काठमाडौं-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको बैठकसम्म राख्न आवश्यक नठानी ९ वटा भ्रातृ संस्थाको म्याद थपिएकोमा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले निर्देशानुसार भन्दै भ्रातृसंस्थाको म्याद थप्ने विज्ञप्ति जारी गराउने जस्तो निर्लज्ज कार्यले पार्टीको संगठन र आन्तरिक लोकतन्त्रको धज्जी उडाइएको टिप्पणी गरेका छन्।
उनले भनेका छन्, ‘ निहित स्वार्थका लागि पटकपटक अधिवेशन स्थगित गराउदै ल्याएर सारा भातृ संस्थाहरुको अस्थिपन्जर मात्र बाँकि राख्ने , त्यसमाथि अब आएर म्याद थप्न पार्टीको बैठकसम्म राख्न आवश्यक नठानी केवल निर्देशानुसार भन्दै नौ(नौ वटा भातृसंस्थाको म्याद थप्ने बिज्ञप्ति जारी गराउनेजस्तो निर्लज्ज कार्यले पार्टीको संगठन र यसको आन्तरिक लोकतन्त्रलाई धज्जी उडाइदैछ। लोकतन्त्रका लागि आफ्नो जीवन अर्पेर हिंडेका साथीहरू ! गम्भीर हुनुहोस्!’
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले शुक्रबार साँझ विज्ञप्ति जारीगर्दै नौ वटा भ्रातृ संस्थाको म्याद अवधि सकिएको मितिले ६ महिना थप्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।