काठमाडौं- पछिल्लो समय क्वारेन्टाइनमा बसिरहेका मानिसको संख्या घटिरहेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा १ लाख १६ हजार २१५ जना व्यक्ति क्वारेन्टाइनमा छन्।
'नेपालमा हालसम्म देखिएका ७ हजार ८४८ कोरोना संक्रमितमध्ये ९० प्रतिशत क्वारेन्टाइन रहेका व्यक्तिहरु हुन्। जसमध्ये २२ जना संक्रमितको मृत्यु भएको छ भने १ हजार १८६ जना संक्रमण मुक्त भएका छन्,' मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने। नेपालमा देखिएका ९० प्रतिशत संक्रमित भारतबाट नेपाल आई क्वारेन्टाइनमा बसेका व्यक्ति रहेको उनको भनाइ छ।
पछिल्लो समय सरकारले क्वारेन्टाइनमा बसेका १४ दिन पूरा भएका तर लक्षण नदेखिएका व्यक्तिलाई पिसिआर परीक्षण बिना डिस्चार्ज गर्ने नीति लिएसँगै क्वारेन्टाइनमा सबेका व्यक्तिको संख्या घटेको हो। जेठ २० गते मन्त्रालयले ‘नेसनल टेस्टिङ गाइडलाइन कोभिड-१९’ जारी गरी यस्तो नीति लिएको छ।
पिसिआर परीक्षणको लागि रिर्पोट आउन समय लागेमा क्वारेन्टाइनको पनि बसाई लम्बिन्छ तर आरडिटी परीक्षण गरेर मात्र घर पठाउने भएकाले अहिले क्वारेन्टाइनमा बस्ने मानिसको सख्ंया घटिरहेको हो।
संक्रमितको संख्या भने दिनप्रतिदिन बढिरहेको छ। यस्तो अवस्था मन्त्रालयले अवैज्ञानिक नीति लिएको भन्दै जनस्वास्थ्य विद्हरुले विरोध गर्दै आएका छन्।
मन्त्रालयका प्रवक्ता डा गौतमले १४ दिन पुगेका तर लक्षण नभएका व्यक्तिले अरु संक्रमण सार्ने खतरा कम रहेको बताए। उनले भने, ‘क्वारेन्टाइनमा बसेका व्यक्तिहरु जहाँ बिचमा नयाँ व्यक्ति आएका छैनन्। बसेका व्यक्तिमा लक्षण देखिएको छैन भने आरडिटी गरेर पठाउन मिल्छ।’
पूर्व स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले अहिलेको कोरोना परीक्षण दायरा पर्याप्त नभएको बताउँछन्। उनले आवश्यक व्यक्तिलाई परीक्षण नगर्ने तर अनावश्यक व्यक्तिको परीक्षण संक्रमण फैलन खतरा हुने बताए। उनले भने, ‘कोरोना नेपालमा देखिएपछि भएको लकडाउनका समयमा संक्रमण फैलन नदिन मन्त्रालयले पर्याप्त तयारी गर्नुपर्ने थियो। अहिलेको परीक्षण दायरा पर्याप्त हो कि होइन भन्ने पनि विश्लेष्ण गर्नुपर्छ।’
पूर्व जनस्वास्थ्य विद डा बाबुराम मरासिनीले सरकारले भद्रगोल क्वारेन्टाइन व्यवस्थित नगर्दा संक्रमितको संख्या बढेको बताए। उनले यस्तो अवस्थामा सरकारले क्वारेन्टाइनमा बसेका व्यक्तिको पिसिआर परीक्षण नगरी आरटिडी मात्र गरेर घर पठाउने नीति लिनु गल्ती भएको बताए।
पूर्व स्वास्थ्य सचिव उप्रेती र जनस्वास्थ्यविद् मरासिनी अहिलेको सरकारलेको अपरिपक्क र अवैज्ञानिक नीतिले समुदायमा संक्रमण अझ फैलन खतरा रहेको बताउँछन्।
