काठमाडौं- गाउँमा साथीभाइ, उकाली ओराली र मेलापात। सबैतिर सुन्दर र स्वच्छ। राष्ट्रिय फुटबल टिमकी खेलाडी अनिता बस्नेतको दिनचर्या अहिले सम्पूर्ण रुपले गाउँमा छ। मनले मात्र होइन कर्मले पनि गाउँकै भएकी छिन्।
जुन गाउँले उनलाई बनायो त्यही गाउँमा यति लामो समय बस्न मिल्ने उनको अवस्था थिएन। नेपाली राष्ट्रिय टिम, सशस्त्र प्रहरीको एपिएफ र भारतमा समेत व्यवसायिक फुटबल खेलिसकेकी अनितालाई अहिले गाउँले बन्ने समय जुरिदियो। लकडाउनका कारण। त्यसैले त दुई वर्षपछि १४ दिनको बिदामा घर गएकी उनी लामो समय बस्न पाइन्।
कोरोना भाइरस (कोभिड १९) ले निम्त्याएको लकडाउन गएको चैत ११ गतेबाट सुरु भयो। अनिता भने ९ गते नै घर पुगिसकेकी थिइन्। त्यसपछि त जति नै व्यस्त तालिका भए पनि फर्कन सम्भव भएन। त्यसैले गाउँकै काममा व्यस्त भइरहिन्। यो समयमा घरमा अनिताले नगरेको काम केही रहेन।
विश्वभर कोरोनाको त्रास अझै पनि हटेको छैन। नेपालमा त झनै संक्रमणको ग्राफ उकालो लाग्दैछ। तर अनितालाई जन्मभूमि तेह्रथुमको फेदाप गाउँपालिकास्थित सम्दुका सबै कुरामा चिन्ता लिइरहने फुर्सद छैन। बिग्रँदो अवस्थाबारे जानकार छिन्, चिन्ता लागि नै हाल्छ तर पनि गाउँको बसाइले ठूलो शक्ति दिइरहन्छ।
आमाबाबासँग उकालीओराली अनि मेलापात गर्दै दिनहरू बिताइरहेकी छिन्। एपीएफमा जागिरे अनिता यसअघि घर नगएको पनि दुई वर्ष भइसकेको थियो। एपीएफमा १४ दिनको बिदा पाएकी अनितालाई त्यसअघि पनि घरको नियास्रो नभएको होइन। तर फुर्सद मिले पो। यसपटक भने घरकै औधि यादले यात्रा गरेकी थिइन्।
‘अफिसबाट १४ दिनको बिदा दिएको थियो। घर नगएको पनि दुई वर्ष भएको थियो। बिदाको दुई हप्ता काठमाडौंमा कोठामा बस्न झ्याउ लाग्यो। त्यसैले एक पटक घर जान्छु भनेर आएको हो। एक हप्तामा फर्किहाल्छु भनेर आएको थिएँ। तर लकडाउन सुरु भइहाल्यो’ अनिताले सुनाइन्।
घरमा आइपुग्दा लकडाउन सुरु भएकाले अनितालाई सुरुवाती दिनहरुमा त घर बस्न पाइने कुराले आहा! भन्ने भयो। हुन पनि काठमाडौंको बसाई त्यसमाथि लकडाउनले थिचिँदाको बोझ निकै गाह्रो हुने थियो। उनका अन्य खेलाडी साथीहरुले कष्टकर दैनिकी बिताएको अनितालाई राम्रैसँग थाहा छ। त्यसैले अनिता घरमा आइपुग्दा दंगै थिइन्।
‘घरमा आइपुगेपछि लकडाउन लाग्यो। ठीकै भयो। काठमाडौंमा हुँदै लकडाउन भएको भए समस्या हुन्थ्यो। परिवारलाई पनि तनाब हुन्थ्यो’, अनिता सुनाउँछिन्, ‘रहर हैन लकडाउन कहर हो। त्यसैले बाध्यकारी दैनिकी सबैले चलाए नै।’
०००
लामो समयपछि घर आउँदै गरेकी छोरीको बाटो हेरेर बसिरहेका थिए बाबाआमा। चैत्त ९ गते धरान बसपार्कदेखि धनकुटा हिले हुँदै उनी तेह्रथुम पुग्नु पर्ने। तर यस्तो परिस्थिति सिर्जना भएको थियो कि बसमा खुट्टा हाल्ने ठाउ समेत थिएन। बस चालक, सहचालकले ‘भोलिबाट पूरै बन्द हुन्छ। आजै जाउँ’ भन्दै यात्रु थपिरहेकै थिए।
