुस्ताङ स्याउको लागि चर्चित छ। त्यहाँ ओखर र ‘अफ सिजन’ तरकारी पनि हुन्छ। त्यहाँ अहिले पनि गाँजर र बन्दा राम्रोसँग उत्पादन भइरहेको छ। कृषि विद्यालयको प्रभावले त्यहाँ तरकारी खेती नै राम्रोसँग भयो र निर्माणाधीन बाटो पनि सहज भइदियो भने काठमाडौंमा अहिले जसरी महँगो तरकारी खानुपर्ने थिएन। त्यही उद्देश्यले नै कृषि विद्यालयको स्थापना गरिएको हो।
खानेपानी, स्कुल लगायतका अन्य पूर्वाधारमा अन्य जिल्लाको हेरी मुस्ताङ नराम्रो छैन। जनसंख्या कम छ, विद्यार्थी कम छन्, विद्यार्थीभन्दा शिक्षकको संख्या बढी छ। यसलाई समायोजन गरेर आवासीय सेवा सहितको गुणस्तरीय शिक्षा दिन सकिन्छ। सकिन्छ भने, प्रत्येक गाउँपलिकामा एउटा आवासीय विद्यालय, नसक्दा तल्लो र माथिल्लो मुस्ताङमा पनि बनाउन सकिन्छ। मैले यसबारे पटकपटक कुरा उठाइरहेको छु।
संविधानसभा र संसदको झन्डै साढे तीनवर्षे अवधिमा सबैभन्दा खुसी लागेको क्षण संविधान घोषणा हुँदाको समय हो। हुन्छ कि हुन्न भन्ने आशंकाबीच स्थानीय तहको निर्वाचन सम्पन्न हुँदैछ। केन्द्र र प्रदेशको चुनाव पनि सहजै हुने माहोल बन्दैछ। यसले पनि खुसी दिलाएको छ। अनि, स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिता र प्रमुख र उपप्रमुखमा एक महिला प्रतिनिधित्व हुने, दलित महिला अनिवार्य हुने व्यवस्था गराउन पाउँदा निकै खुसी लागेको छ। हाम्रो कार्यकालमा त्यति गर्न सकेकोमा, जग स्थापित गर्न सकेकोमा खुसी लागेको छ।
सांसदको टाउको गन्ने खेलले साह्रै दिक्क लगाउँछ। नौ–नौ महिनामा सरकार फेर्ने परिस्थितिले असन्तुष्टि महसुस गराउँछ। कहिलेकाहीँ संसदमा उपस्थिति जनाइरहँदा यस्तो लाग्छ, कागजमा लोकतन्त्र, गणतन्त्र, संघीयता जेजे कुरा लेखे पनि हाम्रो काम गर्ने तरिकामा परिवर्तन आएको छैन। यस्तो कुराले कताकता खिन्न तुल्याउँछ।
अहिले पनि सांसदलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन। हुन त मैले भन्ने गरेको छु, एउटा आलुको बोरामा एउटा आलु बिग्रियो भन्दैमा सबै बिग्रिसकेको हुँदैन। जनप्रतिनिधि भन्दैमा सबै दूधले धोएको जस्तो सबै राम्रा छैनन्। तर, राम्रा काम काम गर्नेहरु पनि छन्। देशका लागि आफ्नो व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर आएका सांसद् पनि छन्।
तर उनीहरुलाई हेर्ने दृष्टिकोण त्यसमा पनि समानुपातिकमाथिको दृष्टिकोण असल छैन। टिपेर ल्याएको भनिन्छ। हैसियत नभएको बताइन्छ। यस्ता कुराले ठेस पुग्छ। हामी पनि त संघर्ष गरेरै आएका हौं। हेर्न सकिन्छ, व्यवसाय गर्ने समुदाय भनिने थकाली जातिका नेताहरु नेपाली राजनीतिमा निकै कम छन्।
म सार्वजनिक गाडीमा धेरै हिँडेँ। कतिपय ठाउँमा हामी मुख छोपेर बस्नुपर्ने स्थिति रह्यो। कैयौं ठाउँमा सांसदको लोगो छोपेर पनि हिँडेँ। आफूलाई चिनाउन अप्ठेरो लागेर। पार्टीमा पनि प्रतिक्रिया दिन काम लाग्छ भनेर कहिलेकाहीँ लोगो छोपेरै जनताको प्रतिक्रिया सुनेको छु। कहिलेकाहीँ आनन्द लाग्छ। कहिलेकाहीँ साह्रै दिक्क लाग्छ। मुख्यतः सबैलाई एउटै डालोमा हालेर प्रतिक्रिया दिँदा त्यस्तो महसुस हुन्छ। जनतामा पनि छुट्टाछुट्टै डालोमा हालेर प्रतिक्रिया दिने खुबी विकास होस् भन्ने लाग्छ।
(किशोर दहालसँगको कुराकानीमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।