सरकारले बनाएका मापदण्ड विपरीतका क्वारेन्टाइनबाटै समुदायमा संक्रमण फैलन सक्ने उनीहरुको संकेत छ। पछिल्लो समय क्वारेन्टाइनबाट आरडिटी मात्र गरी पठाइएका व्यक्तिलाई समेत पिसिआर पोजिटिभ देखिएको छ। भने केही संक्रमितले आरटिडी नेगेटिभ आएपछि घर पुग्दा स्वास्थ्यमा समस्या आउँदा ज्यान गुमाएका छन्। जसको मृत्युपछि गरिएको पिसिआर परीक्षण पोजिटिभ आएको छ। क्वारेन्टाइनमा मृत्यु भएका व्यक्ति पनि उपचारको अभावमा मृत्यु भएको खबर आइरहेको छ।
मन्त्रालयले कति क्वारेन्टाइनमा मरे, कतिको मृत्युपछि पिसिआर परीक्षण भयो भन्ने विश्लेषण गरिरहेको स्वास्थ्य प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
सरकारले हरेक क्वारेन्टाइन स्थलमा एक स्वास्थ्यकर्मी, एम्बुलेन्स २४ घण्टा तयारी अवस्था राख्ने कागजी व्यवस्था गरेको छ। तर, पछिल्लो समयमा नेपालका क्वारेन्टाइनको अवस्थाले सरकारको गैरजिम्मेवारीपन दर्शाइरहेको छ। तर, त्यहाँ चिकित्सक, एम्बुलेन्सको त कुरै छोडौँ, खाने, बस्ने व्यवस्था समेत निकै दयनीय छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रवक्ता डा विकास देवकोटा सरकारले बनाएको मापदण्ड अनुसार क्वारेन्टाइन भएनभएको अनुगमन गर्ने, नभए सोही अनुसार गर्न सुरक्षा निकाय र स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताए। ‘नियमित अनुगमन गरी मापदण्ड कायम गराउन समस्या भएमा प्रदेश, स्वास्थ्य मन्त्रालयमा खबर गर्नुपर्छ। मन्त्रालयले त्यसको लागि आवश्यक समन्वय र सहयोग गर्छ। गर्नुपर्छ,’ उनले भने।
सरकारले आफैंले बनाएको मापदण्ड अनुसारका क्वारेन्टाइन बनाउन नसक्दा क्वारेन्टाइनमा बसेका धेरै व्यक्तिमा संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ ७ गते जारी गरेको ‘क्वारेन्टाइनमा रहेका व्यक्तिका लागि स्वास्थ्यसम्बन्धी व्यवस्था’मा त्यहाँ हुनुपर्ने विषय उल्लेख गरेको छ। जसमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूले पालना गर्नुपर्ने र क्वारेन्टाइनमा हुनुपर्ने स्वास्थ्य व्यवस्थासम्बन्धी १६ बुँदे व्यवस्था उल्लेख छ।
क्वारेन्टाइनमा रहेका व्यक्तिले सम्बन्धित क्वारेन्टाइनबाट जारी गरेका आचारसंहिता अनिवार्य रुपमा पालना गर्ने र कोभिड-१९ को संक्रमणबाट जोगिनको लागि भौतिक दुरी कायम राख्ने, बेलाबेलामा साबुनपानीले धुने र मास्कको प्रयोग गर्ने व्यवस्था गरेको छ।
त्यसैगरी, क्वारेन्टाइनमा निम्न १६ स्वास्थ्य व्यवस्था हुनुपर्ने कागजी व्यवस्था सरकारले गरेको छ।
१. क्वारेन्टाइनमा हुनुपर्ने स्वास्थ्य व्यवस्थामा क्वारेन्टाइन स्थलमा प्रति सय जनासम्म लागि स्वास्थ्य सुरक्षा सामग्री सहित एक चिकित्सक(अन साइट÷अन कल), एक नर्स र एक प्यारामेडिक्स उपलब्ध हुनुपर्ने,
२. प्रत्येक क्वारेन्टाइनले स्थानीय कन्ट्याक्ट आइडेन्टिफिकेसन र कन्ट्याक्ट टे«सिङ(सिआइसिटि) टिमको समन्वयमा स्वास्थ्य व्यवस्थापन गर्ने,
