काठमाडौं–बर्दियाका १७ वर्षीया ३ किशोरीहरु लक्ष्मी र भावना –नाम परिवर्तन) लाई बर्दियाकै मधुवन नगरपालिका ४ बस्ने मायादेवी थारुले नेपालका विभिन्न ठाउँमा घुमाउने र लकडाउन खुलेपछि भारत घुम्न जाने सुनाइन्। उनले भारतमै राम्रो काम पाइने प्रलोभनसमेत देखाइन्। यो कुरा घरमा कसैलाई नभन्नु भनिन्।
झारफुकसमेत गने मायादेवीले गत जेठमा किशोरीहलाई भिनाजु भनि चिनाएका व्यक्तिको बाइकमा राखि राजापुरस्थित होटलमा पुर्याइन्।
होटलमा पुर्याएपछि ती ३ नाबालिकाहरुलाई अलग–अलग कोठामा राखियो। आपसमा भेटघाटसमेत हुन दिइएन । उनीहरुलाई जबर्जस्ती धुमपान–मद्यपान गराउने, परपुरुषहरुलाई कोठामा पठाइ जबर्जस्ती यौन कार्य गर्न लगाइयो ।
भनेको नमाने तन्त्रमन्त्रले बिगार्ने भन्दै मायादेवीले किशोरीहरुलाई धम्की दिने गरेकी थिइन् । गत असार ९ गते पीडितहरुलाई थारुले नेपालगञ्ज पु¥याइन्। उनीहरुलाई त्यहाँ मजदूरी गर्न लगाइयो। त्यो समयमा पनि मायादेवीले विभिन्न मानिसहरुसँगउनीहरुको मोलमोलाई गरिरहेकी थिइन्। आफूहरुलाई बेच्न लागेको थाहा पाएपछि पीडितहरु त्यहाँबाट भागे । र, बर्दियास्थित आफ्नो घर पुगे। माइती नेपालको सहयोगले पीडितहरुले मायादेवीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्धा हाले। हाल मायादेवीलाई प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाएको छ।
मकवानपुरको हेटौडा नगरपालिका ४ बस्ने ७ वर्षकी सोनु (नाम परिवर्तन) गत असार ४ गते मध्यान्ह १२ बजे बेपत्ता भइन्। सोही दिन साँझ ७ बजे ती बालिकालाई प्रहरीले लिएर आए ।
उनलाई ज्योति चौधरी नामकी महिलाले घुमाउन भनि अटोमा चढाई मन्दिर लगिन्। बाटोमा चक्लेटसमेत दिई बालिकालाई फकाइन्। मन्दिरबाट फर्कँदा बाटोमा अटो चालकलाई ‘वीरगंज जाने बाटो पुर्याइदिनु भारतको जितीयाबाट हामीलाई लिन आफन्तहरु आउँदैछन्’ भनिन्। उनको यो कुराले चालकलाई शंका लाग्यो। चालकले वीरगन्ज जाने बाटो भन्दै बालिकासहित ती महिलालाई जिल्ला प्रहरी कार्यालयमा पुर्याए। प्रहरीले ज्योति चौधरीविरुद्ध मानव बेचबिखन मुद्धा दर्ता गर्यो। हाल उनी पुर्पक्षका लागि थुनामा छिन्।
गत फागुनमा काभ्रेपलान्चोक पनौती बस्ने ईशा श्रेष्ठले जन्मदिन मनाइदिने भनि फर्काइफुलाई १३ वर्षीय किशोरीलाई भारत पुर्याइन्। ती बालिकालाई भारतको ओसान भन्ने ठाउँमा लगेर बेचेको थाहा भएपछि उद्धार गरी पाउँ भन्दै गत जेठ १६ गते मानवबेचबिखन अनुसन्धान ब्यूरोमा उनकी भाउजूले निवेदन दिइन् । ब्यूरोले गत जेठ २९ गते भारतीय प्रहरीको समन्वयमा बालिकालाई उद्धार गरिसकेको छ । बेचबिखनमा संलग्न दुई जनालाई समेत पक्राउ गरिसकेको छ।
विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) बाट हरेक क्षेत्र प्रभावित बनेको छ । महामारी रोक्न गरिएको लकडाउनका कारण कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, वैदेशिक रोजगारीलगायत सबै ठप्प भए । लकडाउन खुल्यो । फेरि निषेधाज्ञा जारी भयो। निषेधाज्ञा खुकुलो भएपछि पनि जनजीवन सहज हुन सकेको छैन। लामो समय जनजीवन अस्तव्यस्त हुँदा यो परिस्थितिको फाइदा मानव तस्करहरुले उठाइरहेका छन्।
पछिल्लो समय मानव तस्करहरु सक्रिय हुँदै महिला तथा स–साना बालबालिकाहरुलाई समेत निशाना बनाएका घटनाहरु बाहिरिन थालेका छन्। लकडाउन अवधिमा मात्रै मानव बेचबिखन अनुसन्धान ब्यूरोले बेचबिखन तथा ओसारपसारमा परेका बालिकासहित ४१ महिलाको उद्धार गरेको जनाएको छ। यो मानव बेचबिखन तथा ओसारपसारको भयावह रुपको पछिल्लो प्रमाण हो।
रोजगारीको प्रलोभनमा महिला तस्करी
