काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जित्न लिभरपुललाई अब मात्र २ अंक आवश्यक छ।
बुधबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई ४–० गोलले पराजित गर्दै लिभरपुलले लिगको उपाधि जित्न २ अंक मात्र आवश्यक बनाएको हो। बिहीबार राति चेल्सी र म्यान्चेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ। यदि चेल्सीले लिगको दोस्रो स्थानमा रहेको सिटीलाई पराजित गरे लिभरपुलले लिगको उपाधि जित्नेछ।
तर चेल्सी हारेमा लिभरपुलले म्यान्चेस्टर सिटीलाई नै पराजित गर्दै उपाधि जित्ने अवसर पाउने छ। जुलाई २ तारिखमा लिभरपुलले म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ। यो खेलमा लिभरपुलले जित हात पारे उपाधि आफ्नो पोल्टामा पार्नेछ।
क्रिस्टल प्यालेसलाई पराजित गर्ने क्रममा लिभरपुलका लागि एलेक्सजेन्डर अर्नोल्ड, मोहम्मद सलाह, फाबिन्हो र साडियो मानेले गोल गरे।
खेलको २३औं मिनेटमा एलेक्सजेन्डर र ४४औं मिनेटमा सलाहले गोल गर्दै पहिलो हाफसम्म लिभरपुललाई २–० गोलको अग्रता दिलाए। खेलको ५५औं मिनेटमा फाबिन्हो र ६९औं मिनेटमा मानेले गोल गरेपछि लिभरपुलले ४–० गोलको जित निकालेको हो।
शीर्ष स्थानमा रहेको लिभरपुलको जितसँगै ३१ खेलबाट ८६ अंक भएको छ। पराजित क्रिस्टल प्यालेसको भने समान खेलबाट ४१ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।