काठमाडाैं-वाणिज्य बैंकहरुले आक्रामक रुपमा कर्जा विस्तार गर्न थालेका छन्। असोजको तीन साताको अवधिमा बाणिज्य बैंकले ४२ अर्ब रुपैयाँको कर्जा विस्तार गरेका छन्। नेपाल बैंकर्स संघका अनुसार बैंकहरुले असोज १६ गतेसम्ममा २९ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।
जबकि यसै अवधिमा वाणिज्य बैंकले ४० अर्ब रुपैयाँले निक्षेप बढाएका छन्। बैंकहरुले असोज १६ गतेसम्म ३५ खर्ब ५९ अर्ब रुपैयाँको निक्षेप संकलन गरेका छन्। भदौ २६ गते निक्षेप संकलन ३४ खर्ब ९५ अर्ब रुपैयाँ थियो। कोभिडका कारण समग्र अर्थतन्त्र शिथिल भइरहेको सन्दर्भमा पनि वाणिज्य बैंकहरुको कर्जा विस्तारसँगै निक्षेप संकलन पनि पहिलाकै अवस्थामा देखिएको हो।
निक्षेपको प्रमुख स्रोत वैदेशिक रोजगारमा गएका नेपालीले पठाउने रेमिट्यान्स बढिरहेको छ। विश्व नै कोभिडका कारण आक्रान्त हुँदा पनि नेपाली कामदारले पठाउने रेमिट्यान्स भने बढिरहेको हो। साथै शेयर कर्जा तथा घर जग्गा कर्जामा बैंकहरुको लगानी बढेको छ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सिसिडि रेसियो ८० प्रतिशतबाट ८५ प्रतिशत पुर्याउँदा बैंकहरुसँग लगानी योग्य रकम बढिरहेको छ। पहिलाकै सिसिडी अनुपात हुँदा नै बैंकहरुसँग पर्याप्त तरलता थियो। अझ सीमा बढाइदिँदा बैंकहरु कर्जा लगानी गर्नु पर्ने दबाबमा छन्। पछिल्लो व्यवस्थाका कारण अहिलेकै अवस्थामा बैंकहरुसँग दुई खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम छ।
नेपालमा बैंकिङ तरलता खहरे खोलाजस्तो असार–साउनपछि पर्याप्त हुने र पुस–माघपछि कम हुँदैं जाने दीर्घकालीन रोग नै हो। नेपाल राष्ट्र बैंकले सिसिडि रेसियोमा दिएको सुविधाका कारण अहिले बजारमा पर्याप्त तरलता छ। यसको फाइदा उठाउँदै बैंकहरुले अहिले आक्रामक रुपमा कर्जा विस्तार गरिरहेका छन्।
खासमा नेपाल राष्ट्र बैंकले कोभिडका कारण बैंकमा निक्षेप झिक्नेको लाइन लाग्यो भने कर्जा प्रवाहमा दबाब पर्न सक्छ भन्ने आँकलन गर्दै सिसिडि रेसियो बढाइदिएको थियो। तर राष्ट्र बैंकले सोचेजस्तो बैंकमा निक्षेप झिक्नेभन्दा पनि जम्मा गर्नेको संख्या बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।