केही दिनअघि बसेको स्थायी कमिटीको बैठकबाट नेकपाको अन्तरसंघर्ष औपचारिक रुपमा मत्थर भएको छ। तर, नेताहरूमा रहेका असन्तुष्टि सम्बोधन भइसकेका छैनन्। जुन एजेन्डा र विषयलाई लिएर विवाद सिर्जना भएको थियो, ती सम्बोधन नै नभएको नेताहरू नै बताउन थालेका छन्।
नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्त पनि सहमति नभएर यसलाई 'युद्धविराम' भन्न रुचाउँछन्। सहमत भएर होइन, आरोप प्रत्यारोपबाट थाकेर सहमति भएको टिप्पणी गर्छन्। नेकपाको अन्तर संघर्ष र त्यसको नतिजाका विषयमा उनीसँग वीरेन्द्र ओली र डिबी खड्काले गरेको कुराकानीः
नेकपामा लामो समय विवाद चल्यो। अहिले एकढंगले टुंगियो। एकातर्फ अध्यक्ष केपी ओली र अर्कातिर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल हुनहुन्थ्यो। प्रचण्डलाई बिचको कुर्सीमा राख्नकै लागि यत्रो संघर्ष गर्नुभएको हो?
बाहिरबाट झ्ट्ट हेर्दा त्यस्तै देखिन्छ। तपाईंले प्रश्नमा सोध्नु भए जस्तै रायहरू मेरा थुप्रै कार्यकर्ता र अरु पत्रकारले साथीहरूले व्यक्त गरेका छन्। समस्याको समाधान भयो त? यति मात्रै हो भन्ने ढंगले प्रश्न गरेका छन्। के भन्ने गरेको छु भने एक प्रकारले युद्धविराम भयो। यो युद्धविरामलाई राम्रै गरी समाधान गर्ने गरी सचिवालयले पाइला चाल्यो भने यो समस्या समाधान भएर जान सक्छ। समस्या समाधानका लागि ढोका उघार्ने काम हुन सक्छ। पार्टीका सम्पूर्ण समस्या समाधान भए भन्ने होइन।
पार्टीमा जे–जस्ता वैचारिक समस्या थिए। जे संगठनात्मक समस्या थिए। ती समस्या यथावत छन्। त्यसलाई साँच्चिकै भन्ने हो भने गहिरिएर छलफल नै भएन। हामीले ती सबै विषयमा छलफल होस् भन्ने चाहेका थियौं। प्रमुख एजेन्डामा राम्रोसँग छलफल भएन। कोभिडलाई कसरी पराजित गर्ने पनि प्रमुख एजेन्डामध्ये थियो। त्यस बारेमा राम्रोसँग कुरै भएन। अहिलेसम्म पार्टी कामको समीक्षा गर्ने कुरा थियो। त्यसमा प्रवेश नै गर्न पाइएन।
सरकारका काम कारबाहीको समीक्षा गर्ने कुरा थियो। त्यसपनि प्रवेश गर्न पाइएन। जे–जस्ता समस्याहरू छन्, त्यसमा छलफल गर्नुपर्छ भनेर सर्वसम्मत रुपमा स्थायी कमिटीले एजेन्डा बनाएको थियो। त्यो विषयमा पनि छलफल नै भएन। भयो के भने यसपटकको स्थायी कमिटी बैठक उत्तेजनाबाट सुरु भएर दुवै पक्ष थकित भएर सकियो। प्रधानमन्त्रीज्यूले जे बोल्नुभयो, त्यो अभिव्यक्तिले सबै नेतालाई उत्तिेजित बनायो। बाह्य शक्तिलाई समेत लगाएर मेरो सरकार हटाउन थालेका छन् भन्नुभयो। त्यसले नेताहरूलाई उत्तेजित बनायो। उहाँ (प्रधानमन्त्री)को राजीनामाको प्रसङ्ग आउन सक्थ्यो होला। उहाँले जसरी भन्नुभयो त्यसरी आउने सम्भावना रहेन। आएपनि भिन्नै ढंगले आउँथ्यो। आएपछि ठण्डा दिमागले सोच्ने परिस्थिति हुन्थ्यो।
हामीले तात्तातो झगडाबाट एक अर्कालाई नसुहाउँदो आरोपप्रत्यारोप लगाउने स्थिति बन्यो। एक प्रकारले भन्ने हो भने नसुहाउँदो आरोप प्रत्यारोपबाट पछाडि हट्नुपर्ने स्थितिसम्म आइपुगियो। त्यो विषयलाई मैले भन्ने गरेको छु, ‘मेरो घर नजिकै स्वयम्भु छ, बिहान मर्निङ वाक गर्न जाँदा बाँदरहरूलाई कतिपय भिक्षुले फलफूल विस्कुट बाँड्छन्, कसैले केरा बाँड्छन्। सबै बाँदरहरूले केरा पाउँदैनन्, बाँदरहरूको समूहमा झगडा हुन्छ, कोपराकोपर हुन्छ। लखटालखट गर्दछन्। एकछिनपछि थकित भएर चुप लागेर बस्छन्।’ कतै हामी अन्तिममा करिब–करिब त्यहीँ ठाउँमा आइपुग्यौं कि जस्तो लाग्छ। कसैको हातमा तत्कालका लागि केरा पर्यो होला। तर, समस्याको समाधान भएन।
तपाईंहरूले समीक्षाका कुरा गर्नुभयो। तर, स्थायी कमिटीले नै कट अफ डेट तय गरेर यसअघिका तीतामिठा कुरा बिर्सिने कुरा गरीसक्यो? अब विगतको समीक्षाको कुनै अर्थ छ र?
