काठमाडौं–वैदेशिक रोजगारीका क्रममा करार अवधिभित्र अलपत्र परेका श्रमिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर ल्याउने तयारी थालिएको छ।
मन्त्रिपरिषदले कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र नेपाली कामदारको उद्धारसम्बन्धी निर्देशिका स्वीकृत गरेसँगै श्रम मन्त्रालयले उनीहरुलाई स्वदेश फर्काउने तयारी थालेको हो।
अब आवश्यकताअनुसार अलपत्र श्रमिकहरुको उद्धार थाल्ने मन्त्रालयका एक अधिकारीले बताए।
‘मन्त्रालयले यस अघि पनि समस्यामा परेका श्रमिकहरुलाई निः शुल्क उद्धार गरिरहेको छ’, ती अधिकारीले भने ‘निर्देशिकाअनुसार उद्धार गर्न कुनै मिति तय गरिराख्नुपर्दैन। दूतावासले सूची बनाएर पठाएपछि उद्धार भइहाल्छ।’
कस्ता श्रमिकलाई कोषको रकममार्फत् उद्धार गरिने?
निर्देशिकाको दफा ३ मा विदेशमा अलपत्र श्रमिकहरुको उद्धारसम्बन्धी मापदण्डको व्यवस्था गरिएको छ। श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर अलपत्र परेका कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत् स्वदेश फर्काइने व्यवस्था गरिएको छ।
यस्ता श्रमिकहरुलाई पनि सम्बन्धित गन्तव्य मुलुकको सरकार, रोजगारदाता, इजाजतपत्र प्राप्त संस्था वा अन्य स्रोतबाट समेत स्वदेश फिर्ताका लागि हवाई टिकट र खर्च नपाएको खण्डमा कोषको रकममार्फत उद्धार गरिनेछ ।
रोजगारीको प्रकृति, विदेशको आर्जन र अन्य स्रोत समेतका आधारमा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकलाई कोषको रकममार्फत् स्वदेश ल्याइनेछ।
त्यस्तै थुनामा परी आममाफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका श्रमिकहरुलाई पनि कोषको रकम खर्च गरी स्वदेश फर्काइने व्यवस्था गरिएको छ।
पुनः श्रम स्वीकृति लिएर गएकालाई स्वदेश फिर्ती खर्च कोषले ५० प्रतिशतमात्रै बेहोर्ने
निर्देशिकाको दफा ६ ले आफ्नै खर्चमा नेपाल फर्कन नसकी अलपत्र परेका श्रमिकलाई स्वदेश फर्काउन खर्चको मापदण्डसम्बन्धी व्यवस्था गरेको छ। त्यसअनुसार एक वर्षभन्दा कम रोजगार करार अवधिमा रोजगारी गुमाएका कामदारका लागि लाग्ने हवाई टिकटको सबै रकम कोषले बेहोर्नेछ। एक वर्ष वा सोभन्दा बढी करार अवधिभित्र रोजगारी गुमाएका कामदारका लागि लाग्ने हवाई टिकट खर्चको ७५ प्रतिशत रकम कोषले बेहोरिदिनेछ भने बाँकी स्वयंले बेहोर्नु पर्नेछ ।
पुनः श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर अलपत्र परेका श्रमिकहरुको हकमा हवाई टिकट खर्चको ५० प्रतिशत रकममात्र कोषले बेहोर्नेछ । करार अवधिभित्र थुनामा परेर आममाफी पाई स्वदेश फिर्ती केन्द्रमा रहेका श्रमिकहरुका लागि लाग्ने हवाई टिकट बापतको सबै खर्च कोषले बेहोर्नेछ ।
आन्तरिक यातायात खर्च पनि कोषले बेहोर्ने
त्यसरी उद्धार गरिएका श्रमिकहरुलाई विमानस्थलबाट सम्बन्धित क्वारेन्टाइनसम्म पु¥याउँदा लाग्ने यातायातसहित अन्य सबै खर्च समेत कोषले बेहोर्नेछ। सरकारले तोकेको स्थानीय तथा प्रदेशस्तरीय क्वारेन्टाइनको खर्च सरकारले कोरोना कोषमार्फत् बेहोर्ने व्यवस्था गरिएको छ।
३० हजार स्वदेश फर्किए
कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेका आफ्नै खर्च बेहोर्न सक्ने तथा रोजगारदाताले खर्च बेहोरिदिएका ३० हजार ९ सय ४४ नेपाली स्वदेश फर्किएका छन् । शनिबारसम्म विभिन्न २५ मुलुकमा चार्टर उडानमार्फत् ३० हजार ९ सय ४४ नेपाली स्वदेश फर्किएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।