काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकहरूलाई डिजिटल कारोबारका लागि प्रोत्साहित गर्न निर्देशन जारी गरे पनि बैंकहरूले मनलाग्दी शुल्क लिने गरेका छन्।
अन्तर बैंक एटिएम कार्ड प्रयोग गर्दा लाग्ने शुल्कलाई मिनाहा गरेका बैंकहरूले एटिएम कार्डको नवीकरण शुल्क भने बढाएर लिन थालेका हुन्। नयाँ आर्थिक वर्ष सुरु भएसँगै बैंकहरूले एटिएम नवीकरण शुल्क खाताबाट काटिएको म्यासेज आउन थालेको छ।
विगतका वर्षमा दुई तीन सय रुपैयाँ नवीकरण शुल्क लिने बैंकले यस वर्ष भने ५०० रुपैयाँसम्म लिने गरेका छन्। बैंकर्स संघ आफैंले लकडाउन अगाडि डिजिटल कारोबारका लागि प्रोत्साहन गर्न निःशुल्क गरेका थियो। लकडाउन खुलेसँगै संघले उक्त शुल्कलाई स्वेच्छिक बनाएको छ।
जबकी नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत डिजिटल कारोबारका लागि लाग्ने शुल्क नलिने व्यवस्था गरेको छ। नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारका लागि प्रोत्साहन गर्न पटकपटक निर्देशन जारी गरे पनि बैंकहरूले कारोबार पिच्छे नै शुल्क लिने गरेका छन्। केही बैंकहरूले विद्युतीय कारोबारलाई निःशुल्क बनाए पनि अधिकांश बैंकले कारोबार पिच्छे नै शुल्क लिन थालेका हुन्।
विद्युतीय कारोबारका लागि निश्चित मापदण्ड छैन। बैंकहरूले आफूखुसी यस्ता शुल्कको दर निर्धारण गर्छन्। कतिपय बैंकहरूले मोबाइल बैंकिङ, एसएमएस, एटिएमलगायतको शुल्क छुट्टाछुट्टै लिने गरेका छन्। बचतकर्ताले खाता खोल्दा कुन-कुन सुविधा लिने नलिने उसको स्वेच्छामा भर पर्छ। एउटा सुविधाका लागि आह्वान गरे पनि अर्को कुनै सुविधाका लागि समेत शुल्क काटिने गरेको छ।
नेपाल राष्ट्र बैंकमा यस्ता विषयमा केही गुनासा आउने गरेको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कंडेलले जानकारी दिए। कोरोना महामारीकाे समयमा पनि बैंकहरूले मौकामा चौका हान्न खोजेको देखियो भने आवश्यक कारबाही गर्ने उनले बताए।
विद्युतीय कारोबारका लागि निश्चित मापदण्ड नहुँदा बैंकहरूले मनपरी शुल्क लिने गरेका छन्। डिजिटल कारोबारका लागि बैंकहरूको पनि केही खर्च हुन्छ। बैंकहरूले दिने यस्ता सुविधाका कारण पनि सर्वसाधारण बैंकमा पैसा राख्न जान्छन्। तर, उनीहरूले आफ्नो पैसा बैंकमा राख्दा पनि विभिन्न बहानामा शुल्क तिर्नु परिरहेको छ।
यदि बैंकहरूले मनपरी शुल्क लिन थालेको गुनासो आइरहेमा नेपाल राष्ट्र बैंकले अध्ययन गर्ने कंडेलले बताए। आवश्यक परेमा डिजिटल कारोबारको लागि लाग्ने शुल्कमा समेत राष्ट्र बैंकले आवश्यक निर्देशन जारी गर्ने उनले बताए।
बैंकहरू डिजिटल कारोबारमा जाने भन्दै ढोङ पिट्ने र त्यहि डिजिटल कारोबारका बहानामा अनावस्यक शुल्क लिन थालेमा ग्राहकहरू बैंकमा पैसा राख्ने भन्दा बिचलित हुने सम्भावना धेरै हुन्छ।
नेपाल राष्ट्र बैंकले जारी गरेको विद्युतीय भुक्तानीको कारोबार विवरण बढिरहेको छ। यस्ता कारोबारले बैंकहरूले मानवीय जनशक्ति कम भए पुग्छ। अर्कोतर्फ मानवीय त्रुटि हुने सम्भावना कम हुन्छ। यसतर्फ ध्यान दिने भन्दा पनि तत्कालका लागि डिजिटल कारोबारका लागि टुटाएको लगानीसँग तुलना गरेर शुल्क लिन खोज्दा ग्राहक आकर्षित हुने भन्दा पनि बैंककै काउन्टरमा गएर कारोबार गर्ने जोखिम बढ्न सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।