पहिला–पहिला हाम्रो राजनीतिमा एउटा शब्दको प्रयोग खुबै हुन्थ्यो– सिंहावलोकन। सिंहवलोकन भनेको सिंहले दुई/चार पाइला हिँडेपछि त्यसपछि टक्क रोकिन्छ। पछाडि फर्किन्छ दायाँबायाँ फर्किन्छ, कतैबाट खतरा छ कि छैन भन्ने हेरेपछि अगाडि बढ्छ। त्यसरी हिँड्ने पछाडि फर्केर आफ्नो कामको मूल्यांकन गर्ने गरिन्छ।
कमजोरीहरू भएका छन् कि? राम्राहरू के के भए? नराम्रा के–के भए भन्ने विषयमा समीक्षा गर्ने प्रचलन कम्युनिस्ट पार्टीमा थियो, समाप्त भयो। त्यो हामीले गरेनौं। बैठकले गर्नुपर्ने त्यही हो हुन सकेन। किन ६/६ महिनामा केन्द्रीय कमिटीको बैठक राख भन्या? किन ३/३ महिनामा स्थायी कमिटी बैठक राख भन्या? किन भने काम पनि गर्दै गइन्छ। काम ठिक भयो कि भएन भनेर समीक्षा गर्दै गएपछि गल्तीबाट मुक्त होइन्छ। हामीले यो डेढ दुई वर्षमा समीक्षा नै गरेनौं।
हाम्रो एकताको प्रक्रिया अपूर्ण रह्यो। किन अपूर्ण रह्यो? कसका कारणले अपूर्ण रह्यो? कहाँ–कहाँ कमी कमजोरी रहे। त्यो कमीकमजोरी नऔंल्याएर त्यसलाई ठिक ढंगले अगाडि बढाउन सकिदैन। कमीकमजोरी उधिन्दाखेरी समीक्षा गर्न थाल्दाखेरी दुबै अध्यक्षलाई के लाग्यो भने धेरै दोष आफैंतिर आउँछ। त्यसैले त्यतातिर फर्किदै नफर्किने। स्वभाविक रुपमा राम्रो हुदा धेरै क्रेडिट उहाँहरूलाई जान्छ। कमीकमजोरी भएका छन् भने अपजस पनि धेरै उहाँहरूले नै लिने हिम्मत गर्नुपर्यो। नेता भएपछि हिम्मत गर्नुपर्यो नि!
जे जे भयो अगाडि मात्रै हेर्ने भन्ने कुराले समस्याका कसिंगरलाई कार्पेटमुनि दबाएर कोठा सफा हुन्छ? त्यो हुँदैन नि। त्यसैले हामीले समीक्षा गर्नुपर्ने थियो। हाम्रा कमिकमजोरीको समीक्षा गर्नुपर्ने थियो। हामी एकतामा जानैपर्ने थियो। त्यो कमी कमजोरीबाट मुक्त भएर यस्तो यस्तो भए कमीकमजोरी म पनि सच्याउँछु भनेर दुई अध्यक्षले भन्नुपर्ने थियो। सचिवालयका सदस्यहरूले भन्नुपर्ने थियो। हामीले भन्नुपर्ने थियो। कार्यकर्ता तहमा हार्दिकतापूर्वक स्वागत गर्ने परिस्थिति बन्ने थियो। तपाईंहरू आशंकायुक्त प्रश्न सोध्नुहुन्छ। कार्यकर्ता आशंकायूक्त प्रश्न सोध्छन्। किन सोध्छन् भन्दा हामीले विश्वासको वातावरण बनाउन सकेनौं।
मंसिर ४ कै पुर्नव्याख्या गर्ने अवस्थामा आइपुगेपछि वैशाख २० मै टुंग्याए हुन्थ्यो। तपाईंले पार्टीलाई थप पाँच महिना बन्धक नै बनाउनु भयो नि?
