काठमाडौं- दोस्रो बजार खुलाउनका लागि पुँजीबजारका सबै लगानीकर्ता संघ एक ठाउँ उभिएका छन्। शुक्रबार नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, नेपाली पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ, लगानीकर्ता दबाब समूह र सेयर लगानीकर्ता दबाब समूह एकैठाउँ पुगेका हुन्। उनीहरूको एकै स्वरमा साझा निष्कर्ष छ- नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग छलफल गरी चाँडो बजार खुलाउनपर्छ।
यसअघि पुँजीबजार अव्यवस्थित भएको, प्रविधिमैत्री नभएको लगायतका कारण देखाउँदै बजार सुधारका लागि आन्दोलनसमेत गरेका लगानीकर्ताले शुक्रबारको छलफलपछि भने पुँजीबजारमा सकारात्मक सुधार भएको भन्दै संयुक्त रूपमा हस्ताक्षर गरी विज्ञप्ति जारी गरेका छन्। ‘नेपालको पुँजीबजारलाई नीति नियम पूर्वाधार र प्रविधिले सम्पन्न गरी बजार विकास, विस्तार र सुधार गर्न लगानीकर्ता तथा अन्य सरोकारवालहरुको सुझाव नेपाल धितोपत्र बोर्डले गभीरतापूर्वक लिएको अनुभूति भएको छ।’ बोर्डसँगको बैठकपछि जारी संयुक्त विज्ञप्तीमा भनिएको छ।
छलफलपछि अब उप्रान्त जुनसुनै बहानामा बजार बन्द नगर्ने/नगराउने विषयमा पनि दुवै पक्ष सहमत भएका छन्। ‘बजार सुधारका काम कारबाही क्रमशः अगाडि बढाउँदै जानेमा सबै लगानीकर्ता संघसंस्था र समूह बीच की मतैक्यता भई नेपाल धितोपत्र बोडलाई दोस्रो बजार सञ्चालन गर्न अनुरोध गर्ने निणय गरियो,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘उप्रान्त कुनै पनि बहानामा धितोपत्रको दोस्रो बजार बन्द नगर्ने व्यवस्था मिलाउन सबै लगानीकर्ताले प्रतिबद्धता जाहेर गर्दछौं।’
अहिले प्रविधिमा व्यापक परिवर्तन आईसकेको भन्दै लगानीकर्ताहरुले अहिलेकै अवस्थामा पूँजी बजार संचालन गर्न सकिने अवस्था रहेको पनि बोर्डलाई सुझाव दिएका छन्।
'नेप्से अनलाइन कारोबार प्रणाली (नट्स)मा केही सुधार भएको छ। विद्यमान अवस्थामा युजरनेम र पासवर्ड प्राप्त गर्ने, तत्कालको लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको कनेक्ट आईपिएस सेवा वा उपयुक्त विद्युतीय माध्याम प्रयोग गर्ने, सिडिएस एण्ड क्लियरिङ लिमिटेडले तोकेका क्लियरिङ बैंकहरुको इन्टरनेट बैंकिङ सेवा तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडको मेरो शेयर सुविधा प्राप्त गरे पश्चात ग्राहकले घरमै बसी कारोबार गर्न सक्छन,’ संयुक्त विज्ञप्तीमा भनिएको छ। ‘अनलाईन मार्फत शेयर खरीद बिक्री गर्नुका साथै शेयर बिक्री पश्चात इलोक्ट्रॉनिक माध्यमबाट रकम भुक्तानी गर्ने र प्राप्त गर्न समस्या रहेको नदेखिएकोले बजार सुचारु हुन सक्ने देखिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।