३. क्वारेन्टाइनमा भएका व्यक्तिको कम्तिमा दिनको २ पटक स्वास्थ्य परीक्षण गर्ने, आवश्यक परामर्श दिने र आवश्यकता अनुरुप थप स्वास्थ्य सेवाको लागि रिफरको व्यवस्था मिलाउने, रिर्पोट गर्ने,
४. स्वास्थ्य सम्बन्धमा केही जटिलता भएमा नजिकको अस्पतालसँग समन्वय गरी उपचार व्यवस्था मिलाउने,
५. एम्बुलेन्सको सम्बन्धमा नजिकको स्वास्थ्य संस्था वा एम्बुलेन्स सेवासँग समन्वय गरी २४ घण्टा एम्ुबलेन्स सेवाको सुनिश्चिता गर्ने।
६. प्रत्येक क्वारेन्टाइनमा अनिवार्य रुपमा कम्तीमा एक केजी अक्सिजन सिलिण्डर उपलब्ध हुनुपर्ने ।
७. क्वारेन्टाइनमा रहेका बालबालिका, जेष्ठ नागरिक, गर्भवती सुत्केरी महिला तथा दिर्घरोगीहरुका लागि आवश्यक स्वास्थ्य सेवा तथा औषधिको व्यवस्था गर्ने,
८. क्वारेन्टाइन स्थलमा व्यक्तिगत सरसफाई सामग्री र प्राथमिक उपचार सामग्रीको व्यवस्था मिलाउने।
९. क्वारेन्टाइनमा कम्तिमा ३ जना सरसफाई गर्ने कर्मचारीको व्यवस्था मिलाउने, क्वारेन्टाइनमा डसबिनको व्यवस्था गर्ने तथा क्वारेन्टाइनबाट निस्किएको फोहरलाई तोकिएको मापदण्ड अनुरुप व्यवस्थापन गर्ने,
१०. कोभिड१९ को संक्रमणबाट जोगिनको लागि भौतिक दुरा कायम राख्ने, नुहाउन र हात धुनका लागि पर्याप्त सफा पानी तथा साबुनको व्यवस्था गर्ने, मास्कको वितरण गर्ने,
११. क्वारेन्टाइनमा खालि भए पश्चात २४ घण्टा सम्म प्रयोगमा नल्याउने र सफाई पश्चात मात्र प्रयोग गर्ने,
१२. क्वारेन्टाइन स्थलमा सफा खानेपानी तथा स्वस्थ खानेकुराको व्यवस्था तालिका अनुसार मिलाउने,
१३. एक खाट देखि अर्को खाटको बिच न्यूनतम दुरी कम्तिमा १ मिटरको हुनुपर्ने, आवश्यक अनुसार झुलको व्यवस्था गर्ने,
१४. भौतिक दुरी कायम राख्दै शारिरीक व्यायाम, मनोपरामर्श सम्बन्धि क्रियाकलाप सञ्चालन गर्ने,
१५. क्वारेन्टाइन स्थलमा प्रवेश गर्नुपर्ने अवस्थमा व्यक्तिगत सुरक्षा सामग्री अनिवार्य रुपमा लगाउने,
१६. क्वारेन्टाइनमा रहने व्यक्तिहरुको क्वारेन्टाइनमा राख्नु पूर्व र क्वारेन्टाइनबाट जाँदा स्वास्थ्य अवस्था जाँच गर्ने र रिर्पोट गर्ने,
दिनानुदिन कोरोना संक्रमण बढ्दो छ यसले अबको दिनमा यसले स्वास्थ्य लगायत अन्य क्षेत्रमा पार्ने प्रभावको आँकलन गर्न सकिन्छ।
क्वारेन्टाइनमा भएका व्यक्तिलाई सरकारले पहिलो प्रथिकतामा राखेर जाँचको दायरा बढाउनुपर्छ। जाँँच भएका व्यक्तिको नतिजासमेत चाँडो दिने व्यवस्था गर्नुपर्छ।
जसबाट कुनै व्यक्ति संक्रमित भयो र उसलाई समयमा आइसोलेसनमा राख्न सकियो भने अरुलाई संक्रमण सर्ने दर कम हुन सक्छ।
बुधबार मात्र सरकारले कोरोना व्यवस्थापनमा १० अर्ब रुपैयाँ खर्च भएको बताएको थियो। तर कोरोना रोक्न बनाएका क्वारेन्टाइनहरुको अवस्था हेर्न हो सरकार आफैंले बनाएको मापदण्डको एक प्रतिशत पनि पूरा गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।