मैले भने नि। दुवै अध्यक्षलाई मेरो के प्रश्न थियो भने यो संघर्ष र विवादलाई यतिमै सहमति गर्नु थियो भने बिचमा यो भन्दा राम्रा प्रस्ताव आएका थिए। हामीसँग बसेर कुरा गर्दा माधव नेपाललाई पनि आएको थियो।
जस्तो राम्रो प्रस्ताव भन्नाले केलाई संकेत गर्नु भएको हो?
यो २/३ वटा प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्ने कुरा, मन्त्रिमण्डल परिवर्तन गर्ने यी धेरै कुरा यो झगडा चर्किने भन्दा अगाडि नै आएका हुन्। यस्तो कुरा आएको छ के गर्ने भन्दा प्रचण्ड कम्रेडले मुख्य कुरा प्रधानमन्त्री (सरकार) नै राम्रोसँग चलेन भन्नुभयो। प्रधानमन्त्रीले आफ्नो पद छोड्नुपर्छ भन्नुभयो। हामीलाई के लाग्यो भने पार्टी पनि राम्रोसँग चलेको छैन, सरकार पनि लोकप्रिय छैन। शिर्ष नेता नै त्यो निष्कर्षमा पुग्या हो भने ठिकै छ भन्यौं। हामीलाई प्रधानमन्त्री चाहिएको थिएन। तर, शिर्ष नेता नै त्यहाँ पुगेका छन् भन्ने भएपछि मैले टाउको दुखाइ गरिनँ। यद्यपि मेरो यस विषयमा फरक मत थियो। माधव कमरेड कहाँ राखेको थिएँ। प्रचण्ड कमरेड कहाँ राखेको थिएँ। प्रचण्ड माधव कमरेड सहित अरु नेता भएको ठाउँमा यो दुबै पदबाट हटाउने कुरा नगरौं।
प्रधानमन्त्रीबाट पनि हटाउनु कति उपयुक्त हो? हामीले प्रधानमन्त्रीलाई नै विकल्प दियौं। दुईमध्ये एक पद छान्नुस् भनेर। मेरो त्यो प्रस्ताव थियो। उहाँहरूे पार्टी पनि चलेन। सरकार पनि असाध्यै अलोकप्रिय भयो नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने ठाउँमा पुग्नुभयो। सबै साथीहरूले त्यही भन्न थालेपछि धेरै बहस गरिनँ। तर, अहिले फर्केर हेर्छु। मैले राखेको त्यो कुरा ठिक रहेछ कि? तपाईंले यति नै गर्नु थियो भने हामीले सार्वजनिक रुपमा नकोपरिकन गर्न सक्थ्यौं। हात हालाहाल पो भएन बचनले कोपरियो नि। कोपर्ने काममा दुनियाँले तमासा हेरे। न प्रधानमन्त्री केपी ओलीको इज्जत रहयो, न प्रचण्डजी र हाम्रो इज्जत रह्यो। दुबै पक्षको इज्जत रहेन। ‘हेर झगडा गरेका’ भनेर धेरैले औंला उठाउने मौका पाए।
यो अन्तरसंघर्षलाई मन्द रुपमा अगाडि बढाउन सकिन्थ्यो। यसमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको ध्यान गएन। यसमा प्रचण्डजीको पनि ध्यान गएन। एउटा तहमा जसरी लडाइँ लडियो। त्यो जहाँ पुगेर जसरी आएर टुंगियो। यसले कसैलाई सन्तुष्ट बनाएको देख्दिनँ। एक प्रकारले अस्थायी युद्ध विराम जस्तो छ। आउने महाधिवेसन द्वन्द्वको मैदान बन्ने हो कि? त्यो नभए गोप्य लेनदेनको ठाउँ बन्ने हो कि? भन्ने जुन आशंका उत्पन्न भएका छन्। यसले पार्टीलाई राम्रोसँग गति दिन सक्दैन। कुराहरू खुलस्त हुनुपर्छ। पार्टी एकतामा जानुक विकल्प छैन। हाम्रो चाहना के थियो भने यति ठूलो बलियो बहुमत सहितको सरकार बनाएका छौं। जनताले जुन जनमत दिए। त्यो जनमतको हामीले त्यो जनतालाई फिर्ता गर्नसक्नु पर्ने थियो। त्यो हामीले सकेका छैनां। हाम्रो छलफल त्यता जान सकेन। सरकारको कामको समीक्षा हुन सकेको भए हामीहरूले सरकारलाई सुझाव दिन सक्ने थियौं। सरकारले लोकप्रिय हुन के के काम गर्ने? पहिला ९ महिने सरकार हुँदा पार्टीले सरकारलाई बोकेको स्वमित्व लिएको थियो। पछि बनेका सरकारका काम पार्टीले बोकेको थियो।
