काठमाडौं–नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरणमा कडाइ गर्दा बैंकहरु बोनस सेयरमा केन्द्रित हुन थालेका छन्। अहिलेसम्म ८ वटा बैंकहरुले घोषणा गरेको लाभांशमा बोनस सेयर धेरै रहेको छ। प्रायः नगद लाभांश दिने स्ट्याण्डर्ड चार्टर्डले समेत यस वर्ष बोनस सेयर दिने भएको छ। बैंकले सेयरधनी खुसी पार्न केही नगद लाभांश दिएर बाँकी बोनस सेयर दिएका हुन्।
कोभिड-१९ का कारण अधिकांश ऋण बिग्रिएको छ। ऋण बिग्रँदा बैंकहरुको खराब कर्जा बढ्न जाने देखिन्छ। भोलिका दिनका लागि पनि पुँजीकोष बलियो बनाउनु पर्ने भएकाले बैंकहरुले पुँजीमा बढी जोड दिएका हुन्। अर्कोतर्फ नेपाल राष्ट्र बैंकले कुनै पनि बेलामा बैंकहरुलाई मर्जरका लागि दबाब दिन सक्ने छ। त्यसैले अहिले नगद बाँड्नुभन्दा भोलिका दिनमा बैंकको भ्यालु बढाउन पनि नगदभन्दा बोनस सेयर बढी लाभप्रद हुने देखिन्छ।
बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुलाई ३० प्रतिशतभन्दा धेरै नगद लाभांश दिन नपाउने व्यवस्था गरेको छ। संकटको समयमा नगद लाभांश वितरण गर्न नदिने राष्ट्र बैंकको नीति रहेको छ। बैंकले यस्तो समयमा नगद वितरण गर्न नदिएर बैंकहरुलाई पुँजीकोष बलियो बनाउन सुझाव दिइरहेको छ। यसले गर्दा साविकका वर्षमा राम्रो लाभांश दिदै आएका बैंकहरुले पनि यस वर्ष थोरै लाभांश दिने भएका छन्।
अहिलेसम्म लाभांश वितरण गर्ने ८ वटा वाणिज्य बैंकको औसत लाभांश १४ प्रतिशत रहेको छ। जसमा बोनस सेयरको हिस्सा ११ प्रतिशत छ भने कर प्रयोजनसहित नगद लाभांश ३ प्रतिशत रहेको छ। सबैभन्दा धेरै एनआईसी एशियाले बैंकले १९ प्रतिशत बोनस सेयरसहित एक प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।
बैंकहरुले लाभांश घोषणा गरे पनि साधारणसभा गर्न सक्ने अवस्था छैन। दसैंअगाडि तय गरेको माछापुच्छे बैंकले पनि साधारण सभा स्थगन गरेको छ। चाडबाड तथा कोभिड १९ को बढ्दो संक्रमणका कारण साधारणसभा गर्न नसकिएको बैंकले जनाएको छ।
साधारणसभामा कम्तिमा पनि बहुमत सेयरधनीको सहभागिता हुनु पर्छ। कतिपय बैंकहरुले डिजिटल प्रविधिबाट साधारणसभा गर्न खोजे पनि लाखौं सेयरधनीलाई जानकारी दिनु पर्ने अवस्थाका कारण समस्या छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।