धनगढी- कञ्चनपुरमा एक महिलाले बीमा रकमका लागि प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छिन्।
गत मंसिर १३ गते बेलौरी नगरपालिका–६ मा मृत भेटिएका भूराकोटका ४९ वर्षीय सीयाराम रानाको श्रीमतीले प्रेमीसँग मिलेर हत्या गरेको खुलेको हो। प्रहरीका अनुसार राना आफ्नै घरमा मृत भेटिएका थिए।
अनुसन्धान गर्दै जाँदा रानाकी श्रीमतीले बीमाको रकमका लागि श्रीमानको हत्या गराएको खुलेको हो। प्रेमी भारतीय नागरिक रहेका छन्।
रानाको मृत्यु नभएर हत्या गरिएको आशंकापछि प्रहरीले मंसिर १४ गते उनकी श्रीमती जनककुमारी रानालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। सो क्रममा जनककुमारीले सियारामको बीमा रकम हत्याउने उद्देश्यले भारतीयसँग मिलेर योजनाबद्ध रुपमा हत्या गरेको पाइएको प्रहरीले जनाएको छ।
रानाको हत्यामा भारतीय नागरिकको संलग्नता देखिएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, लक्खिमपुर खीरी जिल्ला, सम्पूर्णानगर बस्ने अन्दाजी ३० वर्षीय फारुख रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले जानकारी दिएका छन्।
जोशीले अनुसन्धानका क्रममा भारतीय नागरिक फारुखसँग मृतककी श्रीमतीको प्रेम सम्बन्ध रहेको देखिएको बताउँदै दुवै जनाले योजना बनाएर हत्या गरेको पाइएको बताए।
पक्राउ परेका भारतीय नागरिक नेपाल-भारतमा तस्करीको सामान ओसारपसार गर्ने काम गर्दै आएको बुझिएको छ। मृतक सियाराम रानाले नेपाल लाईफ इन्स्योरेन्समा २८ लाखको जीवन बीमा गरेकाले उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरिएको देखिएको डीएसपी जोशीले बताए।
सियारामकी श्रीमतीलाई जिल्ला अदालतले ८ पुसमा पुर्पक्षका लागि कारागार चलान गरेको छ भने हालै पक्राउ परेका भारतीय नागरिकविरुद्ध कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ।
उनीहरुले रानाको हत्या गरेर शौचालयमा चिप्लिएर रानाको मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए तर मृतकको शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।