पछिल्लोपटक बनेको सरकारलाई पार्टीका एउटा तप्काले स्वमित्व नलिने। आफ्नो स्वामित्व नदेख्ने त्यहाँ। सरकारमा भएका नेताहरूले पनि सरकार तपाईंहरूको भन्ने पार्टीका सवै नेता कार्यकर्तालाई महशुस गराउन नसक्ने जुन विद्यमान अवस्था छ। यसको निदान चाहिएको छ पार्टीलाई अगाडि बढ्नका लागि। जनताले खोजी रहेका छन्। देश संकटमा छ। अहिले आएर हताहारमा महाधिवेसन गर्ने भन्यौं। लकडाउन लगाएको बेला कोरोनाका बिरामी बढ्याबढ्यै थिए। अब के हुन्छ थाहा छैन। मान्छेलाई अनावश्यक ननिस्क भन्ने, काम पर्दा मात्रै निस्क भन्न थालिएको छ।
मास्क लगाएर हिँड, स्यानिटाईजर लगाएर हिँड, भिडभाड नगर भन्नुपर्थ्यो। हामीले कलेज स्कुल खोल्या छैनौं। तर पार्टीको गतिविधि गर भन्दा बाझियो नि? सरकारले एकथोक भन्ने पार्टीले अर्को थोक भन्ने। पार्टीको सदस्यता नवीकरण गर्नु परेपछि बैठक बस्नु पर्यो। मान्छे जम्मा हुनुपर्यो। त्यही भएर अन्तिम दिनको स्थायी कमिटी बैठकमा अहिले अरु सबै कुरा छोडौं। दुबै पक्ष झगडा गरेर थाकिहालियो। जे–जे सहमति गर्नु भएको छ, त्यो भयो। चित्त बुझेपनि नबुझेपनि मान्देका छौं। तर, सरकारलाई कोरोनामा ध्यान केन्द्रीत गर्न भनेका छौं।
मान्छेले खाना पाएको छैन। मान्छेले कारखाना खोल्न पाएको छैन। मान्छे टाट पल्टेर सडकमा आउने अवस्था आएको छ। मान्छे भोकभोकै मर्ने अवस्थामा छ। सडकमा भोकाहरूलाई बाड्नु पर्ने अवस्था छ। यो अवस्थामा पार्टी महाधिवेशनको तयारीमा लाग्ने कुरा जनताले स्वभाविकै रुपमा लिँदैनन्। भोकलाई कसरी खुवाउने? कसरी जनताको रोजगारीका समस्यालाई समाधान गर्ने? सरकारले त्यसमा अगुवाइ गरोस्। सरकारले पार्टीको सहयोग खोजोस् र पार्टीको ध्यान त्यतातिर लगाउँ। कोरोना सकिएको २/४ महिना महाधिवेसन गरेपनि केही बिग्रदैन। होइन, केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ। चैतमा महाधिवेशन गर्न सकिन्छ भने गरौं। प्राथमिकता के हो कोरोना नियन्त्रण हो कि पार्टी महाधिवेसन हो? होइन महाधिवेसन नगरौ भनेकै होइन। अझ उहाँ(केपी ओली)हरू त मंसिरमा महाधिवेशन गरौं भनेर आउनु भएको थियो। मैले के देखिरहेको छु भने परिपक्क निर्णयहरू भइरहेका छैनन्।
चैतमा पनि त्यसै महाधिवेसन गर्न त कठिन नै छ नि है?
बैठकमा हामीहरूले कुरा उठायौं। त्यस विषयमा झलनाथ कमरेडले उठाउनु भयो। लिलामणि कमरेड र मैले पनि उठाएँ। चैतमा सम्भव भए महाधिवेशन गरौं। महाधिवेशन नगरौ भनेपछि महाधिवेसनबाट डरायो भन्न थाल्छन्। नगरौं किन भन्नु? तर, चैतमा महाधिवेशन गर्न सम्भव छ? प्रश्न संवेदनशील रुपमा उठेको थियो। सबैको मनमा त्यो प्रश्न उठेको थियो। चैतमा महाधिवेशन गाह्रो छ। किन कि हाम्रो प्राथमिकता के हो? हामीले २ वर्षमा पार्टीका जनवर्गीय संगठनको एकता गर्न नसक्ने, विभागहरू गठन गर्न नसक्ने। अनि हामीलाई किन २/४ महिनामा महाधिवशन गर्ने हतारो? गर्न सक्दा त हुन्छ। म के भन्छु भने सरकारको र हाम्रो पार्टीको मात्रै होइन। देशका सबै क्षेत्र र समुदायका मानिसहरूको अरु राजनीतिक दलको दायित्व कोरोनालाई पराजित गर्ने हो।
पार्टीमा संघर्ष गर्नेक्रममा दुई समुहमा विभाजित हुनुभयो।
तपाईंहरू प्रचण्ड–माधव नेपाललाई बोकेर हिँड्नु भयो। अर्काे समूहले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई बोकेर हिँड्यो। पछिल्लो समय प्रचण्डले तपाईंहरूलाई छोडेर केपी ओलीसँग सम्झौता गरेको आशंका तपाईंहरूको हो?
