काठमाडौं- नेपाल स्टक एक्सचेन्जमा सूचिकृत कम्पनीहरुको बजार पुँजीकरणले नयाँ रेकर्ड बनाएको छ। बिहीबार एकै दिन शेयर बजार ३० अंकले सुधार भएर १५७२.१९ अंकमै बजार पुँजीकरण २० खर्ब ९० करोड रुपैयाँको भएको छ। यो अहिले सम्मकै सर्वाधिक धेरै हो।
यसभन्दा अगाडि २०७६ फागुन १५ गते सर्वाधिक धेरै २० खर्ब ८३ अर्ब रुपैयाँको बजार पुँजीकरण थियो। त्यतिबेला नेप्से सूचक १६३२.१८ थियो। गत फागुन यता केही नयाँ कम्पनी सूचिकृत हुँदा ६० अंक अगाडि नै बजार पुँजीकरणले नयाँ रेकर्ड बनाएको हो। यसमा सबैभन्दा धेरै योजना नेपाल पुनर्बीमा कम्पनीको रहेको छ। कम्पनीको शेयर पुँजी १० अर्ब रुपैयाँ रहेको छ। दोस्रो बजारमा बिहीबार पुनर्बीमा कम्पनीको बजार मूल्य ८७६ रुपैयाँ छ। यससँगै अन्य कम्पनीहरुको पनि शेयर सूचिकृत भएका छन्।
नेप्से सूचक सबैभन्दा धेरै हुँदा बजार पुँजीकरण २० खर्ब ७० अर्ब रुपैयाँ थियो। नेप्से सूचक अहिलेसम्मकै सबैभन्दा धेरै १८८१.४५ हो। नेप्से सूचक ३०९ अंक भन्दा अगाडि हुँदै नेप्सेको बजार पुँजीकरणले नयाँ रेकर्ड बनाउन सफल भएको छ।
हाल दोस्रो बजारमा २०९ वटा सूचिकृत कम्पनीको चुक्ता पुँजी ५ खर्ब ८२ खर्ब रुपैयाँ रहेको छ।
नेप्से सूचक सर्वाधिक धेरै हुँदा दोस्रो बजारमा २३५ वटा कम्पनी सूचिकृत थिए। उक्त सूचिकृत कम्पनीहरुको जम्मा चुक्ता पुँजी दुई खर्ब ७ अर्ब रुपैयाँ थियो। त्यसयता कतिपय बैंक तथा वित्तीय संस्थाहरु मर्ज भएर घटेका छन् भने केही नयाँ संस्थाहरु थपिएका छन्।
चार वर्षको अवधिमा दोस्रो बजारमा सूचिकृत कम्पनीको चुक्ता पुँजी तीन खर्ब १२ अर्ब रुपैयाँले बढेको छ।
नेपाल राष्ट्र बैंक र बीमा समितिको पुँजी वृद्धि योजनाले सूचिकृत कम्पनीको चुक्तापुँजी दुई गुणा भन्दा धेरैले बढेको हो। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको चुक्ता पुँजी दुई अर्बबाट एकै पटक ८ अर्ब पुर्याउने निर्देशन दिएको थियो। त्यस्तै बीमा समितिले जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पुँजी ५० करोड रुपैयाँबाट दुई अर्ब रुपैयाँ पुर्याउने निर्देशन दिएको थियो। यस अवधिमा जीवन बीमा कम्पनी जति सबैले २ अर्ब रुपैयाँ नघाइसकेका छन् भने निर्जीवन बीमा कम्पनीले एक अर्ब नघाइसकेका छन्।
त्यस्तै कतिपय बैंक तथा वित्तीय संस्थाहर मर्जरका क्रममा विलय भए। मर्जर हकप्रद र बोनस शेयर मार्फत बैंकहरुले तोकिएको पुँजी जुटाइसेका छन्।
१० अर्ब रुपैयाँको पुँजी भएका अपर तामाकोशी नेपाल पुनर्बीमा कम्पनी तथा एसआडिसिएल कम्पनी थपिएका छन्। सर्वाधिक धेरै सूचक हुँदा मंहगो शेयर मूल्य भएका कम्पनीको बजार मूल्य भने चार गुणा तल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।