काठमाडौं- पछिल्लो समय साइबर आक्रमणका घटना बढ्नुमा प्रयोगकर्ताहरुकै लापरवाहि भएको सरोकारवालाले बताएका छन्। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा शुक्रबार भएको साइबर अपराध घटेपछि नियामक निकायलाई छलफलका लागि डाकेको थियो। सूचना प्रविधिको सुरक्षाका लागि अवलम्बन गर्ने विधिमा चेतनाको कमी रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी निमित्त सचिव राधिका अर्यालले बताइन्।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै सञ्जालको दुरुपयोग भएको बैठकमा सहभागी सदस्यले बताएका थिए। साइबर आक्रमण बढ्नुमा सरकारी वेबसाइट निर्माण तथा व्यवस्थापन निर्देशिका पालना नहुँदा समस्या आइरहेको निमित्त सचिव अर्यालले बताइन्। उनले भनिन्, ‘कमजोर पासवर्डको प्रयोग र पासवर्डको व्यवस्थापनमा ध्यान नपुर्याएको देखिएको छ।’
सरकारी साइटमा हुने ह्याक तथा जुम मिटिङमा देखिएको दुरुपयोगका हुनुमा अपरेटिङ सिस्टम र सफ्टवेयरको नियमित अद्यावधिक नहुनु कारण देखाइएको छ।
साइबर अपराधका घटनासँग जोडिएर दैनिक उजुरी बढ्दै गएकोे साइबर व्युरोका प्रहरी प्रमुख एसएसपी नविन्द्र अर्यालले जानकारी दिए। सामाजिक सञ्जालसँग जोडिएर आउने उजुरीमा चरित्रहत्या, ठगी, धम्की मानव बेचबखन, तस्करी,फिरौती, वालबालिकको दुरुपयोग लगायतका रहेको एसएसपी अर्यालले जानकारी दिए। फेसबुकको साथै युट्युव र टिकटकलाई दुरुपयोग बढ्दै गएको उनले बताए। इमेल आइडीमा जिमेलका खाताहरु दुरुपयोग भएको उनले समिति सदस्यलाई जानकारी गराए।
कोरोना पछिको संकटको समयमा प्रविधिको प्रयोग बढे सँगै जुम मिटिङमा व्यवस्थापकको हेलचक्र्याँइ गर्दा दुरुपयोग बढेको सूचना प्रविधि विज्ञहरुले जनाएका थिए। सम्बन्धित व्यक्ति भन्दा बाहिरको व्यक्तिलाई जुम मिटिङका लागि पासवर्ड वितरण हुँदा अनधिकृत व्यक्तिको प्रवेश हुने गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।