यस बारेमा टिप्पणी गर्न चाहन्नँ। धेरैले यस्तै आशंका गरेका छन्। म आशंकाबाट प्रस्थान गर्न चाहन्नँ। अहिलेको सम्झौता संवेदनशील रुपमा कार्यन्वयन हुने हो भने पार्टीलाई एकतावद्ध बनाउन सक्ने ठाउँ छ। त्यो सम्झौबाट गर्ने हो भनेपनि ठाउँ छ। नगर्ने हो भनेपनि ठाउँ छ। त्यसलाई व्यवहारले हेर्नुपर्यो। जसरी यो विन्दुमा पुगियो। त्यो घटनाक्रम स्वभाविक लाग्दैन। तर, शंका गरेर हुँदैन। विश्वास गर्नु बाहेक विकल्प छैन। प्रचण्डजी र माधवजीबीच के कुरा भएको छ थाहा छैन। प्रचण्डजीसँग मेरो कुरा भएको छैन। म आशंका सहित विश्वास गर्न चाहन्छु। धेरैले भन्छन्– गोप्य लेनदेन भएको छ। पार्टीमा एकअर्का प्रति अविश्वास छ। यस्तो अवस्थामा आशंका स्वभाविक हुन्।
स्थायी कमिटी बैठकपछि माधव नेपालले १७ बुँदे असहमति राख्नु भएको छ। ती विषयपनि धेरै समेटिएका छैनन्। समेटिएका पनि कार्यन्वयन होला भन्नेमा आशंका गर्नुभएको छ। तपाईंले भने जस्तो युद्ध विराम रहिरहला कि फेरि अन्तसंघर्ष त्यही तहमा पुग्न सक्छ?
युद्ध विराममा २ वटा ढोका खुला हुन्छन्। एउटा शान्तिको, अर्को झगडाको। हामी शान्तिको बाटो लाग्नुपर्छ, सहमतिको बाटो लाग्नुपर्छ, विश्वासको बाटो लाग्नुपर्छ। कार्यकर्ता र जनताले खोजेको कुरा यो हो। अब हामीले के दिन्छौं? त्यो हाम्रो योग्यता, क्षमता र दुरदर्शितामा भर पर्छ। मुख्यत ः मुख्य नेताहरूको दुरदर्शीता र चाहनामा भर पर्छ। विधि पद्धतिको लडाईं किन लड्न जरुरी छ? फेरीपनि किन लडिन्छ भने पार्टी हामी नरहेपनि रहन्छ। केपी ओली, माधव नेपाल, प्रचण्ड वामदेव सधैं यो पार्टीको नेता हुने होइन। हामी पनि यहीँ पार्टीमा रहन्छौं भन्ने पनि होइन। पार्टी हामी भन्दा पछि आएको पुस्ताले चलाउँछ। उनीहरूका लागि नजिर छोडेर जानुपर्यो। पार्टी विधि पद्धतिमा चलाउन संघर्ष हुन्छ।
हिजो जसरी एमाले विधि पद्धतिमा चलेको थियो। एकिकरणपछि नेकपा किन चलेन? यसमा दुई जना अध्यक्षको मनोविज्ञान, उहाँहरूको कार्यशैली, उहाँहरूको चिन्तन जिम्मेवार छ। उहाँहरूको व्यक्तिसँग होइन। प्रर्वत्तिसँगको लडाइँ हो। पार्टीलाई विधि पद्धतीमा चलाउनु पर्छ। संगठनलाई संगठनात्मक ढाँचामा चलाउनु पर्छ। संगठनात्मक नीति अनुसार चलाउनु पर्छ। पार्टीको विधान बनाएको छ। विधान अनुसार पार्टी अध्यक्षदेखि गाउँ कमिटीसम्म चल्नु पर्छ भन्ने मान्यता गलत होइन। यो मान्यताको पक्षमा आवाज उठाइन्छ। उठाइँदै आएका छौं। यो लडाइँ प्रचण्डजीको मुख हेरेर लडेको होइन। यो पार्टीका लागि आवश्यक थियो। कहिले कसले अगुवा गर्ला कहिले कसले अगुवा गर्ला? कसैले छोड्ला। पार्टीमा यो लडाइँ जारी रहन्छ। पार्टी विधिपूर्वक चल्नुपर्छ। पार्टी नीतिपूर्वक, सिद्धान्त र विचारका आधारमा चल्नुपर्छ।
पार्टीलाई विधान बमोजिम चलाउनु पर्छ भन्ने कुरा पार्टीको जीवनलाई अगाडि बढाउनु पर्छ भन्ने पार्टी जीवनसंग जोडिएको अपरिहार्य कुरा हो। त्यसको विकल्प हुँदैन। त्यो चल्छ। मैले धेरै शंका नगरौ। प्रचण्डजीलाई पनि आशंका नगरौ। केपी ओलीलाई पनि आशंका नगरौ। दुबै पक्ष एउटा ठाउँमा आइपुगेको छ। जस्तोसुकै भएपनि गुण दोषको जिम्मा हामीले लिनुपर्छ। सर्वसम्वत रुपमा मिलेर जाउँ भनेर पार्टीले निर्णय गरेको छ। पार्टी बैठकपछि अपानी जारी भएको छ। यसको कार्यन्वयन कसरी हुन्छ? मुल कुरा त्यो हो। यसको सकारात्मक कुरा कार्यन्वयन गरियो पार्टी सकारात्मक ढंगले अगाडि जान्छ? यहाँ फेरि अलमल्याउने कुरा भयो भने विवाद फेरी सुरु हुन्छ।
कार्यकर्तालाई अलमल्याउन कहीँकतै सिद्धान्त र पद्धतिको कुरा पनि उल्लेख भयो। तर कुरा मिलेको चाहिँ नेताहरूको पद भागबण्डमा भन्ने सुनिन्छ नि?
