काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन्। आइतबार विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाउन मन्त्रालय पुगेका यातायात व्ययवसायीहरुसँग कुरा गर्दै मन्त्री नेम्बाङले विष परिस्थितिका कारण बन्द हुन पुगेको अवस्थामा विभिन्न माग राखेर सवारी साधन सञ्चालन नगर्नु व्यवहारिक नभएकोले यातायात सञ्चालन गर्न आग्रह गरे।
'आन्दोलनमा जस्तै माग राख्दै पूरा गर्न दबाब दिने र सम्झौता गरेर अगाडि जाने विषय यस पटक होइन। सबै क्षेत्रका व्यवसायीहरुलाई सरकारले समान व्यवहार गर्ने भएकाले अन्य क्षेत्र खोलिसक्दा पनि व्यवसायीहरुले माग राख्दै खोल्दिनँ भन्नु उचित हुँदैन,' मन्त्री नेम्बाङले आग्रह गर्दै उल्लेख गरेका थिए। उनले व्यवसायीका सबै चाहनाहरु सरकारले पूरा गर्न सक्छ कि सक्दैन भन्ने कुरामा विचार गर्न समेत आग्रह गरेका थिए।
यातायात व्यवसायीहरुले भने सवारी साधन सञ्चालन गर्ने सम्बन्धमा आफूहरुसँग कुनै छलफल नगरी निर्णय गरेकोप्रति असन्तुष्टि जनाएका थिए। व्यवसायीहरुले यातायात सञ्चालन गर्न चालक र सहचालकले सुरक्षित नगर्दा सम्म समस्या हुने भएकाले आवश्यक स्वास्थ्य सामग्री सहित व्यवसायीहरुका समस्या सम्बोधन गर्न माग गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले सहयोग नगरे ग्यारेजबाट गाडी मर्मत गरी बाहिर निकाल्न सक्ने अवस्था नरहेको बताए। 'चालक र सहचालकले बिना सुरक्षा सवारी साधन सञ्चालन गर्दा कोरोना संक्रमण फैलन सक्ने र त्यसको अपजस व्यवसायीले लिनुपर्ने भएकाले सरकारको सहयोग बिना यातायात सञ्चालन गर्न सकिने अवस्था छैन,' अध्यक्ष कर्माचार्यले भने।
व्यवसायीहरुले पुनर्कर्जा कोषमा यातायात व्यवसायीको पहुँच हुनुपर्ने, कर्जाको पुर्नतालिकिकरण गर्नुपर्ने, बैंकको किस्ता भुक्तानीका लागि समय थप्नुपर्ने लगायतका माग राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।