धरानको भानु पूरै भिडामभिड थियो। यस्तै खचाखच माहोललाई छिचोल्दै अनिता साझँ घर पुगिन्। लामो समयपछि केही फेरिएको रुप लिएर आमा बाबाको अगाडि उभिँदा सबैमा खुसी छायो। माहोल उल्लासमय बन्यो।
झुम्रोको बलबाट फुटबल खेल्न थालेकी छोरीको यो उचाइले बाबुको शीर उचो बनिरहेको थियो। कर्मले लामो समय आफूबाट टाढा रहेकी छोरी घर आउँदा निकै रमाए।
अनिताको बाबालाई फुटबल निकै मन पर्छ। त्यसमाथि छोरीको खेल। विराटनगरमा गत वर्ष सम्पन्न भएको साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा भारतसँग हार्न पुग्यो। दुःखी अनिता मात्रै थिइनन्, त्यसबेला उनका बाबालाई सारै नराम्रो लागेको थियो।
फोनमा सामान्य कुरा भए पनि भेटपछि अनितालाई साफ च्याम्पियनसिपमा भएका गुनासो र सुझावहरु पोख्न उनका बाबाले भ्याइहाले। ‘तिमीले गोल गर्यौं। फाइनलमा पनि गोल गर्नु पथ्र्यो। खेल हेरी रहनु भएको थियो रे। जब मेरो खुट्टामा बल हुने वित्तिकै बाबा पूरै खुसी हुनु हुन्थ्यो रे। बाबालाई पो पुरै जोश आइरहेको रे’, बाबाका कुरा सुनाउँदै अनिताले भनिन्।
०००
विशेषगरी शहरबाट गाउँ छिरेपछि तडकभडक देखाउनेको कमि छैन। तर शहरिया रवाफले अनितालाई कहिल्यै छोएन। उनलाई त्यस्तो देखावटी नक्कल कहिल्यै लागेन। कहिल्यै आएन।
किसानकी छोरी। त्यही काम गरेर हुर्किएकी। त्यसैले उनी अहिले पनि घरमा गरिने काम सबै गर्छिन्। घाँस दाउँरादेखि कुट्टो कोदालोसम्म। अनिता भन्छिन्, ‘अहिले घाँस दाउरा गरेरै दिन बितिरहेको छ। सबै काम गर्छु।’
तर लामो समयसम्म काम नगरी फुटबल खेलेर दिन बिताएकी अनितालाई अहिले घरको काम निकै गाह्रो भयो। ‘सुरु सुरुमा त निकै गाह्रो नै भयो काम गर्नु पर्दा। पहिले त त्यही काम गरेर हुर्किएको मान्छे। तर अहिले काम नगरेको पनि लामो समय भएछ त्यही भएर हातमा ठेला नै उठ्यो। कामहरु निकै नै गर्नु पर्छ’, अनिता सुनाउँछिन्।
घरायसी कामहरु गर्दै गर्दा अनितालाई फुटबल अभ्यासको यादले सताउँछ। भन्छिन्, ‘मैले अभ्यासहरु धेरै मिस गरिरहेको छु। व्यक्तिगत रुपमा अभ्यास त भइरहेकै छ। तर टिममा र व्यक्तिगत रुपमा गरिने अभ्यासमा धेरै फरक पर्छ।’
अहिले उनीसँगै घाँस दाउरा गरेका अधिकांश पुराना साथीहरु छैनन्। कतिपय साथीहरु पढ्न बाहिर गए। कतिले बिहे गरेर अन्तै घरजम बसाए। तर जति साथीहरु भेट्छिन्। पूराना कुराहरु सुरु भइहाल्छ।
धेरै साथीहरुले बिहे गरेर घरजम बसाउँदा परिवारबाट तपाईंलाई चाहिँ बिहेको दबाब छैन? भन्ने प्रश्नमा हाँस्दै अनिता भन्छिन्, ‘बिहेको कुरा हुँदैन। म त एउटा लक्ष्य लिएर हिँडेको मान्छे। यहि लक्ष्यमा केन्द्रित छु। मेरो खुशी नै उहाँहरुको खुशी हो। त्यही भएर मैले जे गर्छु त्यसैमा सबैले साथ दिनु भएको छ।’
एपीएफकी अनिता तेह्रथुममा नै हाजिर गर्छिन्। यत्तिको सुविधा अनिताले पाएकी छिन्। त्यही भएर पनि उनलाई काठमाडौं गइहाल्नु पर्ने आपत छैन। तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिम अभ्यासको लागि कहिले बोलाउँछ भनेर बाटो भने कुरिरहेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।