म यहाँ दुईवटा कुरा केही प्रशंग जोड्न चाहन्छु। प्रणव मुर्खजी राष्ट्रपति थिए। नरेन्द्र मोदी प्रधानमन्त्रीमा निर्वाचित भएपछि राष्ट्रपतिलाई पहिलोपटक भेट्न जाँदा प्रणव मुखर्जीले भनेका कुरा स्मरणयोग्य छ। तपाईं बहुमत प्राप्त गरेर प्रधानमन्त्री भएर आउनुभयो। तपाईंको कार्यकाल सफल होस् मेरो शुभकामना छ। बहुमतको प्रधानमन्त्री भएपनि एउटा कुरा सम्झाउन चाहन्छु– बहुमत तपाईंसँग छ। शासन चलाउन सर्वाअनुमति खोज्नुस् है। तिमीसँग बहुमत छ, बहुमत पनि संसद र पार्टीभित्र सर्वानुमति खोज भनेका थिए। त्यो संसारका धेरै ठाउँमा लागु हुन्छ।
कतिपय अवस्थामा शासन चलाउन प्रतिपक्षसँग सहभागिता जनाउनु पर्ने हुन्छ। उसको कुरा त सुन्नैपर्छ भने आफ्नो पार्टीभित्रको कुरा सुन्नु पर्दैन? त्यो कुरा नसुनेकै कारण सरकारपनि सफल हुन सकेको छैन, पार्टीपनि सफल हुन सकेको छैन। त्यो सुन्ने भनेको लोकसेवा आयोगको मान्छेले सन्तुष्टि किन मान्छ? मैले भन्दा राम्रो लेख्नेले पास गर्यो भनेर मान्छ।
पार्टीभित्र पनि त्यतिकै दुःख गरेर सिनियर त्यत्तिकै त्याग गरेका मान्छेहरू छन्। त्यसमा पनि अवसर दिने कुरामा मापदण्ड बनाउनु भएन आधार बनाउनु भएन भने असन्तुष्टि आइहाल्छ। तपाईंले योग्यता र मापदण्ड तोक्नुस्। यस्तो गर्दा मान्छेले प्रश्न गर्दैन। जब लाखा–पाखा गुटबन्दी गर्नुहुन्छ। आफूलाई मन परेको नपरेका मान्छेलाई च्याप्न थाल्नुहुन्छ। असन्तुष्ट हुन्छ। एउटा घरमा परिवार हुन्छ। त्यो बाउका ३/४ वटा छोराछोरी छन्।दशैंमा कुनै छोरालाई राम्रो महंगो जस्तो ५/७ हजार हालेर पनि किनिदिने। कुनैलाई सात सय हजारको मात्रै छान भन्यो भने त्यो कमसल लुगा छान्ने सन्तुष्ट हुन्छ कि असन्तुष्ट हुन्छ। परिवारभित्र त्यो हुन्छ भने अनि पार्टीभित्र हुँदैन। पार्टीभित्र सकेसम्म सबैलाई समेट्ने हो। पार्टीभित्र सर्वानुभूति खोज्ने र देशभित्र सर्वानुभूति खोज्ने हो। कुनैपनि कुशल र दुरदरर्शी प्रधानमन्त्रीले गर्नुपर्ने पहिलो काम यो हो।
लोकतन्त्रमा शासन गर्ने शैली यही हो। हामीले के बुझ्नु पर्छ भने हामीसँग बहुमत छ। हामीले जे–जे मन लाग्छ त्यहीँ गर्न थाल्यौं भने राम्रो हुन्छ? हँुदैन। नेहरूले नपाएको दुई तिहाई राजीव गान्धीले पाएको हो। त्यो १९८४ मा ५ सय ४५ सिटको ४ सय १३ सिट जितेको हो। त्यो इन्दिरा गान्धी परेपछि। तर, त्यो सरकारले कार्यकाल पुरा गर्न पाएनन्। त्यसपछि एकैचोटी मोदीको पालमा बहुमत बन्यो। आज आएर भारतीय काँग्रेस कहाँ पुग्यो–पुग्यो। तपाईंले पाएको बहुमत सदाका लागि पाएको होइन नि। जनताले तपाईंले टेष्ट गर्न राम्रोगरी कार्यकाल चलाउँ भनेर दिएका हुन्। तपाईंले राम्रोसंग चलाउनु भयो अर्को कार्यकाल पनि जनताले मत दिन्छ। त्यसैले जे पाइएको छ। शासनमा जति बढी मान्छेलाई सहभागी गराउनु हुन्छ। त्यति तपाईंमाथि आक्रमण कम हुन्छ। तपाईंको आलोचना कम हुन्छ। त्यसको स्वामित्व धेरैले लिन्छ।
