काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकता हुनुभन्दा पहिलेका समूहसँग समीकरण बनाएर खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका छन्।
'एकताका बेला गरिएको सहमति विपरीत पूर्व समूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो', ट्विटरमा पोखरेलले लेखेका छन्।
उनले विभाजनको दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खबरदारी गरौं भन्ने आग्रह गरेका छन्। 'व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं', उनको आग्रह छ।
नेकपा गठन भएदेखि नै तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एमालेका माधव नेपाल तथा झलनाथ खनाल लगायतका साथ लिएर ओलीमाथि दबाब राख्दै आएका छन्। ओली पक्षका नेताहरुले बेलाबखत प्रचण्डको सोही स्वभावको आलोचना गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।