काठमाडौं- बुढानीलकण्ठ नगरपालिकाअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले नयाँ सन्देश बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ।
बुढानीलकण्ठ-५ मा संचालित उक्त सहकारीले २ हजारभन्दा बढी सदस्यको करिब २५ करोड रुपैयाँभन्दा बढी रकम बराबर हिनामिना गरेको पाइएपछि समस्याग्रस्त घोषणा गरिएको हो।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधबार एक सूचना जारी गर्दै उक्त सहकारीका ऋणीलाई २१ दिनभित्र साँवाब्याजसहितको रकम भुक्तानी गरिसक्न र बचतकर्तालाई आफ्नो बचत दायित्व रकम १ महिनाभित्र दाबी गरिसक्न भनेको छ।
संचालकले बचतकर्ताको रकम हिनामिना गरेपछि यो सहकारीमा करिब तीन वर्ष अगाडि नै समस्या देखिएको थियो। अध्यक्ष सानुसिंह ठकुरीलगायत संचालकहरु फरार हुन थालेपछि २०७५ पुष १५ गते बुढानिलकण्ठ प्रहरी इकाईमा स्थानीय जनप्रतिनिधि र सहकारीका सञ्चालकहरूबीच उक्त सहकारीको दायित्व यकिन गर्ने, लगानी तथा सम्पत्ति कहाँ कति छ भनेर खोज्ने र फेला परेको सम्पत्तिलाई बचतकर्ताको बचत रकम हेरी दामाशाही रुपमा बाँढ्ने सहमति भएको थियो। तर त्यो सहमति कार्यान्वयन भने भएन। प्रहरी प्रशासन र जनप्रतिनिधिको रोहबरमा त्यस्तो सम्झौता गर्नेमा अध्यक्ष सानुसिंह ठकुरी, उपाध्यक्ष अबिन परियार र सचिव राजकुमार ठकुरी थिए।
यो सहकारीका बचतकर्ताले आफ्नो रकम हिनामिना भएको भन्दै गतवर्ष असोजमा नै जिल्ला प्रशासन कार्यालय काठमाडौं, बुढानिलकण्ठ नगरपालिका, सहकारी विभाग, महानगरीय प्रभागलगायतका निकायमा उजुरी दर्ता गराएका थिए। सदस्यहरुको उजुरीपछि रकम हिनामिना गरी फरार रहेका उक्त सहकारीका सञ्चालक समिति अध्यक्ष सानुसिंह ठकुरीलाई महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले हिरासतमा समेत लिएको थियो।
यो सहकारीको दायित्व अहिले २५ करोड रुपैयाँ भन्दा बढी पुगिसकेको प्रारम्भिक आंकलन गरिएको छ। सहकारी आफ्नो दायित्व ९ करोड रुपैयाँ बराबर हुँदा लेखा परीक्षण गराएको थियो। त्यसपछिको वार्षिक लेखा परीक्षणसमेत भएको छैन।
धेरै रकम ठग्न आकर्षक योजना
सहकारी सञ्चालकहरूले धेरै रकम ठग्नका लागि आकर्षक योजना बनाएका थिए। उक्त सहकारीले स्थापनाको १२ वर्षमा प्रवेश गरेको अवसरमा भन्दै २०७४ माघ १ गतेदेखी समृद्धि बचत योजना ल्याएको थियो। उक्त योजनामा खाता खोल्दा न्यूनतम १ लाख रुपैयाँ सुरुमै राख्नुपर्ने नियम सहकारीले बनाएको थियो। वार्षिक २२ प्रतिशत ब्याज मासिक रुपले भुक्तानी गर्ने भन्दै ल्याइएको उक्त योजनामा सहकारीले खाताको अवधि ६ महिना राखेको थियो।
त्यस्तै दैनिक बचत ग्राहकलाई ८ दशमलव ५ प्रतिशत ब्याज दिने भनिएको थियो भने सय दिने मुद्धती निक्षेपमा आकर्षक ब्याज दिने भन्दै उक्त सहकारीले अर्को योजना पनि ल्याएको थियो।
यसरी थोरै समयमा धेरै ब्याजदर बचतकर्तालाई दिने योजना बनाएर धेरै रकम जम्मा संकलन गर्ने र त्यो रकम लिएर सञ्चालक भाग्ने नियतसहित योजनावद्ध रुपमा काम भएको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।