यसो गर्दा के हुन्छ भनेर तपाईंले ११ जनालाई सहभागी गराउनुस्, त्यो ११ जनाले जिम्मा लिनु पर्यो नि। एक्लै गर्नुभयो भने खै के निर्णय गरेको थाहा छैन भनिदिन्छन्। लोकतन्त्र भनेको सहभागिता मुलक शासन प्रणाली हो। त्यसमा सहभागिताको आधार जहिलेपनि खोज्नु पर्छ। यो पार्टी प्रणाली हो। पार्टीको घोषणा पत्र सरकारले गर्ने त्यो त होइन। तपाईंले निर्वाचनमा बनाएको नेकपाको घोषणापत्र लागु गर्ने हो।
पार्टीमा माधव नेपाल १४ वर्ष जसरी ओली पक्षकालाई पेल्नु भयो त्यो विषयलाई प्रतिशोधको रुपमा लिएको भन्ने गरिन्छ नि?
म आफैं सात महिनामात्र मन्त्री भएको हुँ। अहिले केपीजीसँग भएका साथीहरूलाई फर्केर हेर्नुस्। माधव नेपालको कार्यकालमा १७/१८ महिना मन्त्री हुनु भएको छ। पार्टीले दिएको जिम्मेवारी संसदमा पाएको अवसर सवै फर्केर हेर्नुस्। तुलना गरेर हेर्नुभयो भने सबै कुरा आउँछ। मैले कुनै अन्यथा कुरा भनेको छैन। सबै फर्केर हेर्नुस्। सबैको बायोडाटा जहाँपनि पाईन्छ। ल्याएर हेरे भयो। व्यक्तिगत गुणको कुरा गर्नुहुन्छ भने कतिपय माधवजीको ठिक छ, कतिपय केपी जीका ठिक छन्। कतिपय माधवसँग नभएका गुण केपीसँग छन्।
केपीसँग कुनै गुणै छैन भन्ने कुरा त होइन। कतिपय अवस्थामा तपाईंका धेरै राम्रा कुराहरू एक/दुई वटा नराम्रा कुराले छोपिदिन्छ। सात प्रतिशत गुणैगुणले भरिएको केपी, माधव प्रचण्ड कोही हुनुहुन्न। तर, माधवजीले १४ वर्ष अनेकौं असहजताका बावजुत किन चलाउन सक्नुभयो भने सबैलाई समेट्नु भयो। प्रत्यकपल्ट समेट्नु भएको छ। त्यो केपी जीको वरिपरि भएका साथीहरूले पाएको अवसरलाई हेरे भइहाल्यो नि? भागवण्डा महत्वपूर्ण कुरा होइन। जब पार्टीलाई राम्रोसँग चलाउन चाहनुहुन्छ भने सन्तुलित ढंगले चलाउनुस्।
त्यो भनेको पार्टीको जिम्मेवारीमा, राज्यको जिम्मेवारीमा भनेको हो। त्यो केन्द्रमा मात्रै होइन, गाउँदेखि लागु हुने कुरा हो। यसो गर्दा मात्रै पार्टी बलियो हुन्छ। पार्टीको केन्द्र भनेको रेलको इन्जिन हो। तपाईंले रेल देख्नु भएको छ नि कति लामो हुन्छ। हजारौं मान्छे रेलका डिब्बाहरूमा हुन्छन्। तर,इन्जिन ठप्प भयो भने रेलको डिब्बामा बसेका मान्छेहरू कहीँपनि पुग्दैनन्। डिब्बा घिस्रदैन। आफै कुद्दैन। पार्टीको केन्द्र भनेको इन्जिनिले गति दिएन भने पार्टी गतिहिन हुन्छ। अहिलेको हाम्रो अवस्था यो हो। सरकारले राम्रो काम गरेको भए सन्तुष्ट हुने ठाउँ हुन्थ्यो। सरकार जनतामा लोकप्रिय हुन सकेको छैन। जनता पनि असन्तुष्ट पार्टीपनि असन्तुष्ट हुने राम्रो कुरा भएन।
जनता र कार्यकर्ता सबैतिर असन्तुष्टि धेरै छ। एकताको महाधिवेसन चैतमा तोकिसकिएको छ। त्यो महाधिवेसन एकताको भन्दा अनेकताको महाधिवेशन होला भन्ने असन्तुष्टिले देखायो है?