यतिबेला कोरोना महामारीले रोजगारीका क्षेत्रमा निकै ठूलो संकट निम्तिएको छ। कतिपयको भइरहेको काम गुमेको अवस्था छ। काम खोज्दा पाइँदैन। बेरोजगारीको यही विकराल अवस्थाको लाभ उठाउँदै मानव तस्करहरुले महिलाहरुलाई निशाना बनाएका छन्।
पछिल्लो समय कुवेत, साउदी, इराक, बहराइनलगायत विभिन्न मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाउने र ओसारपसार गर्ने प्रवृत्ति बढेको छ।
भारत तथा तेस्रो मुलुकमा निकै आकर्षक रोजगारीको प्रलोभन देखाएर दलालहरुले महिलाहरुलाई बेचबिखन गर्ने प्रवृत्ति बढेको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ।
गत असार १६ गते कुवेत, इराक, साउदीमा राम्रो कामको प्रलोभन देखाएर मानव तस्करहरुले बन्धक बनाएका ६ जना महिलाहरुलाई ब्यूरोले उद्धार गरेको थियो।
उनीहरुलाई लकडाउन अवधिमा काठमाडौं, बुटवल, पोखरा, दाङ हुँदै नेपालगञ्ज सिमानाबाट भारतको राजधानी दिल्ली सहरको बुरारी जेरदा भन्ने ठाउँमा पुर्याइएको थियो। त्यहाँ एउटा घरको कोठामा शारीरिक तथा मानसिक यातना दिएर राखिएको अबस्थामा ब्यूरोले उनीहरुको उद्धार गरेको थियो। त्यस्तै असार ३१ गते भारतबाट ब्यूरोले बेचबिखनमा परेका अन्य २१ महिलाहरुलाई उद्धार गरेकोे थियो ।
जोखिम अझै बढ्ने हुँदा राज्यले ध्यान दिन आबश्यक : मानव अधिकारकर्मी
यस्ता महामारीले मानव बेचबिखनको जोखिम झनै बढ्ने हुँदा राज्यले विशेष ध्यान पुर्याउनुपर्नेमा मानव अधिकारकर्मीहरुले जोड दिएका छन्।
विपद्का बेला मानव बेचबिखनको जोखिम बढ्ने हुँदा राज्यले ध्यान दिनुपर्ने माइती नेपालका अध्यक्ष विश्वराम खड्का बताउँछन्।
‘यस्तो महामारी तथा विपद्का बेला महिलाहरु झनै जोखिममा पर्ने अवस्था छ। राज्यले बेलैमा ध्यान पु¥याएन भने अवस्था भयावह हुनसक्छ’, उनले भने।
पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर ललाईफकाई महिलाहरु बेचबिखनका लागि सीमा कटाउन दलालहरु सक्रिय रहेको मानव अधिकारकर्मी मिनो हाडा बताउँछिन्।
देशभित्रै तथा रोजगारीको खोजीमा गन्तव्य मुलुकमा पुगेका युवाहरु अझ मानव ओसारपसारमा पर्ने जोखिम बढेकाले समस्या परेकाहरुलाई राज्यले संरक्षण गर्नुपर्ने उनको भनाइ छ।
अर्की मानव अधिकारकर्मी मञ्जु रोका मानव बेचबिखन हुन नदिन सरकारले तत्काल कदम चाल्नुपर्ने बताउँछिन् ।
उनी भन्छिन्, ‘अहिले रोजगार गुमाएर समस्यामा परेका तथा आर्थिक अवस्था दयनीय भएका कारण युवाहरु बेचबिखनको सिकार हुने जोखिम छ। यो मुद्धा राज्यले तत्काल सम्बोधन गर्नुपर्छ ।’
मानव बेचबिखन तथा ओसारपसार विश्वव्यापी रुपमा फैलिएको सामाजिक अपराध हो। यौन व्यवसाय, लागूपदार्थ ओसारपसार, मानव अंग बेचबिखन, जोखिमपूर्ण घरेलु श्रम तथा मनोरञ्जनका क्षेत्रमा प्रयोग गर्न मानव बेचबिखन हुने गरेको छ।
विश्वमा वार्षिक साढे २ करोड मानिसहरु बेचबिखन तथा ओसारपसारको सिकार हुने गर्दछन्। बेचबिखन पीडितमध्ये ७१ प्रतिशत महिलाहरु छन्। ग्लोबल रिपोर्ट अन टिआईपीका अनुसार कुल बेचबिखनमध्ये ७० प्रतिशत यौन शोषणका लागि हुने गर्दछन् । जसमध्ये २० प्रतिशत बालबालिका छन् । जसमा नेपाल पनि जोखिमयुक्त मुलुक हो।
नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/०७३ देखि २०७६/०७७ सम्म ११ सय ३८ वटा मानव बेचबिखन तथा ओसारपसारविरुद्धका उजुरी परेका छन् । सयौँ पीडितहरु त प्रहरीसम्म पुग्दैनन्। नेपालमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि कानुन भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा जोखिम झन् बढ्दै गएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।