काठमाडौं–कुवेतले आममाफी पाएका १ हजार २ सय १४ नेपाली काठमाडौं ल्याइदिएको छ। जजिरा एयरवेजका ८ वटा उडानमार्फत् कुवेतले उनीहरुलाई काठमाडौं ल्याइदिएको हो।
गत जेठ २९ गते पहिलो दुई उडानमार्फत् २९९ नेपाली स्वदेश ल्याइदिएको थियो। जेठ ३० गते १४९, असार ३, ४, ५ र ६ गते हरेक दिन १५० जना र आज असार ७ गते १६६ नेपाली ल्याइदिएको हो।
आममाफी पाएका २ हजार ९ सय ९३ जनालाई कुवेत सरकारले २ महिना अगाडिदेखि छुट्टै सेल्टरमा राख्दै आएको थियो।
कुवेत सरकारले आफैँ जहाज चार्टरमार्फत् उनीहरुलाई नेपाल ल्याइदिने जनाए पनि नेपाल सरकारले अनुमति नदिँदा उनीहरु अड्किएका थिए।
सेल्टरमा अब १ हजार ७ सय ७९ नेपाली स्वदेश फर्कने बाटो कुरिरहेका छन् ।
असार ४ गतेदेखि उनीहरुलाई दैनिकजसो चार्टर उडानमार्फत् नेपाल ल्याइएको हो। आममाफी पाएकामध्ये पनि महिला तथा बालबालिकालाई प्राथमिकतामा राखिएको छ। कुवेतबाट आरडिटी परीक्षणको नेगेटिभ रिपोर्ट लिएर फर्किएकामध्ये कतिपयलाई नेपालमा पिसीआर परीक्षण गर्दा कोरोेना देखिएको छ।
खरिपाटी क्वारेन्टाइनमा रहेका ६ महिलामा कोरोना पुष्टि भएको छ। त्यस्तै कुवेतबाट फर्किएर पाँचथरस्थित क्वारेन्टाइनमा बसेकी एक महिलामा पनि कोरोना पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।