एकताको होइन सहमतीको भनिएको छ। बरु झलनाथजीले अगाडि सारेको आउने महाधिवेसन एकता र प्रगतिको महाधिवेशन भनांै भन्नुभएको थियो। सहमतिको महाधिबेसन उल्लेख भएपछि हामीले नै प्रश्न उठायौं। सहमतीको महाधिवेसन भनेको के हो? महाधिवेसन आफैंमा सर्वोच्च हुन्छ। त्यो महाधिवेसनले स्थायी कमिटी र केन्द्रीय कमिटीले गरेको निर्णय नमान्न सक्छ। हाम्रो फेरी सहमतीको महाधिवेसन भन्ने शब्दावली होइन। हरेक महाधिवेसनमा निर्वाचन भएको छ। फेरि निर्वाचन हुन सक्छ। त्यसैले महाधिवेसन सहमति असहमति होइन। सम्भव भए सहमतिको महाधिवेशन हुन्छ। नभए विधिपूर्वक हुन्छ। त्यसैले त्यो हामीलाई चित्त बुझेको छैन।
मेरोलगायत अरु थुप्रै नेताको सहमतीका महाधिवेसन भन्नु हुदैन भनेका थियौ। महाधिवेसनमा प्राविधिक कठिनाई देख्छु। मुलुकको जुन राष्ट्रिय परिस्थिति छ। हामीलाई मात्रै होइन, कसैलाई उपयूक्त समय दिएको छैन। कांग्रेसमा पनि महाधिवेशन रोक्ने कि के गर्ने भन्ने विषयमा। उनीहरूको अवस्था हेर्दा फागुनमा महाधिवेसन गर्न सक्ने देखेको छैन। हाम्रो पार्टीको महाधिवेसन गर्न विचारमा छलफल हुनुपर्यो।
पार्टीको नीति, विचार, सिद्धान्तमा छलफल हुनुपर्यो। हाम्रा कतिपय विषयहरू महाधिवेशनमा छलफलगरी सहमती खोजिनेछ भनिएको छ। महाधिवेशनमा विचार, सिद्धान्तकै बारेमा छलफल गर्न दुई चार महिना समय लाग्न सक्छ। पार्टी सदस्यता यतिकै कागज मात्रै मिलाएर भएन। पार्टी सदस्यता एउटा विधिपूर्वक नविकरण हुनुपर्यो। सबै काम चैतसम्म टार्गेट राखेर काम गर्न राम्रै हुन्छ। सहमतीको नामा हताहतार गर्यो भने असहमतीको महाधिवेसन हुन सक्छ। साचो अर्थमा एकताको महाधिवेसन भनौ। प्रगतिको महाधिवेसन भनौ। एकताको भयो भने सहमती स्वतः आउँछ। महाधिवेसनलाई विधिपूर्वक गरौ। यसलाई कुनै छिटोछरितो ढंगले होइन। विगतमा जसरी हाम्रा महाधिवेसन भएका छन्। त्यसैगरी हुनुपर्छ। त्यसै नै विचारहरू लिएर जान पाउनु पर्छ।
पार्टीको भेला सम्मेलन नगर्ने भन्ने कसरी विचारको बहस हुन्छ? यस्तो बेला भर्चुअल छलफल गरेर सम्भव छैन। विचारको छलफल गाउँ–गाउँमा पुग्नुपर्छ। पुगेको छ ,पहिला हाम्रो पार्टीको। कार्यकर्ता फरक–फरक दस्तावेज लिएर गाउँ कमिटीदेखि लिएर केन्द्रसम्म छलफल गरेको हो नि। हाम्रो त्यो प्रक्रिया हो। त्यसैले सम्भव छ चैतमा महाधिवेसन गरौं। यति बेला सरकारको मुख्य कार्य भनेको सरकारलाई पार्टीले सहयोग गर्नुपर्ने र सरकारले पनि ध्यान लगाउनु पर्ने क्षेत्र भनेको कोरानाको रोकथाम हो।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।