काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र केपी ओलीको गुट र पार्टीबीचको अन्तरविरोध विस्फोटन हुन लागेको बताएका छन्। राजधानीको एउटा कलेजमा बुधबार विभिन्न सञ्चार माध्यमका नेकपा बिट हेर्ने पत्रकारहरुसँगको गोप्य भेलामा खनालले ओलीले मदन भण्डारी फाउन्डेसनको आधारमा गुट बनाएको बताए।
‘केपी ओलीको नेतृत्वमा मदन भण्डारी फाउन्डेसन निर्माण भएको छ। त्यो फाउन्डेसनले राष्ट्रव्यापी रुपमा, जिल्लाजिल्लामा मात्रै होइन, तलतल पालिका र वार्डवार्डसम्ममा पनि त्यसले कमिटीहरु निर्माण गरेको छ। ती कमिटीहरुले विभिन्न ढंगले पार्टीका एकथरी, एक पक्षलाई अथवा हामीहरुलाई विभिन्न ढंगले खण्डन गर्ने र आलोचना गर्ने काम गरिरहेको छ। यो नै पार्टी हो, हामीले आवश्यक पर्दा यसैलाई पार्टी घोषणा गर्छौं भन्ने ढंगले प्रचारबाजी चलाइरहेको अवस्था छ। यसरी पार्टीमा व्यापक ढंगले गुटबन्दी छ। यसका विरुद्ध हामी जुध्दैछौं,’ खनालले भने।
उनले पूर्व एमालेदेखि नै ओलीले विभिन्न ढंगले गुटबन्दी गर्दै हिँड्ने गरेको बताए। ‘एकता भएपछि त्यो गुट र अन्य सबै गुट समाप्त हुन्छन् भन्ने हाम्रो आशा थियो। तर, समाप्त भएका छैनन्। त्यसमा पनि सबैभन्दा प्रबल गुटचाहिँ केपी ओलीकै छ। केपी ओलीको गुट र पार्टीबीचको अन्तरविरोध चर्को हुँदै आएको छ। अहिले करिबकरिब विस्फोटन हुन लागेको छ’, उनले भने।
खनालले आफूहरु अहिले आन्तरिक लडाइँमा रहेको बताए। ‘हामीहरु अहिले आन्तरिक लडाइँमा छौं। आन्तरिकमा पनि कमिटीगत लडाइँमा छौं। केपी ओलीलाई रुपान्तरण गर्न सकिन्छ कि, सम्झाउन सकिन्छ कि, समझदारीमा रुपान्तरण गर्न सकिन्छ कि, यस कुरामा हाम्रा प्रयत्नहरु भइरहेका छन्’, उनले भने।
उनले ओलीले पार्टी र सरकार एकलौटी ढंगले चलाएको र त्यो अहिले चरम अवस्थामा पुगेको आरोप लगाए। ‘कुनै पनि नियुक्तिका कुराहरु पार्टी कमिटीसँग कहिल्यै सोधिएन। पार्टीसँग विचार विमर्श नगरीकन उहाँले एकलौटी ढंगले नियुक्तिका कामहरु गर्दै आउनुभएको छ। सुशील भट्टसम्म आइपुग्दा त्यही प्रक्रिया हो। यसरी उहाँले पार्टी र सरकारलाई एकलौटी ढंगले सञ्चालन गर्नुभयो। मनपरी गर्नुभयो। संवैधानिक नियुक्ति र राजदूत नियुक्तिमा पनि उहाँले त्यसै गर्नुभयो। राजदूत नियुक्तिमा उहाँले आफ्ना ‘इन्ट्रेस्ट ग्रुप’का मान्छेहरुलाई नियुक्त गर्ने काम गर्नुभयो। यसरी गुटबन्दीले चरमअवस्था लिँदै छ’, उनले भने।
सरकारले गरेका नियुक्ति, नीति तथा कार्यक्रम तथा बजेटहरुलाई सन्दर्भ बनाउँदै खनालले सरकारको काम र काम गर्ने शैलीले समाजवादमा पुग्न नसकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।