काठमाडौं-पानी छिट्याउन सुरु गरेको थियाे। दिउँसै अँध्यारो देखिने असन-इन्द्रचोकका गल्लीलाई आकाशमा ढ्याम्म ढाकिएको बादलले झनै अँध्यारो थपिदिएको थियो।
त्यही अध्याँरो परिवेशमा कुँडिएको मन बोकेर काभ्रे पनौतीका नवराज सापकोटा मुस्किलले पाइला अगाडि बढाउँदै थिए।
पानी अलि बाक्लै पर्न थाल्याे। बाङ्गेमुढा चोक पुगेपछि उनका पाइला रोकिए। एउटा घरको पेटीमा ओत लागेर उभिए।
‘भारी बोक्न पाइन्छ कि भनेर कालीमाटी हिँडेको पानी पो पर्याे’, खिस्रिक्क अनुहार लगाएर नवराजले सुनाए।
झण्डै दुई महिना भयो कहिले पानीमा निथ्रुक्क रुझ्दै त कहिले भोको पेट लिएर उनले काठमाडौंका गल्ली चहार्न थालेको।
‘कति काम खोजेँ कतै पाइनँ। कहिले त १ दिन काम पाएँ भने ३ दिन पाइदैन। बल्लबल्ल कालिमाटीमा भारी बोक्न पाएकाे छु,’ सुनाउँदै गर्दा नवराजका आँखा रसाएका थिए।
कालीमाटी तरकारी बजारमा बिहान छिट्टै पुगे भनेमात्र उनले केही भारी बोक्न भेटिहाल्छन्। नत्र भने दिनभरि भोकै बस्नुपर्छ।
भरियाहरु धेरै हुँदा कालीमाटीमा भारी बोक्न पनि हानथाप हुन्छ।
‘त्यहाँ पनि भारी मैलेमात्रै बोक्ने होइन। हानथाप हुन्छ बिहान दुई-तीन भारीसम्म मात्रै बोक्न पाउँछु’ नवराजले भने।
उनले एउटा भारी बोके बराबर ५० रुपैयाँ पाउँछन्। बिहानभरि डेढ सय कमाइ हुन्छ। दिउँसो केही काम पाइँदैन। त्यो कमाइले खाने कि हेर्ने हुन्छ। सादा एक छाक खान त मुस्किलले पुग्छ अर्को छाक टार्न पुग्दैन। कहिलेकाँही त पेट भर्नकै लागि उनी रत्नपार्क पुग्छन्।
‘साँझ ६ बजेतिर रत्नपार्कमा एक जना आमाले खाना बाँड्नुहुन्छ। म कहिलेकाँही त्यहीँ एक छाक खाएर बाँचेको छु,’ नवराज भन्छन्।
ओत लाग्नलाई कोठा छैन । उनले सडकको पेटीतिरै रात कटाउन थालेको २ महिना भयो।
‘म जहाँ सुत्यो त्यहीँ कोठा हो। कहिले पाटीतिर बस्छु। कहिले अस्पतालको बाहिर सुत्छु। ओढ्ने-ओछ्याउने केही पनि चाहिँदैन यत्तिकै हो,’ रुन्चे स्वरमा नवराज सुनाउँछन्।
कोरोना संक्रमणअघि नवराज काठमाडौंस्थित एक पार्टीप्यालेसमा स्टोरकिपरका रुपमा काम गर्थे ।
कमाई मासिक ७ हजार तलब र दैनिक १ हजार भत्ता थियो। खान बस्न र घर खर्च पठाउन पनि पुग्थ्यो। ‘मलाई साहुले पनि निकै माया गर्नुहुन्थ्यो । यस्तो सामान किनेर ल्याउ भनेर पठाएपछि ल्याउँथे। काम राम्रो थियो’, नवराजले विगत सम्झिए।
अहिले पार्टी प्यालेसका साहु पनि उपत्यकाबाहिर छन्। ४ महिनादेखि पार्टी प्यालेस बन्द भएसँगै काम पनि ठप्प छ।
लकडाउन हुनुभन्दा अगाडि त नवराज पनि गाउँ नै गएका थिए। लकडाउनको २ महिनासम्म खेतबारीको काम गरेर गाउँमै बसिरहेका थिए।
उनलाई साथीहरुले गाडी खुल्यो आइज काम पाउँछ होला भनेपछि उनी काठमाडौं आएका थिए। तर काठमााडौंमा उनले न त काम पाए न त बस्ने ठाउँ।
गाउँबाट आएपछि केही दिन त उनी साथीहरुकै कोठामा बस्न गएका थिए। गाउँबाट कोरोना लिएर आएको भन्दै घरबेटीले त्यो घरमा नआउनू भनेपछि उनी सडकमै बस्न बाध्य भए। ‘साथीहरु लकडाउनमा पनि कतै गएका थिएनन् । बाहिरबाट कोरोना लिएर आएको भनेर घरबेटीले मलाई त्यहाँ आउन नदिनू भनेपछि म सडकमै बस्छु’ उनले सुनाए ।
साथीको कोठामा घरबेटीले नआउन भनेपछि उनी सडकमा पुगे ।
आफू सडकमा पुगेपछि घर फर्कने सोच बनाए। तर साथीभाइले कोरोना लिएर गाउँ नआउ भनेपछि उनी काठमाडौंकै सडकमा बस्न बाध्य भए। ‘घर जान्छु भनेको गाउँलेले काठमाडौंमा कोरोना बढेको छ यहाँ नआइज हामीलाई सर्छ भन्छन् । गाउँमा नआइज भनेपछि म बिचल्ली परेँ’ ओठ कपाउँदै नवराजले सुनाए।
साथीहरुले नआइज मात्रै भनेको भए पनि उनी गाउँ फर्कन्थे । तर यतिबेला गाउँ फर्कँदा १४ दिन क्वारेन्टाइनमा बस्न १५ हजार तिर्नुपर्ने उनका साथीहरुले सुनाए। त्यसपछि नवराजका पाइला काठमाडौंका सडकमै रोकिए। ‘क्वारेन्टाइनमा बस्ने हो भने १५ हजार लाग्छ रे मसँग १५ हजार कहाँ छ र ?’ उनी प्रश्न गर्छन्।
गाउँ फर्किएर उतै केही गर्ने सोच बनाएका नवराजलाई गाउँलेहरुले अहिले नआउन भनेपछि जान सकेका छैनन्। ‘ओई कोरोना भनेर बोलाउँछन्। तँलाई कोरोना लागेको छ। हामीलाई छोइस् भने हामी मर्छौँ भन्छन् त्यसले गर्दा म जान नसकेको’ उनी भन्छन्।
काठमाडौं छिर्नुभन्दा अगाडि पनि यस बारेमा नवराजले धेरै पटक सोचेका थिए। त्यहीँ व्यावसायीक रुपमा पशुपालन गर्ने। तर उनीसँग एउटामात्र भैँसी थियो। अरु ल्याएर पाल्न पैसा थिएन। खेती गर्न पनि प्रशस्त जग्गा थिएन। जसले गर्दा मजदूरीकाे विकल्प थिएन। अनि उनी काठमाडौं छिर्न बाध्य भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।